७ बैशाख २०८१, शुक्रबार

पार्टीभित्र सहमति निर्माणकै लागि तीन वर्ष कुरेँ, बहुमतका आधारमा निर्णय गरेको हुँ : देउवा

Sher Bahadur Deuba

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार, आफूले काम गरिरहेको बताएका छन्। देउवाले पार्टीभित्र सहमति निर्माण गरेरै अघि बढ्न आफूले चाहेको बताएका छन्।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले विधानअनुसार, नै महाधिवेशनको मिति तोकेको बताए। ‘पार्टीको विधानलाई मिचेको छैन, विधानअनुसार नै काम गरेको छु,’ देउवाले भने। कांग्रेसका केही नेताले उनलाई पार्टीको विधान मिचेको आरोप लगाएका थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सभापति देउवा बहुमतको बलमा एक्लै हिँडेको आरोप लगाएकाबेला देउवाले सहमति निर्माणकै लागि तीन वर्षसम्म कुरेको बताए।

देउवाले भने, ‘सहमतिमै पार्टीलाई चलाउन खोजेको हुँ। सहमतिकै लागि तीन वर्ष कुरेँ, ‘सहमति नै हुन नसकेपछि बहुमतका आधारमा निर्णय गरेको हुँ।’

देउवाले आफू निकटका केन्द्रीय सदस्य उपस्थित बैठकबाट १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने र विभाग संख्या ४७ पुर्‍याउने निर्णय गरेपछि कांग्रेसभित्र विवाद छ।
देउवाले पार्टीलाई बलियो र सुदृढ बनाउने दाबी गर्दै आफूले विधान नमिचेको बताए।

विधानमा विभाग संख्या २८ भए पनि देउवाले ४७ पुर्‍याएका थिए। देउवाले तोकिएकै समयमा महाधिवेशन हुने पनि बताए। पार्टीका नेताहरूसँग जहाँ जुनसुकै बेला पनि छलफल गर्न तयार रहेको उनको भनाइ थियो।

वरिष्ठ नेता पौडेल पक्षले सभापति देउवासँग वार्ता गर्ने निर्णय गरेको भोलिपल्ट देउवाले आफू कुराकानीका लागि सधैं तयार रहेको जवाफ दिएका हुन्।

एक प्रश्नमा उनले सभामुखको छिट्टै टुङ्गो लगाउनु पर्ने बताए। सभामुख वा उपसभामुखमध्ये एउटा कांग्रेसले पाउनु पर्ने उनको भनाइ थियो। त्यस्तै, अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०लाई स्वकार गर्नुपर्ने बताए। एमसीसीलाई सरकारले तत्काल पास गर्नुपर्ने उनको भनाइ थियो।

सभापति देउवाले नेपाल विद्यार्थी संघमा पनि छिट्टै नेतृत्व चयन गर्ने बताए। अहिले नेवि संघ नेतृत्वविहीन छ।