fbpx
१५ फाल्गुन २०७७, शनिबार

पेट्रोल तथा डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

मंगलबार राति देखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ । निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल-मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र रु ९३ प्रतिलिटर कायम गरेको छ ।

हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजन पश्चात् पनि पेट्रोलमा प्रतिलिटर रु ४.३४, डिजेलमा प्रतिलिटर रु २.९६ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १३४.७२ घाटा रहेको निगमले जनाएको छ । अर्ध वार्षिक रुपमा निगमलाई रु ४९.८८ करोड घाटा हुने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

हालको मूल्य समायोजन पश्चात् पनि भरतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर रु ३२.२६ र डिजेल प्रतिलिटर रु ३७.६४ ले नेपालतर्फ सस्तो रहेको पनि निगमले जनाएको छ ।

निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार प्रत्येक महिनाको १५-१५ दिनको अन्तरमा मूल्य समायोजन गर्दै आएको छ । निगमले एलपी ग्यासको बिक्री मूल्य २०७६ माघ २० गतेदेखि लागू हुने गरी प्रतिसिलिन्डर रु एक हजार ३७५ कायम गरेको थियो ।

इन्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०२० प्राप्त मूल्यअनुसार मिति गत मङ्सिर २८ मा पेट्रोल तथा डिजेल-मट्टितेलमा साबिक मूल्यमा प्रतिलिटर क्रमशः रु एक र रु दुई ले वृद्धि गरी पेट्रोलको प्रतिलिटर रु १०८ र डिजेल-मट्टितेलको प्रतिलिटर रु ९१ कायम गरेको थियो । त्यसपछि आइओसीबाट १६ डिसेम्बर २०२० र १ जनवरी २०२१ मा प्राप्त खरीद मूल्यमा बढेर आएको तथा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार सो मितिमा मूल्य वृद्धि गर्नुपर्ने देखिएको भए तापनि मूल्यवृद्धि नगरिएको निगमले जनाएको छ । हाल १६ जनवरी २०२१ मा प्राप्त मूल्यअनुसार १ डिसेम्बर २०२० को तुलनामा मूल्यवृद्धि नगर्दा निगमलाई अर्धवार्षिक रु ६७.५५ करोड घाटा हुने अवस्था रहेको निगमले जनाएको छ ।