७ बैशाख २०८१, शुक्रबार

एचआइभी एड्सबाट किशोरीको मृत्यु

Gajendra Narayan

सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिनुभयो ।

एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । नौ वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताउनुभयो ।

उहाँका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।

दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ज २४५२ नम्बरको सुमो गिरधारी राइस मिल अगाडि रोकी राखेको स१त २५१२ नम्बरको ट्र्याक्टरमा ठोक्किएको थियो ।

सो दुर्घटनामा परी सुमोको पछाडि सवार झापा जिल्लाको शिवसताक्षी नगरपालिका–११ डुरामणि बस्ने २५ वर्षीय रुपेश लिम्बूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएका लिम्बूको उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका–३ बस्ने ३४ वर्षीय टेकबहादुर दर्जीको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज सप्तरी पठाइएको छ । सुमोमा सवार अर्का झापाकै गौरादह नगरपालिका–४ बस्ने ३६ वर्षीय जितबहादुर श्रेष्ठको दाहिने हात भाँचिएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार...