८ बैशाख २०८१, शनिबार

जिल्ला निर्वाचन कार्यालय खोटाङले शुरु ग¥यो तयारी

elec

जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनका लागि तयारी शुरु गरेको छ । नेपाल सरकारले निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालय खोटाङले पनि तयारी शुरु गरेको हो ।

आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालयले आइतबार जिल्लास्थित सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनको तयारी शुरु गरेको जनाएको छ । कार्यक्रममा पुस ५ गतेसम्म १८ वर्ष पुगेर मतदाता नामावली दर्ता गराउनेको नामावली त्रुटि तथा दोहोरो भएमा सच्च्याउने र दाबी विरोध भए त्यसको निरुपण गर्ने गरी तयारी शुरु गरिएको जिल्ला निर्वाचन अधिकृत कोपिला राईले जानकारी दिनुभयो ।

यसका लागि माघ ५ गतेसम्म सहायक नामदर्ता अधिकृतको छनोट गर्ने, माघ ८ नियुक्ति गर्ने, माघ ११ नवनियुक्त सहायक नाम दर्ता अधिकृतलाई तालीम दिने, १५ सूचना प्रकाशन गर्ने, माघ १६ र १७ निवेदन सङ्कलन गर्ने, माघ १८ र १९ गते निवेदनउपर निर्णय गर्नेलगायत कार्यक्रम रहेको निर्वाचन अधिकृत राईले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले निर्वाचनका लागि सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको बताउनुभयो ।

उता, कार्यक्रममा सहभागी राजनीतिक दल तथा सरोकारवाला निकायले भने, तोकिएको मितिमा निर्वाचन नहुने बताएका छन् । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै एक समूह निर्वाचन गराउने र अर्को समूह विरोधमा रहेकाले सरकारले तोकेको मितिमा निर्वाचन सम्भव नरहेको सहभागीले बताएका हुन् । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । दश स्थानीय तह रहेको जिल्लामा एक लाख ३३ हजार मतदाता रहेका छन् ।