१२ बैशाख २०८१, बुधबार

मिथिलामा ‘सनेस’ को चटारो

laddu

एक दिन घाम देखिँदा छाएको खुशी अर्को दिन डम्म हुस्सुले ढाकेसँगैको चिसो बतासले तुहिँदै छ । गत आइतबार मध्यान्हपछि घाम देखिँदा अब मौसम उघ्य्रो भनेर छाएको खुशी महोत्तरीमा आज एकाबिहानै हुस्सुले ढाकेर लगलगी मुटु कमाउने चिसो बतासले खोसेको छ ।

यो चिसोमा घर व्यवहार र खेतीपातीका कामसँगै मैथिल गृहिणी (मिथिलाका नारी, मिथिलानी पनि भनिन्छ) लाई थपमा ‘सनेस’ (कोसेली) बनाउने र पठाउने चटारो छ । तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको ‘सनेस’ आफन्तजन कहाँ पठाउने मिथिलाको पुरानो चलन हो । यसै चलनलाई थेग्न अहिले मिथिलानीे तिल, चिउरा, जुनेलो र मुरिका ‘लाई’ (लड्डू) बनाउन व्यस्त छन् ।

छोरीचेली (फूपु, दिदीबहिनी, छोरी, दोस्तमहिम (मित, मितिनी) र यस्तै इष्टजनकहाँ ‘सनेस’ पु¥याउनपर्ने स्थापित चलनले मिथिलानीको व्यस्तता अहिले बढेको हो । मिथिलामा माघ महिनाभरि नै ‘लाई’ को मौसम रहन्छ । घरको खाजामा होस् वा आफन्तलाई पठाउने ‘सनेस’ मा । यसै परम्पराले सिङ्गो मिथिला क्षेत्रमा नै अहिले तिल, चिउरा, जुनेला र मुरिका ‘लाई’ धमाधम बटारिँदा (बनाइँदा) छन् ।

रमाइलो थप के हुन्छ भने छिमेकका जेठानी, देउरानी, नाताका बुहारी र अन्य आफन्त (हिमछिम भएका) पनि ‘लाई’ बनाउने कार्यमा सरिक हुन्छन् । मिठ्ठा (सख्खर) को खुँदोको मात्रा, तिल, चिउरा र जुनेला कति तताउने (भुट्ने) सल्लाह र यसै मेसोमा मिथिलानीबीच हुने अन्य हासपरिहास पनि यस कामका रमाइलापक्षका रुपमा पाका मैथिल गृहिणी सम्झन्छन् ।

“पवनीकै दिन (माघ सङ्क्रान्ति) सानो छोराले पर्वको सनेस छोरीकहाँ पु¥याएर आयो”, अझै तील, चिउरा, जुनेला र मुरिका ‘लाई’ बटार्न व्यस्त रहनुभएकी बर्दिबास नगरपालिका–२ की पारोदेवीले भन्नुभयो, “अब ननद (नन्द) र दोस्त (मित) को घरमा जान बाँकी छ, त्यसैले लाई बटारी रहेकी छु ।” पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तहरुलाई समेत ख्वाइने र यी परिकार हिँउदभरि नै खाजा खाइने परम्पराले पनि अहिले घरघरमा ‘लाई’ बटार्ने मुख्य काम बनेको उहाँको भनाइ छ ।

खासगरी जाडो याममा सख्खर, घीउ र खुवाका परिकार खाँदा आङ् तात्ने, चिसोका विकार ठिक हुने र काममा पूmर्ति आउने आम मैथिल जनविश्वास छ । यसै विश्वासको परम्पराले पनि छिप्पिदो जाडोबीच ‘लाई’ खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको पेशाले शिक्षक रहनुभएकी भङ्गाहा नगरपालिका–७ की समीक्षा सिंह थारु बताउनुहुन्छ ।

अहिले यस क्षेत्रमा आफ्नो सावगास अनुसार सबैजसो घरमा ‘लाई’ बनाउन लागि परेका छन् । ‘सनेस’ पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यो परिकार परेपछि मिथिलामा हिँउदभरि ‘लाई’को मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् ।

    सम्बन्धित समाचार...