१२ बैशाख २०८१, बुधबार

सीप सिकाउँदैः उद्यमी बनाउँदै घरेलु

dhaka than.

घरेलु तथा साना उद्योग विकास कार्यालय बागलुङले यस वर्ष १२० महिला तथा पुरुषलाई उद्यमी बनाउने प्रयास थालेको छ ।

गरीब, विपन्न र सीमान्तकृत समुदायलाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार सञ्चालन गरिएका सीप विकास तालीमबाट यहाँका बासिन्दा लाभान्वित भएका छन् । चुलोचौका र घरमै सीमित हुन पुगेका महिलाले पनि अहिले धमाधम सीप सिक्न व्यस्त छन् । श्रीमान्मै निर्भर रहँदै आएका ती महिलाले सीप सिकेर अब आफ्नै व्यवसाय सञ्चालन गर्ने तयारी पनि गरिरहेका छन् ।

तालीम प्राप्त केहीले उद्यमनै शुरु गरिसकेका छन् भने केही तालीममै छन् । घरेलु तथा साना उद्योग कार्यालयले यसवर्ष तालीम दिने शैलीनै परिवर्तन गरेर सीप विकास तालीम दिन थालेपछि उद्यमी बनाउने अभियान प्रभावकारी बन्दै गएको हो ।

गत वर्ष महिला तथा पुरुषलाई सिधँै तालीममा सहभागी गराउने हुनाले कतिपयले समय मात्रै खेर फाले त केही भत्ता प्रातिका लागि मात्रै तालीममा बस्ने गरेका थिए । तर, यसवर्ष घरेलुले तालीममार्फत् उनीहरुको क्षमता पहिचान गर्दै उद्यमी बनाउने अभियान शुरु गरेको छ । चालु आर्थिक वर्षमा १२० जनालाई उद्यममा लगाउने कार्यालयको लक्ष्यअनुसार अहिले दोस्रो चरणको क्षमता पहिचान तालीम शुरु गरिएको छ ।

क्षमता पहिचान तालीमबाट सिलाइकटाई उद्यमी बन्नका लागि दोस्रो चरणको तालीममा सहभागी बनेको रमुना नेपालीले बताउनुभयो । उहाँले तालीम पश्चात टेलरिङ व्यवसाय सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । फेसन डिजाइनर तालीममा सहभागी उषा क्षेत्री र ढाका बुनाइ तालीममा सहभागी युवकला थापाले तालीम लगत्तै उद्यम सञ्चान गर्ने बताउनुभयो । पहिलो र दोस्रो चरणको तालीममा सात जना पुरुषको सहभागिता छ ।

पहिलो चरणमा तालीम प्राप्त २५ जनाले आफ्नो क्षमताअनुसार विषयगत तालीम लिँदै उद्यममा लाग्न थालिसकेको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गोमादेवी शर्माले बताउनुभयो । तालीममा सहभागीलाई १० दिनसम्म व्यवसायमा लाग्न उत्प्रेरणा दिने, अन्तर्निहीत क्षमता बाहिर ल्याउन सहयोग गर्ने र क्षमता अनुसार उद्यम बन्न सिकाउने गरिएको उहाँको भनाइ छ । “दोस्रो चरणको १० दिने उद्यमशीलता विकास तालीम शुरु गरेका छौं, पहिलो चरणको तालीममा सहभागीले आफ्नो क्षमता र ज्ञानअनुसार विषयगत तालीममा सहभागी भइरहेका छन्” प्रमुख शर्माले भन्नुभयो, “गत वर्ष सोझै मोबाइल मर्मत, ढाका बुनाइ, सिलाइकटाई तथा फेसन डिजाइनको तालीम दिइन्थ्यो, तर अहिले विषयगत तालीममा सहभागी पूर्व उनीहरुको क्षमता पहिचान गर्न १० दिने तालीम दिन थालिएको छ ।”

क्षमता पहिचान गरी विषयगत तालीम दिँदा उनीहरुको इच्छा, भावना, ज्ञान र क्षमताअनुसार हुने र उद्यमी बन्न महत्वपूर्ण भूमिका खेल्ने कार्यालयको अपेक्षा छ । यस्तो तालीममा अहिलेसम्म ५० जना सहभागी भइसकेका छन् । तीमध्ये २५ जना विषयगत तालीममा र २५ जना क्षमता पहिचान तालीममा सहभागी रहेको कार्यालय प्रमुख शर्माले जानकारी गराउनुभयो ।

क्षमता पहिचान तालीम सकेपछि केही महिला सिलाइ बुनाइ, कटिङ, फेसन डिजाइनर तथा ढाका बुनाइमा अभिप्रेरित भएका छन् भने पुरुषहरु मोबाइल मर्मत तालीममा सहभागी भइरहेका छन् । जबर्जस्ती तालीम सञ्चालन गर्दा औपचारिकतामा मात्रै सीमित भएका कारण क्षमता पहिचान पश्चात तालीम र उद्यमशीलतामा लगाउन थालिएको छ ।

क्षमता पहिचानपछि दोस्रो तालीममा सहभागी २१ जना महिलामध्ये केहीले फेसन डिजाइन, केहीले सिलाइ बुनाइ तथा कटाइ र केहीले ढाका बुनाइतर्फ अग्रसर भएको छ । उनीहरुको क्षमता, गर्न सक्ने लगानीलगायतका आधारमा उद्यम गर्न प्रेरित गरिनेछ । क्षमता पहिचान तालीमपछि विषयगत रुपमा सीप विकास तालीम दिएपछि उद्यमशीलता गर्न उनीहरुलाई कार्यालयले उत्प्रेरित गर्नेछ ।

तालीम प्राप्त महिला तथा पुरुषले सिकेको सीपअनुसार उद्योग दर्तानै गरेर चलाउन थालेमा आवश्यक आंैजारमा अनुदान समेत दिइनेछ । यो वर्ष घरेलु तथा साना उद्योग विकास कार्यालयमा क्षमता पहिचान तथा सीप विकास तालीम प्रदान गरी उद्यममा लगाउनका लागि रु सात लाख २० हजार बजेट विनियोजन भएको कार्यालय प्रमुख शर्माको भनाइ छ ।

बोटमै रह्यो सुन्तला

बागलुङ सुन्तलाका लागि प्रख्यात जिल्लाका रुपमा चिनिँदै आएको छ । सुन्तलाको मौसम कात्तिकबाटै शुरु हुन्छ । अधिकांशको सुन्तला बेच्ने मौसम मङ्सिर र पुस महिना हो ।

बागलुङमा अहिले झण्डै ८० प्रतिशत सुन्तला बिक्री भइसकेको छ । तर जिल्लाको जैमिनी नगरपालिकामा उत्पादित सुन्तला अझै बिक्री भइनसकेको किसानको गुनासो छ ।

जैमिनी नगरपालिका–४ सर्कुवाका अमृत सुवेदीको सुन्तला बगानमा लटरम्मै सुन्तला भए पनि माघ महिनासम्म बिक्री भएको छैन । अहिलेसम्म बोटबाट टिपेर सक्नुपर्ने सुन्तला यो वर्ष कोरोना महामारीका कारण खरीद गर्ने बगैँचासम्म आइनसकेको किसानको भनाइ छ ।

“ हाम्रो बगैँचामा एक हजार सुन्तलाका बोट छन् । तीमध्ये आधा बोटले सुन्तला उत्पादन दिँदै आएको छ”, किसान सुवेदीले भन्नुभयो, “अहिलेसम्म सुन्तला बिक्री भएको छैन, नारायणगढको व्यापारी मङ्सिर महिनाभित्रै बगान खाली गर्नेगरी कुरा भए पनि हालसम्म सुन्तला बोटमै छ ।”

यो वर्ष सुवेदीलाई कोरोनाले मात्र होइन, सुन्तला फुल्ने समयमा परेको भारी वर्षाले पनि मारमा पा¥यो । सेतै फूलेका सुन्तलाका बोटबाट असारदेखि साउन महिनासम्म निरन्तर परेको झरिले आधाभन्दा बढी सुन्तला फुलमै झरें । अघिल्लो वर्ष सुवेदीले रु आठ लाखको सुन्तला बिक्री गर्नुभएको थियो । यो वर्ष ठ्याक्कै रु तीन लाख घाटा हुने अवस्था देखिएको छ ।

सुवेदी मात्रै होइन, बागलुङका धेरै किसान सुन्तलाबाट कमाइ राम्रो नभएको बताएका छन् । सुन्तला टिप्नुपर्ने समयमा टिप्न नसक्दा अर्को वर्षमासमेत सुन्तला कम फल्ने कृषि प्राविधिकले बताउँदै आएका छन् । फूल खेल्ने समय हुनै लाग्दा बोटमै सुन्तला रहँदा सुवेदी चिन्तित हुनुभएको छ । सुवेदी मात्रै होइन सुन्तला गाउँका रुपमा रहेको सिगनाका कृषक रामबहादुर खड्का, भरत जिसी लगायतको सुन्तला बोटमै छन् ।

सिगानाका किसान अनन्तबहादुर खड्काले बोटबाट समयमै सुन्तला नटिप्दा यो वर्ष रु तीन लाख घटा लागेको बताउनुभयो । अर्काे वर्ष सुन्तलाको बोटले कम उत्पादन दिने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानु भट्टराईले बताउनुभयो । यसवर्ष सुन्तलाको बाटमा औंशे कीराको प्रकोप, सुन्तलाको दाना सानो लागेका कारण सुन्तला उत्पादनमा कमी आएर घाटा भएको सुन्तला किसान शिव खड्काले बताउनुभयो ।

जैमिनी नगरपालिकामा अघिल्लो वर्ष ४५ टन सुन्तला बिक्री भएको थियो । यस्तै सिगानामा रु दुई करोडका सुन्तला बिक्री भएका थिए । यो वर्ष करीब ५० टन सुन्तला बिक्री गरिएको जैमिनी सुन्तला ब्लकका अध्यक्ष खगेश्वर शर्मा सुवेदीले बताउनुभयो ।