७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय सभा चुनावमा भाग लिने दललाई चुनाव चिह्न प्रदान

download 1

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको चुनावमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आउँदो माघ ९ गते चुनाव हुँदैछ ।

आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सूर्य, नेपाली कांग्रेसले रुख, समाजवादी पार्टीले पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीले नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हलो, राष्ट्रिय जनमोर्चाले गिलास, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल सङ्घीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्रयाक्टर चुनाव चिह्न प्राप्त गरेको आयोगले जनाएको छ ।

यसैबीच आयोगले चुनावको सन्दर्भमा सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ ।

आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिनुभएको छ ।

त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ । न्याय परिषद्को परामर्शमा आयोगले उहाँहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।