५ कार्तिक २०७८, शुक्रबार

जसले आफन्त सम्झेर कालिका धामलाई उजिल्याए

Kakika Dham Panchthar

समाजमा आफन्तको निधनपछि पाटी, पौवा, चौतारा निर्माण गर्ने, वरपिपल रोप्ने प्रचलन छ । भौतिक संरचनाको निर्माण र वृक्षरोपणले आफन्तको स्मृति भइरहने, बटुवा आएर भारी बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरण हुने जनविश्वास छ । आफन्तको स्मृतिमा प्रशस्तै नमूना कामहरु भएका छन् । त्यस्तै एउटा नमूना काम पाँचथरको याङवरक गाउँपालिका–४ का अस्मिन इधिङ्गो र उहाँको परिवारले गरेको छ जसकारण यहाँ रहेको धार्मिक पर्यटकीयस्थल कालिका धामले मुहार नै फेरेको छ ।

याङवरक–४ मा स्थायी बसोबास भएका इधिङ्गो पाँच वर्ष दक्षिण कोरियामा रोजगारीमा गई गत फागुनमा नेपाल आउनुभएको थियो । बन्दाबन्दीका कारण पुनः तत्कालै कोरिया फर्कनसक्ने अवस्था थिएन । बन्दाबन्दीमा परिवारसँग झापामा रहनुभएका उहाँलाई आफ्नो पुख्र्यौली थलो याङवरक–४ थर्पू आएपछि आफन्तको स्मृतिमा यहाँ केही काम गरेर फर्कने दृढ चाहना भयो । जसरी पनि कुनै संरचना बनाइछाड्ने हुटहुटीले इधिङ्गोलाई डोहोर्यायो । यही हुटहुटी र चाहनाले याङवरक–४ मा रहेको कालिका धामको मुहार फेरिएको हो । सामान्य पूर्वाधार निर्माण हुँदै गरेको कालिका धाम अहिले निकै आकर्षक बनेको छ ।

“धार्मिक, ऐतिहासिक र पर्यटकीय यो ठाउँ लथालिङ्ग अवस्थामा देखेपछि यहाँ घेराबारा र प्रवेशद्वार निर्माण गर्ने सोच बनाएर काम थालेको थिएँ”, इधिङ्गोले भन्नुभयो, “डिजाइन बनाइसकेपछि यहाँका सरोकारवाला र अगुवाहरुसँग परामर्श गरी गाउँपालिकाको अनुमतिमा गत साउन ११ गतेबाट काम थालेको थिएँ ।” तीन महिना नपुग्दै पूर्वाधार निर्माणको सम्पूर्ण काम सम्पन्न भए । इधिङ्गो परिवारको लगानीमा कालिका धाममा दुई दशमलव पाँच मिटर उचाइ र ७५ मिटर लम्बाइको पक्की कम्पाउण्ड पर्खाल निर्माण गरी रङरोगन गरिनुका साथै सिक्रीसहितको फलामको पोष्ट बन्यो । आधुनिक र आकर्षक मोडलको प्रवेशद्वार निर्माण भयो । प्रवेशद्वारलाई इधिङ्गोले बाबु मनप्रसाद र आमा देशहाङ्माको स्मृतिस्वरूप निर्माण गर्नुभएको हो । कालिका धामको अगाडिपट्टि निकै आकर्षक परम्परागत ढुङ्गे धारा निर्माण गरी निरन्तर स्वच्छ पानी पिउने प्रबन्ध गरिएको छ । धारालाई इधिङ्गोले आफ्नी दिवङ्गत बहिनी पद्मावतीको स्मृतिमा निर्माण गर्नुभएको हो । धामभित्र र बाहिरको सुरक्षाका लागि सिसी क्यामेरासमेत जडान गरिएको छ ।

धामको भित्रपट्टि पहिचानसहित आकर्षक चित्रहरु कोरिएका छन् । भावी पुस्ताले पुराना सामग्रीको पहिचान पाउन भन्ने उद्देश्यले सांस्कृतिक तथा धार्मिक कार्यमा प्रयोग हुने सामग्रीहरु सिलामसाक्मा, जामा, पगरी, ढ्याङ्ग्रो, डमरु, शङ्ख, ढाल, तरबार, गुलेली, च्याब्रुङ, ढुङ्ना, विनायो, मुर्चुङ्गा, पञ्चेबाजा, घरायसी काममा प्रयोग हुने परम्परागत वस्तुहरु डोको, नाम्लो, पिरा, थुन्चे, खुर्पा, हँसिया, खुकुरी, हलो, जुवा, तुलो, डालो, घ्याम्पो, ढिकी, जाँतो, ओखल, घट्टा, ठेकी, हर्पे, मदानी, तोङ्बा, लालटिन, हुक्का, प्रचलनमा आधारित लिङ्गेपिङ, रोटेपिङलगायतको आकर्षक तस्वीर पर्खालमा निर्माण गरिएको छ । धाम अगाडि याङ्वरक गाउँपालिकाको लोगोको व्यवस्थित आकृति निर्माण गरिएको छ भने प्रवेशद्वार अगाडि घडा राखेर पर्यटक तथा तीर्थालुलाई आकर्षण गरिएको छ । निर्माण गरिएका सबै संरचना इधिङ्गो परिवारले धाम संरक्षण समितिलाई हस्तान्तरण गरिसकेको छ ।

जस्मिनसहित उहाँकी श्रीमती सुनिता माबो (इधिङ्गो), भाइबुहारी रविन र चन्द्रकला वनेम (इधिङ्गो) तथा मृतकका छोरीज्वाइँ जुनी इधिङ्गो र दिल जबेगूको संयुक्त प्रयासमा यी सबै संरचना निर्माण गरिएका हुन् । “यहाँ हामीले निकै ठूलो लगानी गरेका छौँ तर हामीले कुनै स्वार्थले नभई हाम्रा आफन्तको स्मृतिमा निर्माण गरिएकाले यति लगानी भनेर प्रचार गर्न चाहन्नौँ”, इधिङ्गो भन्नुहुन्छ । निर्माणकर्ताका बाबु मनप्रसाद इधिङ्गोको विसं २०६९ माघ ११ गते ५६ वर्षको उमेरमा तथा आमा देशहाङ्मा योङहाङ (इधिङ्गो)को विसं २०७३ असोज १ गते ५५ वर्षको उमेरमा निधन भएको थियो । यस्तै उहाँहरुकी चेली पद्मावतीको अल्पायुमै निधन भएको थियो ।

“यस स्थलको संरक्षणसँगै पर्यटन विकास गर्ने, सम्बद्ध सरकारी निकायको समेत ध्यानाकर्षण गराउने र भावी पुुस्तालाई केही सिकाउन, देखाउन सकियोस् भन्ने उद्देश्यले हाम्रो परिवारको लगानीमा यी संरचना बनाएका हौँ”, इधिङ्गोले भन्नुभयो, “यसमा हाम्रो कुनै स्वार्थ छैन । बरु यी संरचना निर्माणले यहाँका स्थानीयवासीको आयआर्जन वृद्धि हुनसक्छ भन्ने विश्वास लिएका छौँ ।” आफूहरुले यहाँ लगानी गरेपछि सरकारले यहाँ (कालिका धाममा) गर्नुपर्ने लगानी अर्को कुनै स्थानमा पूर्वाधार विकासमा लगाउन सकोस् भन्ने इधिङ्गो परिवारको विश्वास छ ।

प्रवेशद्वारमा इधिङ्गो परिवारका बाबुआमा र मावलीपट्टिका हजुरबुवा हस्तबहादुर योङहाङको तस्वीर राखिएको छ । “आमाले मेरो स्मृतिमा केही काम गरे मेरो तस्वीर बुबाको तस्वीरसँगै राखिदिनु भनेकाले बाजे र आमाको तस्वीरसँगै राखिदिएको छु”, इधिङ्गो भन्नुहुन्छ । धाम पुग्दै गर्दा पर्खालमा ‘आफू जलेर पनि बत्ती अरुलाई उज्याल्याउँछ’ भन्ने वाक्यांश लेखिएको छ । प्रत्येक व्यक्तिमा आफूसँग जति पीडा र समस्या भए पनि समाजका लागि केही गर्ने प्रेरणा दिन यस्तो सन्देश लेखिएको र यहाँ निर्माण भएको पूर्वाधारको सही सदुपयोग हुन सकोस् भन्ने इधिङ्गो परिवारको कामना छ ।

विकास योजना र सामाजिक योगदानको नमूना

याङवरक–४ का वडाध्यक्ष एवं धाम संरक्षण समितिका अध्यक्ष शहरनन्द योङहाङ व्यक्तिगत हिसाबले इधिङ्गोले गरेको प्रयास अनुकरणीय रहेको बताउनुहुन्छ । “छोटो समयमा यति तीव्रगतिमा विकास हुन्छ भन्ने नमूना यो ठाउँ बनेको छ”, योङहाङले भन्नुभयो, “अस्मिन आफैँ यहाँ बसेर गर्नुभएको प्रयासपछि पूर्वाधार काम कसरी अगाडि बढाउने र गुणस्तरीयरूपमा सम्पन्न गर्ने भन्ने सन्देश पनि मिलेको छ ।” सरकारी योजना भएको भए त्यति द्रूत र सहजरूपमा काम हुन नसक्ने ठान्दै वडाध्यक्ष योङहाङले विकास योजनामा इधिङ्गोको जस्तो प्रयास र लगाव सबै उपभोक्ता, प्राविधिक तथा निर्माण व्यववसायीहरुमा हुनुपर्नेमा जोड दिनुभयो । यो कामले समग्र गाउँपालिका नै खुशी भएको र आफ्नै कार्यकालमा भव्य संरचना निर्माण हुँदा आफूहरुले पनि श्रेय लिन पाएको उहाँको भनाइ छ ।

भावी दिनमा निर्माणकर्तालाई विशेष सम्मान गर्ने योजना गाउँपालिकाले बनाएको छ । बीसौँ लाख खर्चेर पूर्वाधार निर्माण गर्ने कार्य यथार्थमा सामाजिक योगदानको नमूना भएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेको भनाइ छ । अब उक्त धाममा टायल हाल्ने, याङवरक पोखरीको संरक्षण गर्ने, पार्किङलगायत अन्य पूर्वाधार बनाउने काममा गाउँपालिका लाग्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।

धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण

कालिका धामसँगै याङवरक पोखरीसमेत रहेको छ । लिम्बू भाषामा ‘याङ’ को अर्थ पैसा र ‘वरक’को अर्थ पोखरी हुन्छ । सङ्लो पानीमा सिक्का देखिने भएपछि यसको नाम याङवरक रहन गएको किंवदन्ती छ । यहाँ पूजाअर्चना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तत्कालीन लिम्बूवानको एक थुम (प्रान्त) याङवरक थियो । यही ऐतिहासिकता र धार्मिक महत्वका कारण गाउँपालिकाको नामसमेत याङवरक राखिएको हो । व्यवस्थित पूर्वाधार निर्माणपछि यस स्थानको विशिष्ट महत्व प्रकाशमा आउने स्थानीयवासीको अपेक्षा छ ।

तत्कालीन लिम्बूवानमा यस स्थानमा ५२ थरि लिम्बूले सामूहिकरूपमा नीति निर्माण गर्ने भएकाले यसलाई ५२ मौलोसमेत भन्ने गरिएको हो । नेपाल एकीकरणपछि यहाँका सुब्बाहरुले विसं १८८४ र १९१८ मा प्राप्त गरेको निशानसमेत यहाँ राख्ने र बडादशैँको महानवमीको दिन प्रदर्शन गर्ने गरिएकाले यस स्थानलाई निशान धाम पनि भनिन्छ । इधिङ्गो परिवारको लगानीमा यहाँ नयाँ संरचना निर्माणपछि पर्यटकको सङ्ख्यामा करिब ४० प्रतिशतले वृद्धि भएको वडाध्यक्ष योङहाङको भनाइ छ ।

    सम्बन्धित समाचार...