८ बैशाख २०८१, शनिबार

संविधानको संरक्षणमा जुट्न अध्यक्ष दाहालको आग्रह

prachanda pushpalaal smriti

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गणतन्त्र, सङ्घीयता र समावेशिताको भावनाविरुद्ध भएको बताउनुभएको छ । पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको र उक्त बहसका कारण संसद् भङ्ग गरिनु अस्वाभाविक भएको बताउनुभयो ।

उहाँले राम्रो र नराम्रो विचारको जहिल्यै बहस हुने गरेको र अहिले पार्टीभित्रको विवादका विषयले जनताको सार्वभौमसत्तामाथि नै आक्रमण गर्नेविरुद्ध उत्रिनुपर्ने बेला आएको बताउनुभयो । उहाँले वर्तमान संविधान आफैँमा पूर्ण नभए पनि अधिकतम रुपले आदिवासी जनजाति तथा पछाडि परेका वर्ग समुदायको अधिकारलाई अधिकांशरुपमा संस्थागत गरेकाले संविधानको संरक्षणमा जुट्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दा सबै जाति वर्ग समुदायको भूमिका महत्वपूर्ण रहेकाले सबैले समानरुपमा अवसर प्राप्त गर्ने हक रहेको बताउनुभयो । अहिले गणतन्त्र सङ्कटमा परेको टिप्पणी गर्दै उहाँले गणतन्त्रको रक्षाका लागि सबै एक हुनुको विकल्प नरहेको पनि बताउनुभयो । “पहिले सबै शक्ति र सार्वभौम अधिकार राजकीय संस्थामा निहित थियो, तर पहिलो पटक यो संविधानले सबैलाई समान अधिकार प्रदान गरेको छ, यसलाई सबै मिलेर जोगाउनुपर्छ”, उहाँले भन्नुभयो ।

सबै जाति समुदाय र वर्गको पहिलो पटक संविधानले अधिकार संस्थागत गरेकाले संविधानको संरक्षण गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । संविधानले नै निरन्तर परिमार्जन गर्ने व्यवस्था गरेकाले छुटेका थप अधिकार सम्बोधन गर्दै जान सकिने अध्यक्ष दाहालको विश्वास थियो । “आफ्नै पार्टीको नेताले संविधान मिच्ने, त्यसको मूलमर्ममाथि प्रहार गरे, यो दुर्भाग्यको कुरा हो”, उहाँले भन्नुभयो, “अब जनताको अदालतमा गएर संवैधानिक निकायलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आएको छ ।” संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहित भए पनि गलत शैलीमा संसद् विघटन गरिएको उहाँले आरोप लगाउनुभयो ।