७ बैशाख २०८१, शुक्रबार

सेनाद्वारा आखेटोपहार र बन्दुकसहित पाँच जना पक्राउ

arest

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी–११ स्थित मुह ईलाकाबाट नेपाली सेनाको टोलीले ५ जनालाई पक्राउ गरेको छ ।

अवैध जिवजन्तु तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीसमेतको सहयोगमा पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–११ मुह बस्ने मन बहादुर बुढा, चन्द्र प्रसाद बुढा, वडा नम्बर ७, पहाडा बस्ने सुर्य बहादुर बुढा, चन्द्र केसी र गोकर्ण बुढा रहेका छन् ।

चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । 

निजहरुको घरबाट २ नाल भरुवा बन्दुक, बारुद, बन्यजन्तु शिकारीमा प्रयोग हुने उपकरण, २ वटा चौरी गाईको सिङ्ग, शंकास्पद कस्तुरीको दाँत लगायत बरामद भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
पक्राउ परेकाहरुलाई सामानसहित कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको जनाइएको छ ।

पक्राउ परेका सबैलाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । निकुञ्जले यसभन्दा अगाडि पनि ३६ थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, इन्सास राइफलका गोली पनि बरामद गरेको थियो । 

भौगोलक कठिनाइ, विशाल भूगोल, न्यून जनशक्ति र अत्यधिक चिसोका बाबजुद पनि निकुञ्जले चोरी शिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ । पछिल्लो समय वन जङ्गल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि निकुञ्जले स्थानीयवासीसँग समन्वयकारी भूमिका खेल्दै आएको छ ।