fbpx
२१ फाल्गुन २०७७, शुक्रबार

कोशी टप्पु आरक्षण वरपर आरक्षणबाट आएका जङ्गली जनावरको त्रास

गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन घरबाट हिँडेका कोशी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै घर फर्किनुभएन ।

कृषि पेशामा लागेका यादवको हात्तीको आक्रमणले ज्यान गयो । त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका–५ का मोतीलाल कामतको त्यही एउटै हात्तीको आक्रमणबाट ज्यान गयो । राति नै उहाँको हात्तीको आक्रमणबाट मृत्यु भएपछि विहान घरनजिक शव भेटियो ।

एउटै गाउँपालिकामा १५ दिनको फरकमा दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाए । त्यो पनि एउटै हात्तीको आक्रमणबाट । कोशी टप्पु वन्यजन्त आरक्षणको मध्यवर्ती क्षेत्रमा पर्ने कोशी गाउँपालिकाका अधिकांश गाउँ जङ्गली जनावरको आक्रमणको चपेटामा परेको छ । प्रमोद र मोतीलालजस्ताको दैनिकजसो मृत्यु हुने गरेको छ ।

आरक्षणबाट आएका जङ्गली जनावरले कतिखेर ज्यान लाने हो भन्ने ठेगान स्थानीयवासीमा छैन । जङ्गली जनावरको आक्रमणबाट आजित भएर स्थानीयवासी आन्दोलन गर्छन् । राज्यले कुनै पहल नगर्दा उनीहरु त्यसै थाकेका छन् । आरक्षण प्रशासनले पनि कुनै सुनुवाई अहिलेसम्म गरेको छैन । प्रमोद यादवको मकुना नामको हात्तीको आक्रमणमा परी मृत्यु भएपछि हात्ती नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली मगाइएको थियो ।

उक्त टोलीले हात्तीमा बढेको हर्मोनका कारण यस्तो अराजक भएको निष्कर्ष निकालेको थियो । सोही बमोजिम नै मकुनाको हर्मोन कम गर्ने सुई दिइएको थियो । मकुनाको उत्तेजना कम भएको स्थानीयले महसुस गर्दैगर्दा सोमबार त्यही हात्तीको आक्रमणबाट मोतीलालको मृत्यु भएपछि स्थानीयवासीमा पुनः त्रास फैलिएको छ ।

गत मङ्सिर २९ गतेको यस घटनापछि स्थानीय समाजसेवी पञ्चनारायण मण्डलको संयोजकत्वमा ३७ सदस्यीय जङ्गली जनावर पीडित सङ्घर्ष समिति बनाइएको छ । यहाँ आएको प्राविधिक टोलीसँग थप छलफल गरी सङ्घर्षका कार्यक्रम घोषणा गरिने संयोजक मण्डलले जानकारी दिनुभयो । अव पनि जङ्गली जनावरको आक्रमण रोक्न आरक्षणले कुनै पहलकदमी नगरे आरक्षण र स्थानीयवासीबीच ठूलो द्वन्द्व सिर्जना हुने उहाँको भनाइ छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावर र स्थानीयबीच दशकौँदेखि द्वन्द्व हुँदै आएको छ । स्थानीयले आरक्षण प्रशासनलाई पटक पटक द्वन्द्व निरुपणका लागि विशेष ध्यान दिन सचेत गराए पनि आरक्षण प्रशासनले उहाँहरुको कुरा सुनेको छैन । चार वर्षमा ५२ जनाको मृत्यु आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म जङ्गली हात्तीको आक्रमणबाट सुनसरी र सप्तरी जिल्लामा आठ जनाको मृत्यु हुनुका साथै सोही अवधिमा चौबीस जनाभन्दा बढी व्यक्ति घाइते भएको तथ्याङ्क छ ।

विसं २०७३ यता मात्र तीन जिल्लामा आरक्षणबाट निस्किएर आएका जङ्गली जनावरको आक्रमणबाट ५२ जनाको ज्यान गएको जङ्गली जनावर पीडित सङ्घर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले बताउनुभयो । बाइस जनाको त मकुना हात्तीको आक्रमणले मात्र ज्यान गएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी गाउँपालिकाको वडा नंं ३, ५, ६,७, ८ जङ्गली जनावरबाट पीडित छन् । यसैगरी उदयपुरको बेलका नगरपालिकाका, सप्तरीको सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमान नगर कंकालिनी नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका केही वडाहरु मधयवर्ती क्षेत्रमा पर्छन् । ती क्षेत्रका स्थानीयवासी बर्षौंदेखि हात्तीलगायतका जङ्गली जनावरबाट पीडित छन् ।

मण्डलका अनुनसार कोशी गाउँपालिकामा मात्र ढेड वर्षको अवधीमा एक सय ५० जना भन्दाबढी घाइते भएका छन् । करोडौँको वालीनाली क्षती भएको छ । उक्त सङ्घर्ष समितिको बैठक बसी प्रमुख जिल्ला अधिकारी र वार्डेनमार्फत् यहाँको धनजनको क्षति र समस्याबारे केन्द्रीय सरकारलाई ज्ञापन पत्र पठाउने काम भएको उहाँले जानकारी दिनुभयो । अब पनि आरक्षण स्थानीयवासीप्रति जिम्मेवार नभए सङ्घर्षका कडा कार्यक्रम शुरु गर्ने मण्डलले चेतावनी दिनुभयो । ।

आरक्षण प्रशासनको लापारवाही हात्ती आक्रमण रोक्न आरक्षण प्रशासनले कुनै ठोस कदम नचाल्दा मध्यवर्ती क्षेत्रवासी समस्यामा परेको कोशी गाउँपालिकाकाले जनाएको छ । उता पटकपटक ध्यानाकर्षण गराउँदै आए पनि सर्वसाधारणलाई आतङ्कित बनाउने क्रम रोक्न आरक्षण प्रशासनले कुनै ठोस पहल गरेको छैन । त्यही भएर यहाँका स्थानीय आन्दोलित भएका छन् । स्थानीयवासीको सुरक्षाका लागि आरक्षण प्रशासन पनि जिम्मेवार हुनुपर्ने यहाँका स्थानीयको भनाइ छ ।

मानव बस्तीमा पसेर दिनहुँजसो सर्वसाधारणलाई आतङ्कित बनाउने हात्ती कहाँ छ भनेर थाहा पाउने हात्तीको लोकेसन ट्रयाक गर्न २०७४ मङ्सिर १५ गते आरक्षणले रेडियोकलर जडान गरेको छ । उक्त रेडियोकलरको सहायतामा रिसिभरले हात्ती कहाँ छ भन्ने जानकारी दिने गरेको छ । तर मानवबस्तीमा पसेको जानकारी आरक्षणलाई थाहा हुँदासमेत वेवास्ता गर्दा मानिसको ज्यान जाने गरेको सो गाउँ पालिकाका अध्यक्ष बताउनुहुन्छ ।

यता मकुना हात्तीले उपद्रो गरेको र मानव बस्ती जानबाट रोक्नका लागि हात्तीको खुट्टामा चेन लगाइने उपायकाबारे विभागमा मङ्सीर ६ गते नै पत्र पठाएको आरक्षणका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । सानो क्षेत्र हुनु पनि समस्या सुनसरी, सप्तरी र उदयपुर तीन जिल्ला गरी आरक्षण १७५ वर्ग किमी फैलिएको छ । यहाँ रहेका जङ्गली जनावरको सङ्ख्याअनुसार यो भूगोल अत्यन्तै न्यून हो । सानो क्षेत्रफलमा हात्ती, बदेल, अर्नालगायतका जङ्गली जनावरको सङ्ख्या ठूलो हुँदा ती जनावर मानवबस्ती प्रवेश गरेर उपद्रो गर्ने गरेको आरक्षणका वार्डेन चौधरी बताउनुहुन्छ ।

उहाँका अनुसार मकुना हात्ती विगत १० वर्षदेखि आरक्षणमा बस्दै आएको बेला आरक्षण बाहिर निस्किएर उपद्रो गर्ने गरेको छ । केही दिनदेखि मकुना ‘मतुवा’ भएर मानिसलाई आक्रमण गर्न थालेको उहाँको भनाइ छ । विज्ञ टोली आरक्षणमा मङ्सिर २९ को घटनापछि मकुनालाई मत्थर पार्ने सुई लगाइएको थियो । केही मत्थर भएको भनिए पनि १५ दिनपछि पुन मानव बस्तीमा पसी सोमबार आक्रमण गरे पछि उक्त मकुना हात्तीलाई कसरी नियन्त्रणगर्ने भन्ने विषयमा अध्ययन गर्न राष्ट्रिय निकुञ्ज विभागका हात्ती विज्ञ अशोक रामको नेतृत्वको टोली आरक्षण पुगेको थियो ।

उहाँहरुसँगै राष्ट्रिय प्रकृतिक संरक्षण कोष चितवनका पशु प्राविधिक टोली पनि आई मकुना हात्तीको अध्ययन शुरु गरेको वार्डेन चौधरीले जानकारी दिनुभयो । दश वर्षदेखि मकुनाले स्थानीयलाई हैरानी दिएपछि यस अघि स्थानीय प्रशासनसहितको निर्णयले मकुनालाई मार्नु पर्ने निष्कर्ष निकालेको थियो । तर उक्त निष्कर्षको विरोध भए मकुनालाई उत्तेजित बनाउन हर्मोन कम गर्ने सुई लगाएर राखिएको थियो । फेरि गाउँ पसेर उपद्रो गरेपछि मकुनाबारे थप अध्ययन गर्न विज्ञ टोली आरक्षण मगाइएको हो ।

‘‘विज्ञ टोलीले जे सल्लाहा दिन्छ त्यही अनुसार आरक्षणले निर्णय गर्छ । हामी पनि स्थानीयको समस्याप्रति चिन्तित छाँं’’–वार्डेन चौधरीले भन्नुभयो ।चरा र अर्नाको राजधानी कोशी टप्पु आरक्षण कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र मानिन्छ । विसं २०३२ मा स्थापना भएको आरक्ष सन् १९८७ रामसार सूचीमा सुचीकृत भएको थियो । यो नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित छ ।

चौधरीका अनुसार आरक्षमा विभिन्न ५३१ प्रजातीका चरा, ५४१ को सङ्ख्यामा दुर्लभ अर्ना र १२ वटा दुर्लभ डल्फीनसमेत पाइन्छन् । यहाँ बदेल, हरिण, मृग, हात्तीलगायतका जनावर रहेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षण चरा र अर्नाको राजधानीका रुपमा चिनिएको छ । राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साइवेरियादेखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन् । यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ । अर्ना र चराहरुका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको तथ्याङ्क रहेको छ । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कूल २१ हजार ७९९ पर्यटकले आरक्षण अवलोकन गरेको आरक्षका वार्डेन चौधरीले जानकारी दिनुभयो ।