१८ श्रावण २०७८, सोमबार

सङ्घर्षले मालिक बनेकी चेली दीपा गुरुङ, ३५ महिला र दुई पुरुषलाई रोजगारी दिदै

deepa gurung

रोजगारी नपाएर विदेशिनेको सङ्ख्या बढिरहेको छ । स्वदेशमा श्रम गर्न नचाहने तर विदेशमा नङ्ग्रा खियाउन तयार पर्ने युवा जमात बढ्दो छ । यतिमात्र कहाँ हो र, स्वदेशमै पनि भए सरकारी नभए पनि अब्बल किसिमका अन्य जागिरमा होमिन खोज्नेको सङ्ख्या पनि कम छैन । यसैले धेरैले भन्छन्, “नेपालमा रोजगारीको वातावरण नै छैन ।” धेरैलाई यस्तै लाग्छ ।

यसको मतलब रोजगार हुन चाहने भीड ठूलो छ तर केही मात्र रोजगार छन् । यही माटोमा आफैँले मालिक बनेर रोजगारी दिन सकिन्छ भन्ने उदाहरणीय पात्र कम्ती छन् । धेरै जोखिम र प्रशस्त लगानी खन्याउनुपर्ने बुझेका युवा जमातले यसको साटो वैदेशिक रोजगारीलाई उत्तम विकल्प ठान्छन् । प्रशस्त कमिने लोभमा लहलहैमा विदेशिनेमध्ये कोही सासमात्र लिएर फर्किन्छ त कोही त लास बनेर फर्किन्छन् ।

स्वेदशमै लगानी गरेर रोजगारी दिँदै गरेकी दीपा गुरुङ भने यस्तो एक उदाहरण हुनुहुन्छ जो आफैँले खोलेको उद्योगमा ३५ महिला र दुई पुरुषलाई रोजगारी दिइरहनुभएको छ । इलाम सदरमुकाममै ललिपप उद्योग सञ्चालन गरिरहनुभएकी दीपाले उद्योगकै कमाइले छोराछोरी पढाउने काम गर्दै हुनुहुन्छ भने जग्गा किनेर घर पनि बनाउनुभएको छ ।

दीपाको यो कमाइ भने केही समयको सङ्घर्षले मात्र भएको होइन । यतिको कमाउनका लागि दीपाले अनेक प्रयत्न गर्नुभयो । विसं २०६० मा पाँच लाख ऋणबाट उहाँले उद्योग शुरु गर्नुभएको हो । अरूले जस्तै उद्योग खोल्नुपूर्व दीपाले पनि अनेक सोच्नु भयो । अर्थोपार्जनकै लागि सहकारीको रकम उठाउनेदेखि अनेक दुःखका काम गर्नुभयो तर पटक्कै चित्त बुझेन । यस्तो कमाइबाट खानलाउन नै धौधौ भयो । छोराछोरी पनि पढाउनुपर्ने अनि घर पनि सम्हाल्नुपर्ने बाध्यता आइलाग्यो ।

रोजगारीका लागि उहाँको श्रीमान् विदेश जानुभयो तर पनि घर व्यवहार सुध्रिएन । व्यवहार सुधार्नकै लागि दीपाले सदरमुकामकै एक ललिपप उद्योगमा काम गर्न थाल्नुभयो । उद्योगमा काम गर्न थालेपछि कमाइ हुन थाल्यो भने नयाँ सीप सिक्न पाइयो । यत्तिकैमा दीपालाई उद्योग खोल्न मन लाग्यो । पारिवारिक सल्लाहबमोजिम नै उहाँले ललिपप उद्योग सञ्चालनमा ल्याउनुभयो । सीमित बजारमा बजारीकरण गर्दा कति ललिपप उत्पादन गर्नुपर्ने पत्तो थिएन । दीपाले सामान्य परिकार बनाउँदै ललिपप बजार पुर्याउन थाल्नुभयो ।

शुरुमा आफूसहित सात जनाले उद्योग सञ्चालनमा ल्याउनुभयो । त्यसबेला उद्योग खोल्दा उहाँसँग न भवन थिए, न भाडाकँुडा, न स्रोतसाधन नै । दूधबाट बनाउनुपर्ने परिकार भएकाले खटाइ पनि उस्तै किसिमको पर्थ्यो । अनेक दुःख र अभावबाट गुज्रिँदै दीपाले उद्योग सञ्चालनमा ल्याउँदै जानुभयो ।

इलामबाट बाहिरिनेको मुख्य कोसेलीका रूपमा हारालुछ बिक्ने ललिपपले झनै बजार लिँदै गयो । दीपाले पनि उद्योगमा कर्मचारी बढाउँदै जानुभयो भने जेथा पनि थप्दै जानुभयो । बजारीकरणमा समेत राम्रै उपलब्धि हासिल भएपछि ललिपपले पनि राम्रै बजार पायो । अहिले यही उद्योगको सामान काठमाडौँसम्म पुग्छ । शुरुमा इलामको आसपासमात्र बजार फिजिएको उद्योगको धेरैतिर बजार पुगेको छ । “अहिले उद्योगको प्रगतिले सन्तुष्ट छु”, दीपा भन्नुहुन्छ । अहिले दीपाका श्रीमान समेत फर्किएर उद्योगमै काम गर्नुहुन्छ । उहाँले बजारीकरणमा सहयोग गर्दै हुनुहुन्छ ।

श्रीमान समेत जोडिएपछि त दीपाका लागि झनै सहज भएको छ । यसै डेरीको कमाइले दीपाले छोरीलाई स्टाफ नर्स बनाउनुभयो भने छोरालाई कक्षा १२ मा पढाउँदै हुनुहुन्छ । “जोखिम चाहिँ धेरै मोल्नुपर्छ । सहज त कहाँ छ र ?”, दीपा भन्नुहुन्छ, “एकदिन घाटा भयो भनेर आत्तिनु पनि हुँदैन । विस्तारै गर्दै जाँदा हुँदो रहेछ ।” स्थानीय वस्तुलाई नै बजारीकरण गर्नुपर्छ भन्ने बुझेकाले ललिपप उद्योग खोलेको दीपाको भनाइ छ ।

अहिले दीपाको उद्योगमा छ प्रकारका ललिपप बन्छ । बजारको मागअनुसार अन्य किसिमका ललिपप पनि बन्छन् ।महिलाको मर्म बुझ्ने महिला मालिक दीपाको उद्योगमा काम गर्ने अधिकांश श्रमिक वैदेशिक रोजगारबाट फर्किएका र एकल महिला छन् । समस्यामा परेका महिलालाई रोजगारी दिँदा पारिश्रमिक पनि मिल्ने र सीप पनि सिक्ने गरेको दीपाको भनाइ छ । आफ्ना दुःखका दिन सम्झेर महिलालाई नै प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

“विदेशबाट फर्किएर पुनः विदेशिने सोच बनाउनुभएको र एकल महिला भएर काम दाम नभएका धेरैले यहाँ रोजगारी पाउनुभएको छ”, दीपा भन्नुहुन्छ, “अरूले त जे गरेर खान्छन् । दुःखमा परेकालाई सहयोग गर्नु हाम्रो कर्तव्य हो नि ।” व्यक्तिगत लगानीमा अन्य क्षेत्रको सहयोग भए अझै उल्लेखनीय प्रगति हुने दीपाको भनाइ छ । सरकारी क्षेत्रबाट सहयोग नभएकामा भने दीपा निराश हुनुहुन्छ । “हामीले राज्यलाई कर बुझाउँछाँै । हामीलाई पनि हेर्नुपर्यो नि”, दीपा भन्नुहुन्छ, “एकतिर मात्र होइन धेरैतिर कर तिर्नुपर्छ तर सेवासुविधा छैन ।”

अहिले उहाँको उद्योगको कमाइबाट मासिक सददर रु ६० हजार आम्दानी हुन्छ । धैर्यका साथ काम गरेकाले सफल भएको दीपाको भनाइ छ । “धैर्य भएर काम गर्नुपर्छ । नाफा÷घाटामा डराउनु हुँदैन । अनि मात्र सफल भइदो रहेछ”, दीपा भन्नुहुन्छ, “जाँगर चलाएर काम गर्नुपर्छ । नभए त लगानी डुब्ने खतरा हुन्छ ।”

कोरोनाले खस्किएको बजार कोरोना महामारीपछि भने ललिपप उद्योग खस्किएको दीपाको भनाइ छ । पहिले जस्तो बजार नभएकाले धेरैलाई रोजगारीसमेत दिन नसकेको उहाँको दुखेसो छ । उद्योगमा कार्यरत ३५ कामदारमध्ये केहीलाई काम दिनै नसकेको दीपा बताउनुहुन्छ ।

बन्दाबन्दीमा ठप्प भएको उद्योग र त्यसपछि पनि बजारमा नबिकेकाले उद्योग नै धरासायी भएको छ । “कोरोनाअघि प्रतिदिन एक हजार २०० लिटरसम्म दूध खपत हुन्थ्यो तर अहिले त्यस्तै ६०० लिटर जति मात्र छ”, दीपा भन्नुहुन्छ, “बजारबाट माग नै आउँदैन । के गर्ने ?”