१६ चैत्र २०८०, शुक्रबार

सवारी दुर्घटना नियन्त्रण गर्न समय निर्धारण, टिपअनुसारको ज्याला पाउने भएकाले अत्यधिक गतिमा चलाउँदा दुर्घटना

dailekh Time Card
फाइल फोटो

सवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सयम निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको छ । पाल्पाको दोभानबाट बुटवल धागो कारखाना, धागो कारखानाबाट सुनवल र दोभानबाट भैरहवा अञ्चलपुरसम्म चल्ने टिपरका लागि सयम निर्धारण गरिएको हो ।

टिपअनुसारको ज्याला पाउने भएकाले अत्यधिक गतिमा टिपर चलाउँदा दुर्घटना बढेका कारण अनिवार्य समय निर्धारण गरिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सोमबार बुटवलमा पत्रकार भेटघाट गरी जानकारी गराएको छ । दोभानबाट धागोकारखानासम्म ११ किलोमिटर दूरी ३३ मिनेट समयमा पुग्ने गरी सयम तोकिएको छ । धागो कारखानाबाट सुनवलसम्म २३ किलोमिटरको दूरी ४६ मिनेटमा र दोभानबाट भैरहवा अञ्चलपुरसम्मको २८ किलोमिटर दूरी ५६ मिनेटमा पुग्ने गरी सयम निर्धारण गरिएको ट्राफिक प्रहरी प्रमुख डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

टाइम कार्ड लिएका टिपरले प्रहरी चौकीमा अनिवार्य प्रवेश ९इन्ट्री० गराउनुपर्ने छ । तोकिएको समयभन्दा छिटो नै टिपर पुगेमा नियमअनुसारको कारवाहीमा पर्नेछन् । प्रत्येक टिपर चालकलाई एक÷एकवटा सयम निर्धारणका कार्ड वितरण गरिने र सो कार्ड देखाइ तोकिएको स्थानमा इन्ट्री गराउनुपर्ने र इन्ट्री नगराइ गएमा जरिवाना लाग्ने ट्राफिक प्रहरी प्रमुख विकले बताउनुभयो सयम निर्धारण भएपछि टिपरको तीव्रगतिलाई रोक्नुका साथै दुर्घटनामा कमी ल्याउने र यात्रुलाई सडकमा यात्रा गर्न सजिलो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सडक लेनको प्रयोगबारे सवारी चालक र यात्रुलाई सचेत बनाउने कामसमेत शुरु गरेको जनाएको छ । सडकमै यात्रु तथा चालकलाई लेनको अनुशासनबारे सचेत गराउने काम भइरहेको छ । सडक सुरक्षाका लागि नयाँ प्रहरीलाई प्रशिक्षित गरी सडकमा खटाउने तयारी गरेको ट्राफिक प्रहरी प्रमुख विकले बताउनुभयो । “अहिले ३० ट्राफिक प्रहरीलाई तालिम दिइरहेका छौँ, थप गरी सडक व्यवस्थापनका लागि परिचालन गर्दैछौँ”, उहाँले भन्नुभयो ।

प्रहरीले सवारी दुर्घटना बढ्दै गएपछि सडक सुरक्षाका लागि विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो छ महिनामा लुम्बिनी प्रदेशमा १६ दशमलव ५५ प्रतिशतले दुर्घटना वृद्धि भएको छ । आर्थिक वर्ष २०७७ साउन १ देखि पुस मसान्तसम्म ९०१ सवारी दुर्घटना भएका छन् । गत वर्षको साउनदेखि पुस मसान्तसम्म ७७३ दुर्घटना भएका थिए । सवारी दुर्घटना बढे पनि मानिसको मृत्यु भने कम भएको छ । पछिल्लो छ महिनामा २५६ को मृत्यु भएको छ भने अघिल्लो वर्षको छ महिनामा २७६ को मृत्यु भएको थियो । प्रहरीले सडक सुरक्षा र जनचेतनाका लागि सडकमा डमी ट्राफिक प्रहरीको प्रयोगसमेत गरेको छ । बुटवल, भैरहवा र कपिलवस्तुको बुद्धभूमि चोकमा गरी १० डमी ट्राफिक प्रहरी प्रयोग गरिएको हो ।

ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना नियन्त्रणका लागि प्रहरीले अघि सारेका कार्यक्रममा सबैको सहयोग र सहकार्य आवश्यक रहेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

पत्थरडाँडा–तिनाउ सडक विस्तार शिलान्यास

तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको सोमबार शिलान्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले वडा नं १३ को तीनधुरेमा शिलान्यास गर्नुभयो ।

तिलोत्तमा नगरपालिकाद्वारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाइ छ दशमलव आठ किलोमिटर छ । नदीजन्य पैदावार ओसारपसार गर्ने निकासी सडकका रूपमा परिचित यो सडक विस्तार कार्यको लागत रु ३४ करोड अनुमान गरिएको छ । स्थानीय जनप्रतिनिधिको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक बहुवर्षीय ठेक्का लगाएर दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा नं १३ र १४ को विकासमा महत्वपूर्ण टेवा पु¥याउने यो सडक निर्माणलाई तीनै तहका जनप्रतिनिधिले विशेष महत्व दिँदै आउनुभएको छ ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले सडक निर्माणमा स्थानीय जनप्रतिनिधिले देखाएको तत्परताको प्रशंसा गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । जग्गाको सुनिश्चितता गराउने जिम्मेवारी नगरपालिकाको भएको बताउँदै उहाँले सडक निर्माणमा मुअब्जा दिने प्रदेश सरकारको नीति नरहेको स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रममा प्रदेशसभा सदस्य तुलसी चौधरी, रमा अर्याल, सन्तोष पाण्डेयले विकासको मुख्य आधार सडक रहेको हुँदा सडक विस्तारमा सबैको सहयोग र सहकार्य अपरिहार्य रहने बताउनुभयो ।

तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले सडक विस्तार कार्यमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

    सम्बन्धित समाचार...