१६ चैत्र २०८०, शुक्रबार

टोखाको न्यायिक समितिमा २७ उजूरी

tokha municipality

टोखा नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७७-०७८ को छ महिनामा २७ उजूरी दर्ता भएका छन् ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजूरी बाटोको विवाद, जग्गाको सीमाना मिचिएको लगायतका उजूरी दर्ता भएका हुन् । न्यायिक समितिका संयोजक एवम् नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद, महिला हिंसासम्बन्धी उजूरी न्यायिक समितिमा पर्ने गरेको जानकारी दिनुभयो ।

सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरीपाउँ भन्ने लगायतका उजूरीसमेत पर्ने गरेका छन् । टोखामा आर्थिक वर्ष २०७४-०७५ मा ३१, आव २०७५-०७६ मा ३६, आव २०७६-०७७ मा ३९ उजूरी परेका थिए ।

आव २०७६-०७७ मा दर्ता भएका ३९ उजूरीमध्ये छ वटा निर्णय गरिएको, आठ मुल्तबीमा रहेको, एक काठमाडौँ जिल्ला अदालतमा पठाएको, नौ मिलापत्र गरिएको र बाँकी १३ वटा कारबाहीको प्रक्रियामा रहेको संयोजक डङ्गोलले बताउनुभयो ।

टोखाको न्यायिक समितिमा उपप्रमुख डङ्गोलको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ, दुर्गाप्रसाद अर्याल र सत्यनारायण डङ्गोल सदस्य हुनुहुन्छ । सदस्य अर्याल र डङ्गोल कानूनी सल्लाहकारका रुपमा रहनुभएको छ । नगरपालिकामा आउने उजूरी सबै लिखितरुपमा नै आउने गरेका छन् ।

चालू आवमा न्यायिक समितिमा उजूरी गत वर्षका तुलनामा आउने क्रम बढेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा पर्ने मुद्दाको सुनुवाईका लागि प्रत्येक सोमबार इजलास बस्दै आएको छ । मुद्दाको आवश्यकता हेरेर इजलास बस्ने दिनपनि बढाइने गरेको उपप्रमुख डङ्गोलले बताउनुभयो । टोखा नगरपालिकामा ११ वडा छन् ।