१६ चैत्र २०८०, शुक्रबार

फेसबुकमाथि १६ करोड अमेरिकी डलर जरिवाना

Facebook

सोसल मिडिया कम्पनी फेसबुकमाथि ब्राजिलले १६ करोड अमेरिकी डलर बराबरको रकम जरिवाना गरेको छ ।

ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयले ४ लाख ४३ हजार ब्राजिलियन फेसबुक प्रयोगकर्ताका डाटा अनधिकृत रुपमा शेयर गरेको अभियोगमा फेसबुकमाथि ६६ लाख ब्राजिलियन मुद्रा जरिवाना तिराउने निर्णय गरेको हो । क्याम्ब्रिज एनालिटिका काण्डमा फेसबुकले झण्डै साढे ४ लाख ब्राजिलियन फेसबुक प्रयोगकर्ताका डाटा अनधिकृत रुपमा दुरुपयोग गरिएको ठहर गरिएको छ ।

मन्त्रालयका अनुसार ४ लाख ४३ हजार ब्राजिलियन फेसबुक प्रयोगकर्ताका डाटाहरु thisisyourdigitallife एप्लिकेसनमा दुरुपयोग गरिएको पुष्टि भएको छ । कन्सल्टिङ कम्पनी क्याम्ब्रिज एनालिटिकाले ब्राजिलका फेसबुक प्रयोगकर्ताका डाटाहरु दुरुपयोग गरेको भनी सन् २०१८ को अप्रिलमा ब्राजिलस्थित फेसबुक कार्यालयविरुद्ध उजुरी परेको थियो ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा डोनाल्ड ट्रम्पको समूहसँग क्याम्ब्रिज एनालिटिकाले सहकार्य गरेको र फेसबुकले प्रदान गरेका प्रयोगकर्ताका डाटालाई मतदाताको निर्णयको पूर्वानुमान गर्ने तथा प्रभाव पार्ने उद्धेश्यले एक कम्प्युटर प्रोग्राम तयार गर्नमा प्रयोग गरिएको थियो ।

क्याम्ब्रिज एनालिटिका काण्डमा झण्डै ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका डाटा दुरुपयोग भएको फेसबुक स्वयंले स्विकार गरेको थियो । त्यसमध्ये ४ लाख ४३ हजार प्रयोगकर्ता ब्राजिलका थिए ।

एजेन्सीको सहयोगमा