१३ बैशाख २०८१, बिहीबार

सुकुम्वासी समस्या समाधानतर्फ

lalpurja

मकवानपुरको वाग्मती गाउँपालिकाका लालपुर्जाविहीन सुकुम्वासीको समस्या समाधान हुने भएको छ । सो गाउँपालिकामा करीब चार हजार भूमिविहीन सुकुम्वासी रहेको र उनीहरुको समस्या समाधानका लागि प्रक्रिया शुरु भएको गाउँपालिकाले जनाएको छ ।

घर तथा जग्गा भए पनि कानूनी भोगाधिकार नहँुदा समस्या बढ्दै गएको थियो । भूमिहीनसम्बन्धी समस्या समाधानका लागि उक्त गाउँपालिकाले वडा नं ४ र ५ मा हाल नापी गरिरहेको छ । वडा नं ४ मा नापी सकिएको र ५ नं वडाको अन्तिम चरणमा रहेको बताइएको छ । सर्वेक्षक र अमिनसहित एक दर्जन कर्मचारीबाट जमीनको नापजाँच भइरहेको छ ।

विसं २०३२ मा पनि नापजाँच गरिएको तर लालपुर्जा नपाएकाको जग्गा पुनः नापजाँच गरी लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । नापजाँच भइसकेपछि भूमिसम्बन्धी समस्या समाधान आयोगमा गाउँपालिकाले तथ्याङ्क सिफारिस गर्ने तथा आयोगले फर्म खुलाउने र फर्म भरेपछि स्थायी लालपुर्जा वितरण गर्ने सहमति भएको हो ।

गाउँपालिका अध्यक्ष घलान तथा आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीबीच सम्झौता भएको थियो । गत कात्तिक २७ गते सम्झौैता पत्रमा हस्ताक्षर गरिएको थियो । नेपाल सरकारले देशभरिका भूमिहीन सुकुम्वासीलाई व्यवस्थित गर्नका लागि गत चैतमा आयोग गठन गरेका थियो । आयोगले प्रथम चरणमा मकवानपुरको वाग्मती गाउँपालिकासहित १४ स्थानीय तहमा नमूनाका रुपमा लालपुर्जा वितरणको तयारी गरी रहेको छ । गाउँपालिकाले जग्गानाँप जाँच गर्दा भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबास गरी तीनवटा समूहमा विभाजन गरिएको छ । त्यसअनुसार छुट्याएर काम गर्नुपर्ने हुन्छ ।

गत मङ्सिरमा आयोगले हेटाँैडामा एक कार्यक्रम गरी वाग्मती प्रदेशका २८ स्थानीय तहका प्रमुखसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । आयोगले प्रदेश १ र २ तथा वाग्मती प्रदेशमा स्थानीय तहसँग सम्झौता गरिसकेको छ । आयोगले पहिलो चरणमा सातवटा प्रदेशका १४ वटा स्थानीय तहलाई लालपुर्जा वितरण गर्ने जनाएको छ ।

आयोगका अध्यक्ष ज्ञवालीका अनुसार चालू आवमा १८० स्थानीय तहसँग सम्झौता गर्ने तथा कम्तीमा सय स्थानीय तहको भूमिसम्बन्धी समस्याको समाधान गर्ने बताइएको छ । यस विषयमा आयोगले स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृत र प्राविधिकलाई एकदिने अभिमुखीकरण तालीमसमेत गराएको जनाएको छ ।

    सम्बन्धित समाचार...