६ बैशाख २०८१, बिहीबार

हेटौंडामा बस्ती नजिकै रहेको डम्पिङ साइटबाट समस्या

landfill dumping site
सांकेतिक तस्विर

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा फैलिएको दुर्गन्धका कारण वरपरको वातावरणीय प्रदूषण बढ्नुको साथै जनस्वास्थ्यमा नकारात्मक असर परेको छ ।

हेटौँडा बजार क्षेत्र नजीक डम्पिङ साइट रहेकाले बजारको सौन्दर्यमा समेत असर परेको व्यापक गुनासो पाइएको छ ।

वन विज्ञान अध्ययन संस्थानको पश्चिम तथा उत्तरपट्टीको वन क्षेत्र र राप्ती खोला नजिकैमा फोहर राख्ने डम्पिङ साइटका कारण राप्ती खोला तथा आसपासका बस्ती समेतमा समस्या भएको स्थानीयवासीको गुनासो रहेको छ ।

डम्पिङ साइटमा पटकपटक हुने आगलागीबाट उत्पन्न वायु प्रदूषणले स्थानीयवासी थप मारमा परेका छन् । बजारभित्रका घर, होटल, पसल तथा उद्योग व्यवसायबाट फोहर सङ्कलन गरी थुपारिएको ठाउँमा आगलागी हुँदा बजार क्षेत्रसम्म दुर्गन्ध फैलिने गरेको छ । डम्पिङ साइटबाट निस्कने फोहरको दुर्गन्ध तथा प्रदूषणले उपमहानगरपालिका–११ स्थित सिमलटारको एक हजार ५०० घरधुरीलाई प्रत्यक्ष असर परेको बताइएको छ ।

सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरले त्यहाँबाट डम्पिङ साइट हटाएर बस्तीभन्दा टाढा लैजानु पर्ने बताउनुहुन्छ । त्यसैगरी पटकपटक डम्पिङ साइटमा हुने आगलागीबाट निस्कने प्रदूषणले न्यूरेनी, सिमलटार, चाइना क्वाटर, डागङ्डुगे, थानाभञ्याङ नयाँबस्ती १४ घरे, कर्रा, भूटनदेवी मन्दिर टोल, वन क्याम्पसलगायतका क्षेत्रमा प्रत्यक्ष असर परेको जन गुनासो रहेको छ ।

साथै आगलागीले गर्दा त्यहाँका बस्ती नै जोखिममा रहेको बताइएको छ । डम्पिङ साइट बजार एवं बस्ती नजिकै भएकाले त्यसलाई अन्यत्र सानुपर्ने न्यूरेनीका समाजसेवी रामप्रसाद भण्डारीको भनाइ रहेको छ । यसैगरी भुटनदेवी मन्दिर टोल विकास संस्थाका स्थानीयवासी सविन माक्तानले डम्पिङ साइटलाई व्यवस्थित गरेर तारबार गर्नुपर्ने बताउनुभएको छ ।

फोहरमा हुने आगलागीलाई नियन्त्रण नगरेमा त्यहाँबाट निस्कने प्रदूषणले बालबालिका तथा वृद्धवृद्धाको श्वासप्रश्वास र स्वास्थ्यमा असर पर्ने उहाँको भनाइ छ । शहरीकरण, बढ्दो जनसङ्ख्या र बसाइँ सराइले गर्दा उपमहानरपालिकाबाट उत्पादित फोहरको परिणाम दिन प्रतिदिन बढ्दै गएको छ । केही दिनअघि डम्पिङ साइटमा तीन दिनसम्म आगलागी हुँदा हेटौँडा उपमहागनगर पालिकाको दमकले आगो नियन्त्रण गर्नु परेको थियो ।

प्रदूषित धुवाँ र गन्ध आउने कारणले कोठा थुनेर बस्दा समेत घरमा बस्ने अवस्था थिएन । यो समस्या पटकपटक आइरहेको हेटाँैडाका बासिन्दाको गुनासो छ भने हेटौँडा उपमहानगरपालिकालाई पनि फोहरको दिगो व्यवस्थापन कसरी गर्ने चिन्ताले सताएको छ । वन विज्ञान अध्ययन संस्थानको १५८ बिघा जमीनमा कार्यालय भवन सङ्ग्रहालय, खेल मैदान, होस्टल र क्वाटर तथा अन्य भागमा वन जङ्गल रहेको छ ।

हाल त्यसको पछाडिपट्टी वन क्षेत्रमा डम्पिङसाइट अर्थात हेटौंडाको फोहर फाल्ने गरिएको छ । त्यो डम्पिङसाइटसँगै राप्ती खोला बगेको छ । डम्पिङ साइटमा राख्ने फोहर पानी, सडेगलेका अन्नपात, लुगा कपडा, प्लाष्टिक र अन्य मरेर सडेगलेका जीवजन्तुको हाडखोरलगायत अन्य प्रदूषित सामग्रीले खोलाको अवस्था सङ्कटमा परेको पाइएको छ । फोहरले खोलाको पानी प्रदूषित भएको छ । पानीको प्रदूषणले कृषिबाली, खानेपानी तथा नुहाउनेलगायतको काममा समस्या भएको छ ।

प्रदूषणलाई नियन्त्रण गर्न डम्पिङ साइटलाई खोलाभन्दा टाढा लैजानुपर्ने स्थानीयवासी हरिप्रसाद रिजालले बताउनुभयो । तत्कालै सार्ने पर्र्ने अवस्था नभए त्यसलाई व्यवस्थित गर्नु पर्ने उहाँको भनाइ छ । यता जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल डम्पिङ साइटबाट आएको दुर्गन्धित फोहर तथा दूषित पानीबाट राप्ती खोलालाई जोगाउनु पर्ने बताउनुहुन्छ । खोलाबाट हुने गिटी बालुवाको उत्खनन रोक्नुपर्ने आवश्यकता रहेको रिजालको भनाइ छ ।

गैरकानूनी रुपमा गिटी बालुवाको ढुवानी गर्ने व्यक्ति तथा संस्थालाई जरिवाना गरेर छोड्ने प्रवृत्तिले अवैध काम नरोकिएको प्रमुख पौडेल भन्नुहुन्छ । वन विज्ञान अध्ययन संस्थानको जङ्गलभित्र रहेका मृग र चित्तल डम्पिङ साइटमा जाँदा छाडा तथा भुस्या कुकुरले मार्ने गरेको संस्थानका प्रमुख विजय यादवले जानकारी दिनुभयो । एकहप्ता अगाडि दुई वटा चित्तललाई कुकुरले मारेको भन्नुभयो । डम्पिङ साइटमा भुस्या कुकुर धेरै रहेको, चित्तल देख्नासाथ आक्रमण गर्ने गरेको उहाँको भनाइ छ । विगतमा सो अध्ययन संस्थानको वनमा १५० भन्दा बढी मृग तथा चित्तल रहेको थियो ।

असुरक्षाको कारण त्यसको सङ्ख्या घटदै गएको प्रमुख यादवले भन्नुभयो । विसं २०२४ मा भारत सरकारबाट निर्माण गरिएको सो अध्ययन संस्थानको भौतिक पूर्वाधारको मर्मतसम्भारको अभावका कारण पर्खाल भत्केको र ठाउँठाउँमा तारबार टुटेको छ । अतिक्रमणले वन जङ्गलको क्षेत्र घटदै गएको र अनधिकृत व्यक्तिको प्रवेशले चित्तल, मृगजस्ता वन्यजन्तु मारिने समस्या बढेको छ । डम्पिङ साइट र मृग तथा चित्तल मारिएको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आवश्यक जानकारी लिनुभएको प्रमुख यादवले जानकारी दिनुभएको छ ।

डम्पिङ साइटका कुकुरको हुल त्यहाँ वन अध्ययन संस्थानको हाताभित्र आउने गरेको बताइएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन घिमिरेले सङ्कलित फोहर फाल्ने अर्थात डम्पिङ साइटको उचित व्यवस्थापन आवश्यक रहेको बताउनु भएको छ । हाल हप्ताको दुई पटक प्रत्येक वडा र टोलबाट उपमहानगरपालिकाले फोहर सङ्कलन गर्ने गरेको छ ।

मघेश आन्दोलन पश्चात् खासगरी बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा र महोतरी जिल्लाका धेरै मानिस हेटौँडामा बसाइँसराइ आएका छन् । अहिले यहाँ वाग्मती प्रदेशको राजधानी समेत घोषणा भई कार्यान्वयन भइसकेको र शिक्षा, स्वास्थ्य र रोजगारीका लागि राम्रो भएकाले जनसङ्ख्या वृद्धि स्वभाविक रहेको वडाध्यक्ष नवीन सिग्देल बताउनुहुन्छ ।

हेटौँडा औद्यौगिक व्यवस्थापन क्षेत्रमा रहेको १११ उद्योग, सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग, रिद्धिसिद्धी सिमेन्ट उद्योग, शिवम् सिमेन्ट उद्योग र एशिएन पेन्टस्लगायतका उद्योग र कलकारखानाले रोजगारी तथा जनसङ्ख्या बढेको छ । रोजगारीका लागि भारतबाट समेत मजदूर आउने गरेको छ । यस सबैलाई ध्यानमा राखी उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उपमहानगरलाई प्रदूषणमुक्त तथा हराभरा बनाउने अभियानअन्तर्गत विभिन्न कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।

हेटौँडालाई प्लास्टिकमुक्त क्षेत्र घोषण गरिएअनुरुप कालो प्लास्टिक प्रयोग तथा बिक्री बन्द भई सेतो प्लास्टिक प्रयोगमा ल्याइएको छ ।

    सम्बन्धित समाचार...