१६ चैत्र २०८०, शुक्रबार

पर्यटन लक्षित ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको गुनासो

tourism ministry

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आज आयोजना गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री ढकालले पर्यटनका बारेमा बुझेर व्यवसायीका सुझाव र समस्यालाई समाधान गर्न पहल गरिने आश्वासन दिनुभयो ।

रत्न मन्दिर खुलाउन आश्वासन

मन्त्री ढकालले कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएको र राज्यले नागरिकको ज्यान बचाउनेतिर ध्यान केन्द्रित गर्दा अन्य क्षेत्र ओझेलमा पर्न गएको बताउनुभयो । “धेरै क्षेत्रमा समस्या छ तर राज्यले नागरिकको ज्यान जोगाउने कुरालाई प्राथमिकतामा राख्दा अन्यत्र केही नगरे जस्तो भएको छ, अब सरकारले अन्यत्र पनि चासो दिएर काम गर्नेछ”, उहाँले भन्नुभयो । उहाँले रत्नमन्दिर खुला हुन भइरहेको ढिलासुस्तीका विषयमा पनि धेरै कुरा उठेका छन् भन्नुभयो । “रत्न मन्दिर खुला हुन कहाँनेर गाँठो परेको हो त्यो गाँठो फुकाउने कोसिस गर्नेछु”, उहाँले भन्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले वर्तमान अवस्थामा शतप्रतिशत घाटा व्यहोरिरहेको पर्यटन क्षेत्र राज्यले घोषणा गरेको मौद्रिक नीतिको कार्यान्वयन नहुँदा व्यवसायीले समस्या भोग्नु परेको बताउनुभयो । “पर्यटन क्षेत्र निकै प्रभावित छ, राज्यले छुट्याइएको रु ५० अर्बको व्यवसाय सञ्चालन कोषबाट पनि व्यवसायीले पाउनसकेका छैनन्, पर्यटन क्षेत्रबाट व्यवसायी विस्थापित हुँदैछन् अर्बौको लगानी जोखिममा छ, तर सरकारले तदारुकता देखाएन”, उहाँले पर्यटन क्षेत्रलाई उद्योगको मान्यता नदिँदा र राज्यको उदासीनताले यस क्षेत्रको लगानी जोखिममा रहेको बताउनुभयो ।

अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले सरकारले कोभिड १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावको विश्लेषण गर्न नसक्दा यस क्षेत्रको भविष्य झनै अन्योलमा भएको उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासु त्रिपाठीले अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप०ले विदेशी पर्यटकसँग लिने प्रवेश शुल्कलाई ‘मल्टिपल’ बनाएर सहज वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

एक ठाउँमा शुल्क तिरेपछि अर्को ठाउँमा पर्यटक जाँदा समस्या झेल्नुपरेको बताउँदै ‘मल्टिपल इन्ट्री’ का लागि खुला गर्नुपर्ने उहाँको भनाइ थियो । होटल एसोसियसनका केन्द्रीय अध्यक्ष भरत पराजुली सबै कुरा खुला भइरहँदा नेपाल सरकारले अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय नाकाको कडाइलाई सहज बनाएर पर्यटकलाई नेपाल आउने वातावरण गराउन पहल गराउनुपर्ने बताउनुभयो ।

छलफलमा नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारी, नेशनल टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा)का अध्यक्ष सञ्जयकान्त सिग्देल, इम्ब्रोइडरी एण्ड गार्मेण्ट एसोसियसन (एगा)का अध्यक्ष विश्वराज पोखरेल, टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्मिाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का उपाध्यक्ष उमा भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्कीलगायतका व्यवसायीले पर्यटन क्षेत्रमा विद्यमान समस्यालाई न्यूनीकरण गर्दै पर्यटनमैत्री वातावरण निर्माणका लागि यथाशक्य पहल गर्न र पर्यटनमा देखिएका अवरोध हटाएर आर्थिक समृद्धिको आधार खडा गर्न मन्त्री ढकालसमक्ष आग्रह गरेका थिए ।