१५ चैत्र २०८०, बिहीबार

एपीएफद्वारा प्रदेश–१ पराजित

Er0z0ixVQAUkcgI scaled 1

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली एपीएफ क्लब विजयी भएको छ । एपीएफले प्रदेश–१लाई १३५ रनले पराजित गरेको हो ।

कीर्तिपुर त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफ क्लबले ४८ दशमलव चार ओभरमा सबै खेलाडी गुमाएर २४३ रन बनायो । उसका लागि आशिफ शेखले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गर्नुभयो । सुवास खकुरेलले १९, कप्तान शरद भेषवाकरले २०, प्रदिप ऐरीले सात, सुमित महर्जनले १४, बसन्त रेग्मीले ४०, भुवन कार्कीले सात, कमलसिंह ऐरीले पाँच र किशोर महतोले १९ रन बनाउनुभयो । बलिङतर्फ प्रदेश नं १ का लागि फिरदोश अन्सारी, दिपेश कँडेल, हमेन्त राई र श्रवण यादवले दुई दुई विकेट लिनुभयो ।

दुई सय ४४ रनको विजय लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ले ४२ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन मात्र बनायो । प्रदेश एकका लागि दिपक पासवानले १३, मनिश थापाले १८ र फिरदोस अन्सारीले १७ रन बनाउनुभयो । बलिङतर्फ एपीएफका अभिनाश बोहोरा एक्लैले पाँच विकेट लिनुभयो । यस्तै बसन्त रेग्मीले दुुई विकेट लिनुभयो । जितसँगै समूह ’ए’मा रहेको एपीएफले दुई अङ्क जोडेको छ । यही समूहमा रहेको त्रिभुवन आर्मी क्लबको पनि दुई अंक छ । आर्मीले शुक्रबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको थियो ।