८ बैशाख २०८१, शनिबार

चित्लाङ सम्पदा सूचीमा रहेको मन्दिरबाट पाँच मूर्ति चोरी

chitlang

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित ३ गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् ।

गत पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा भएको हो । “सदा झै हामी बिहान पूजा गर्न जाँदा मूर्ति चोरी भइसकेको रहेछ, हामी शिव लिङ्गको दर्शन गरेर फर्कियौँ”, मन्दिर नजिकै घर भएका विक्रम लामाले भन्नुभयो ।

चोरी भएका मूर्तिमा दुर्गा, भैरव, कुमार र नारायणको छन् । नजिकै सरावत पौवामा रहेको ढुङ्गेधाराबाट हराएको मूर्ति भने गणेशको रहेको लामाले जानकारी दिनुभयो । तीन गजुर भएको शिवालय मन्दिर विश्वमै दुर्लभ मानिन्छ । पहिले सुनकै गजुर रहेको भए पनि चोरी भएपछि पुरातत्व विभागले पुनःनिमार्ण गरेको थियो ।

यो मन्दिर पुरातत्व विभागको सम्पदा सूचीमा रहेको छ । स्थानीयवासीले किराँतकालमै तीन गजुर भएको शिवालय निर्माण गरेको बताउँछन् । गणेशको मूर्ति चोरी भएको सरावत पौवाको ढुङ्गेधारा पनि ऐतिहासिक महत्वको छ ।

मध्यकालमा काठमाण्डौंस्थित पशुपति दर्शन गर्न जाने भक्तजनलाई शिवरात्रीमा सर्वत खुवाउने ठाउँ भएकाले ढुङ्गेधारा रहेको पौवाको नाम सरावत पौवा हुन गएको स्थानीय वुद्धिजिवी शान्तलाल नेवाः ले जानकारी दिनुभयो ।

तीर्थयात्री सरावत पौवामा आराम गरेर ढुङ्गेधाराको पानी खाएर हिँड्ने गर्दथे । पहिले तीन गजुर भएको शिवालयको गणेशको मूर्ति लगेर ढुङ्गेधारामा प्रतिस्थापना गरिएको स्थानीयवासीको भनाइ छ ।