fbpx
२४ फाल्गुन २०७७, सोमबार

पुरातत्वले महानगरलाई पत्राचार गरेकै मध्यराति कमलपोखरीमा डोजर

ऐतिहासिक कमलपोखरीमा भइरहेको काम रोक्न पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको राति डोजर लगाएर माटो ओसार्ने प्रयास भएको छ ।

कमलपोखरी निर्माणमा मौलिक सामग्री प्रयोग नगरी ऐतिहासिक एवं पुरातात्विक महत्व नाश हुने गरी काम गर्न लागेको देखिएकाले काम रोक्न महानगरपालिकालाई पत्राचार गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो ।

पत्राचार गरिएकै राति ११ बजे कमलपोखरीबाट माटो निकालेर अन्यत्र ओसारेको विषयमा पनि विभागमा जानकारी आएको उहाँले सुनाउनुभयो । सोमबार राति डोजर लगाएर एक गाडी माटो बूढानीलकण्ठ लगिएको अभियानकर्मीले जनाएका छन् ।

फोटोः आलोकसिद्दी तुलाधर

अभियाकर्मीको विरोधपछि राति माटो झिक्ने काम रोकिएको छ । सोमबार राति ११ बजे डोजर लगाएर माटो ओसारेको खबर पाएपछि सम्पदाप्रेमीको समूह कमलपोखरी पुगेको थियो । राति कमलपोखरी गएर महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र प्रहरी प्रशासनसँग फोनमा कुरा गरी डोजर लगाउन रोकिएको सम्पदा बचाऊ अभियानकर्मी गणपतिलाल श्रेष्ठले जानकारी दिनुभयो ।

फोटोः आलोकसिद्दी तुलाधर

कमलपोखरीलाई पनि रानीपोखरीकै बाटोमा लैजान खोजेको भन्दै सम्पदाप्रेमीले आज बागदरबारस्थित महानगर कार्यपालिकाको कार्यालयमा धर्ना दिएका छन् । धर्नामा बसेका सम्पदाप्रेमीले ‘प्रकृतिको दोहन बन्द गर’, ‘सिमेन्ट र डण्डीको कमल चाहिँदैन’, ‘रानीपोखरीबाट पाठ नसिकेकामा हामी लज्जित छौँ’, ‘जीवनका आधारभूत वस्तु माटो र पानीसँग हाम्रो आत्मीयता छ, यसलाई बचाऔँ’, ‘प्रकृतिको दोहन बन्द गर, दुर्लभ सिमसारको संरक्षण गर’ लगायत नारा लेखिएका ‘प्ले कार्ड’ सहित प्रदर्शन गरेका थिए । प्रदर्शनपछि महानगर प्रमुख विद्यासुन्दर शाक्य, महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

महानगर प्रमुख शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई नभेटेपछि पत्र दर्ता गरेर छोडिएको छ । पत्र बुझ्नुहुँदै महानगर उपप्रमुख श्रेष्ठले बजेट निर्माण गर्दा पुरानै स्वरुपमा काम गर्ने गरी राखिएको बताउनुभयो । त्यसपछिको चरणमा के के भयो भन्ने आफूलाई जानकारी नभएकाले विवाद आएपछि खोजी शुरु गरिएको उहाँको भनाइ थियो । सोमबार राति ११ बजे फोन गरेर कमलपोखरीको काम रोक्न उपप्रमुख श्रेष्ठले निर्देशन दिनुभएको थियो ।

“कमलपोखरी पुरानै स्वरुपमा बनाउन व्यापक छलफल हुनुपर्छ, विकासका नाममा सम्पदा विनाश गरिनुहुँदैन, बुधबार हुने नगर परिषद्मा यस विषयमा कुरा राख्छु, माटो झिक्ने आवश्यकता किन प¥यो ? यसको खोजी गर्छु”, उहाँले भन्नुभयो । पत्रमा कमलपोखरी (पलेस्वाँपुखू) मा संरक्षण र सम्वद्र्धनका नाममा गैरकानूनी एवं संरक्षणको मान्य सिद्धान्त तथा व्यवहार प्रतिकूल हुने गरी काम भएकाले रोक्न माग गरिएको छ ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३, स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत कानूनको समेत प्रतिकूल हुने गरी कमलपोखरीमा काम भइरहेको छ । विभागले पनि प्राचीन स्मारक संरक्षण ऐनविपरीत काम नगर्न महानगरपालिकालाई पत्राचार गरेको छ । माटो झिकिएको कमलपोखरीको बुधबार स्थलगत अध्ययन गरिने पनि विभागले जनाएको छ । सम्पदाप्रेमीले महानगरको अनुगमन समिति संयोजकसमेत रहनुभएकी उपप्रमुख श्रेष्ठलाई कमलपोखरीको स्थलगत अनुगमन गर्न माग गरेका छन् । उहाँले पनि अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पोखरी निर्माणका लागि २०७६ असार १९ गते शिलान्यास गरिएको थियो । शिलान्यास असार १९ गते गरिए पनि कार्यादेश भने असार ६ गते नै दिइएको थियो । विसं २०७७ असार १५ गते नै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकामा कमलपोखरी निर्माण अझै अलपत्र छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर सरोज बस्नेतले ढुङ्गाको अभाव भएर काममा ढिलाइ भएको दाबी गर्नुहुन्छ । लिच्छविकालीन नौ पोखरीमध्येको एक पोखरी कमलपोखरीमा अध्ययनबिना नै सिमेन्ट र कङ्क्रिटको प्रयोग गरिएकामा पनि सम्पदाप्रेमी एवं स्थानीयवासीले विरोध जनाएका छन् ।

फोटोः आलोकसिद्दी तुलाधर

गहनापोखरी, बच्चापोखरी, नागपोखरी, हिटीपोखरी, हाँडीगाउँपोखरी पनि नौ पोखरीमध्येमा पर्ने बूढापाकाबाट सुन्दै आएको सामाजिक अभियानकर्मी दिवस ढुङ्गेल बताउनुहुन्छ । कमलपोखरीका सम्बन्धमा अर्को भनाइ पनि स्थानीयवासी माझ प्रचलनमा छ । यहाँका लालदरबार र सीता दरबार निर्माणका क्रममा कमलपोखरीको माटो निकालिएको थियो । माटो निकालेपछि वर्षात्मा परेको पानी जम्मा भएर पोखरी बन्यो । पोखरीमा एक वृद्धले टौ दहबाट कमलको फूल ल्याएर रोपे । अर्को वर्ष कमलले पोखरी ढाकिएकाले पोखरीको नाम कमलपोखरीमा परिणत भएको भन्ने भनाइ पनि यहाँ सुन्न पाइन्छ । यसलाई नै आधार मान्ने हो भने पोखरीको इतिहास १०० वर्षभन्दा पुरानो हुने भएकाले यसको संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ ।

एक वर्षअघिसम्म प्राकृतिकरुपमा रहेको कमलपोखरीको वरिपरि सिमेन्टको पेटी लगाएर घाट बनाई पोखरीको आकारसमेत घटाइएको स्थानीयवासी रोशन श्रेष्ठको गुनासो छ । निर्माण गर्दा पुरातात्विक तरिकाले प्राचीन निर्माण सामग्री नै प्रयोग गरेर गर्नुपर्नेमा त्यसो हुन नसकेको सम्पदा बचाऊ अभियानका सुशन वैद्य बताउनुहुन्छ ।