१३ बैशाख २०८१, बिहीबार

व्यासमा ३२ प्रतिशत योजना सम्पन्न

byas nagarpalika

तनहुँको ब्यास नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३२ प्रतिशत योजना सम्पन्न गरेको छ ।

सो अवधिमा उपभोक्ता समितिमार्फत् सञ्चालन गरिएका योजनामध्ये २८२ योजना सम्झौता भएको थियो । नगरपालिकाले चालू आर्थिक वर्षमा ८७० योजना उपभोक्ता समितिमार्फत् सञ्चालन गर्दैछ । कूल योजनामध्ये ६१ प्रतिशत योजनाको सम्झौता भइसकेको शहरी पूर्वाधार विकास उपशाखा प्रमुख डा राजु पौडेलले जानकारी दिनुभयो ।

ब्यास नगरपालिका–१ मा रहेको ६० योजनामध्ये ६८ प्रतिशत सम्झौता र ३६ प्रतिशत सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ । यसैगरी नगरपालिकाका अनुसार, ब्यास नगरपालिका–२ का २७ योजनामध्ये ७० प्रतिशत सम्झौता र ४८ प्रतिशत सम्पन्न, वडा नं ३ का ४५ योजनामध्ये ५५ प्रतिशत सम्झौता र २६ प्रतिशत सम्पन्न, वडा नं. ४ का ३८ योजनामध्ये ६८ प्रतिशत सम्झौता र ४७ प्रतिशत सम्पन्न, वडा नं ५ का ६२ योजनामध्ये ५८ प्रतिशत सम्झौता र २२ प्रतिशत सम्पन्न, वडा नं ६ का ६८ योजनामध्ये ६२ प्रतिशत सम्झौता र २१ प्रतिशत सम्पन्न, वडा नं ७ का ६० योजनामध्ये ७६ प्रतिशत सम्झौता र ४० प्रतिशत सम्पन्न, वडा नं ८ का ८१ योजनामध्ये ५० प्रतिशत सम्झौता र ४२ प्रतिशत सम्पन्न तथा वडा नं ९ का ८८ योजनामध्ये ६१ प्रतिशत सम्झौता र ३१ प्रतिशत सम्पन्न भएको छ ।

त्यस्तै नगरपालिका–१० का ७८ योजनामध्ये ७० प्रतिशत सम्झौता र ४२ प्रतिशत सम्पन्न, वडा नं ११ का ७४ योजनामध्ये ६६ प्रतिशत सम्झौता र ३२ प्रतिशत सम्पन्न, वडा नं १२ का ६६ योजनामध्ये ३७ प्रतिशत सम्झौता र १६ प्रतिशत सम्पन्न, वडा नं १३ का ५९ योजनामध्ये ७० प्रतिशत सम्झौता र ४८ प्रतिशत सम्पन्न, वडा नं १४ का ५० योजनामध्ये ६८ प्रतिशत सम्झौता र ३६ प्रतिशत सम्पन्न भएको छ ।

त्यस्तै ठेक्कामार्फत् सञ्चालन हुने योजनामध्ये १३ वटा सम्पन्न भएका छन् भने ३१ वटा सम्झौता भएर कार्यान्वयनको चरणमा छ । आर्थिक वर्ष ०७६÷७७ का २५ र चालू आर्थिक वर्षका ३८ योजना यसै वर्ष सञ्चालन गरिएको छ । कोभिडका कारण गत वर्ष सम्पन्न हुन नसकेका योजनालाई नगरपालिकाले यस वर्ष स्थानान्तरण गरेको थियो ।

६ किमि सडक कालोपत्र

सो अवधिमा नगर क्षेत्रभित्र साढे पाँच किमि सडक कालोपत्र गरिएको छ भने साढे चार किमि नाला निर्माण सम्पन्न भएको छ । दमौली केशवटार मार्गअन्तर्गत केशवटार बजारमा ६६७ मिटर सडक कालोपत्र र ६५० मिटर नाला, दमौली केशवटार मार्गअन्तर्गत पोखरी भञ्ज्याङ बजारमा ८०१ मिटर सडक कालोपत्र र ६९१ मिटर नाला, क्यामिन मार्गमा ८६५ मिटर सडक कालोपत्र र ४२५ मिटर नाला, कलेस्ती मार्गमा ११८० मिटर सडक कालोपत्र र ११६० मिटर नाला, वडा कार्यालय पहुँच मार्ग ब्यास १० मा ७९० मिटर सडक कालोपत्र र ४८२ मिटर नाला निर्माण सम्पन्न भएको छ ।

त्यस्तै छिर्कन वडा कार्यालय मार्गमा ४०५ मिटर सडक कालोपत्र र ४१६ मिटर नाला, कमलबारी वडा कार्यालय मार्गमा ५५२ मिटर सडक कालोपत्र र ५४४ मिटर नाला, माहेन्द्री मार्गमा ३०० मिटर सडक कालोपत्र र २९७ मिटर नाला र तालघरे दुम्सीचौर मार्गमा ३८८ मिटर सडक कालोपत्र र २४६ मिटर नाला निर्माण सम्पन्न भएको छ ।

शहरी पूर्वाधार विकास उपशाखा अन्तर्गत मादी उपत्यका एकीकृत नदी विकास आयोजनाको अध्ययनका लागि गरिएको बोलपत्र आह्वान पश्चात् परामर्शदाता कम्पनीसँग सम्झौता गरी काम शुरु गरिएको डा पौडेलले जानकारी दिनुभयो । सङ्घीय सरकारको विशेष अनुदानमार्फत् स्वीकृत रु तीन करोडमा देवीडाँडा चिसापानी लिफ्टिङ खानेपानी आयोजना रु दुई करोडको कमेरेपानी साँधखोला खानेपानी आयोजनाको बोलपत्र आह्वान गरिएको छ । “योजना सङ्ख्या धेरै, ठोस् काम देखिने ठूला योजना बनाउनुपर्ने, नगरसभामा आएका योजना कार्यान्वयनतर्फ भन्दा बोर्ड बैठकमार्फत् आउने योजनाको चाप बढी भएका कारण समस्या भएको छ,” डा पौडेलले भन्नुभयो, “स–साना योजना पनि सम्झौता गर्ने तर काम शुरु नगर्ने प्रवृत्ति उस्तै छ ।”

२५३ नक्शा पास

नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो छ महिनामा २५३ वटा नक्शा पास भएको छ । भूमि व्यवस्थापन तथा भवन इजाजत उपशाखाले यस अवधिमा १८५ प्रथम चरणको अस्थायी नक्शा पास र २२३ दोस्रो चरणको स्थायी नक्शा पास गरेको छ । अन्तिम चरणको नक्शा पास सङ्ख्या २८५ छ । त्यस्तै २५ घर कायम दर्ता, २२ घर कायम सम्पन्न, १८ साधारण स्वीकृित, ७० नामसारी, ६ सम्पत्ति मूल्याङ्कन र ९२ नक्शा नवीकरण भएका छन् ।

गाउँसभाबाट चार विधेयक पारित

बन्दीपुर गाउँपालिकाले विभिन्न विधेयक पारित गरेको छ । गाउँपालिकाको आज सम्पन्न आठांै गाउँसभाले चार विधेयक पारित गरेको हो ।
सभाले उपाध्यक्ष करुणा गुरुङले प्रस्तुत गर्नुभएको संशोधित विनियोजित विधेयक, आर्थिक विकास समितिका संयोजक कृष्णप्रसाद लामिछानेले प्रस्तुत गर्नुभएको कृषि व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक विकास समितिका संयोजक सन्तबहादुर गुरुङले प्रस्तुत गर्नुभएको बालबालिकाको अधिकार व्यवस्थित गर्न बनेको विधेयक, सार्वजनिक सेवा प्रवाह तथा सुशासन समितिका संयोजक भानुभक्त पोख्रेलले प्रस्तुत गर्नुभएको सेवा प्रवाहलाई जनमुखी र पारदर्शी बनाउन सुशासन विधेयक पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गाउँसभालाई सङ्घीय संसद्को ढाँचामा सञ्चालन गरिएको जानकारी दिनुभयो । विधेयक प्रस्तुत गरेपछि गाउँसभाका सदस्यलाई उक्त विधेयकमाथि छलफल गर्न दिइएको थियो । सबै विधेयक सर्वसम्मतबाट पारित भएको अध्यक्ष थापाले बताउनुभयो ।

गाउँसभामा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संसद् विघटनको रोग प्रदेशतर्फ सर्न नहुनेमा जोड दिनुभयो । मन्त्री चुमानले संसद् विघटनको रोग प्रदेशतर्फ सर्न नहुने र त्यसका लागि आफूले बहस गर्दै आएको बताउनुभयो । पार्टीभित्रको विवादका कारण संसद् विघटन भएकाले पार्टीको विवादको छायाँ संसद्मा पर्न नहुने मन्त्री चुमानको भनाइ थियो । “आफ्नो मन्त्री पद जोगाउन हरि चुमानले यस्तो बहस चलाएको भन्ने पनि सुनिन आएको छ, मलाई पदको कुनै लोभ छैन,” उहाँले भन्नुभयो ।

प्रदेश पनि विघटन हुने हो भने सङ्घीयता धरापमा पर्ने भन्दै मन्त्री चुमानले सङ्घीयता रक्षाका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । विघटित संसद् पुनःस्थापना हुनुपर्ने र त्यसो भएको खण्डमा पार्टी पुनः एकैठाउँमा आउन सक्ने उहाँको जोड थियो ।

पूर्वाधार विकासमा रु २० लाख

ब्यास नगरपालिका–५ मानुङकोटको पूर्वाधार विकासका लागि गण्डकी प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानुङकोटमा पूर्वाधार निर्माणका लागि तत्कालका लागि रु २० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

केही समय अगाडि मानुङकोटको भ्रमण गर्दै मन्त्री गुरुङले मानुङकोटलाई प्रदेश सरकारको उत्कृष्ट गन्तव्यको रुपमा सूचीकृत गर्दै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले मानुङकोटको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै मानुङकोटको गुरुयोजना बनेपछि आगामी आर्थिक वर्षको बजेट भाषणबाटै मानुङको लागि थप बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“अहिले विनियोजन भएको बजेटमा के गर्न सकिन्छ, त्यसतर्फ नगरपालिका र वडाले ध्यान दिनुपर्छ, आगामी वर्ष पनि बजेट विनियोजन गर्न सकारात्मक छु,” मन्त्री गुरुङले भन्नुभयो । ब्यास नगरपालिकाले पनि केही समय अगाडि कार्यपालिकाको बैठकबाट मानुङमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गर्दै सहयोगका अनुरोध गरिएको थियो । ब्यास नगरपालिकाका प्रवक्ता एवं ब्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानुङको विकासका लागि प्रदेश सरकारबाट चासो व्यक्त भएकामा खुशी व्यक्त गर्नुभयो ।

केही समय अगाडि हजारांै पर्यटक मानुङकोट पुग्ने गरेकामा उक्त सङ्ख्या घटेपनि मानुङकोटमा अझै पर्यटकको आवतजावत भइरहेको छ । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । मानुङकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँ प्रष्ट देख्न सकिन्छ ।

दूध बिक्री गरेर लाखौँ आम्दानी

ब्यास नगरपालिका–५ का खडानन्द आचार्यले एक वर्षमा दूध बिक्री गरेर रु एघार लाख भन्दा बढी आम्दानी गर्नुहुन्छ । व्यावसायिक रुपमा पशुपालन गर्दै आउनुभएका उहाँले चिन्तुटार दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने गर्नुभएको छ ।

उहाँले गत वर्ष २० हजार ८९६ लिटर दूध बिक्री गरेर रु ११ लाख ३३ हजार ६०० आम्दानी गर्नुभएको छ । चिन्तुटार दुग्ध उत्पादक सहकारी संस्थाले तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलाई दूध उपलब्ध गराउँछ । ब्यास नगरपालिका–१ का दीपेन्द्र अधिकारीले १८ हजार ८६४ लिटर दूध बिक्री गरेर रु दश लाख ५६ हजार ३८४ आम्दानी गर्नुभयो । उहाँले चारकुने दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्नुहुन्छ ।

व्यावसायिक रुपमा पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लाका कृषकले दूध बिक्री गरेरै वार्षिक लाखांै आम्दानी गर्ने गरेका छन् । त्यस्तै १६ हजार ७२५ लिटर दूध बिक्री गरेर बन्दीपुर गाउँपालिका–१ की अन्जु श्रेष्ठले रु नौ लाख १७ हजार ७६१, १४ हजार ६९ लिटर दूध बिक्री गरेर ब्यास नगरपालिका–१० का डिल्लीराम सापकोटाले रु आठ लाख ४० हजार ७७८, १५ हजार ३१ लिटर दूध बिक्री गरेर ब्यास नगरपालिका–१० का प्रकाश भुजेलले रु सात लाख २१ हजार २८ आम्दानी गर्नुभएको छ ।

१२ हजार ८९० लिटर दूध बिक्री गरेर आँबुखैरेनी गाउँपालिकाका चोलबहादुर गौलीले रु ६ लाख ५८ हजार ७८२, १२ हजार ५८५ लिटर दूध बिक्री गरेर ब्यास नगरपालिका–१३ का विष्णु बरालले रु पाँच लाख ९६ हजार ५१४, १० हजार ३९९ लिटर दूध बिक्री गरेर म्याग्दे गाउँपालिका–५ का विष्णुबहादुर थापाले रु पाँच लाख ८८ हजार ६२९, नौ हजार ९१९ लिटर दूध बिक्री गरेर म्याग्दे गाउँपालिका–३ का नवराज घिमिरेले रु चार लाख ९६ हजार ६५९ आम्दानी गर्नुभएको छ । त्यसैगरी आठ हजार २० लिटर दूध बिक्री गरेर शिवराज रेग्मीले रु चार लाख एक हजार, आठ हजार ६७४ लिटर दूध बिक्री गरेर भानु नगरपालिका–८ का रामचन्द्र बजगाईंले रु तीन लाख ९२ हजार ८१६, पाँच हजार १६१ लिटर दूध बिक्री गरेर भानु नगरपालिका–९ का सूर्यप्रसाद भण्डारीले रु दुई लाख २१ हजार ९२३ र दुई हजार दुई सय पाँच लिटर दूध बिक्री गरेर बन्दीपुर गाउँपालिका–१ का हरिकृष्ण अधिकारीले रु एक लाख पाँच हजार २०५ आम्दानी गर्नुभएको छ ।

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बढी दूध बिक्री गर्ने कृषकलाई पुरस्कृत गरेको छ । सङ्घले प्रोत्साहनस्वरुप सबैभन्दा बढी दूध बिक्री गर्नेलाई प्रथम, द्वितीय र तृतीयका आधारमा क्रमशः रु पाँच हजार, चार हजार र तीन हजार साथै अन्य सबैलाई रु एक हजारका दरले पुरस्कृत गरेको सङ्घका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो ।

छात्रावासमा बस्नका लागि पाँच सयको आवेदन

समुदायबाट सञ्चालित तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको छात्रावासमा बस्न पाँच सय विद्यार्थीले आवेदन दिएका छन् । ३० जनाको मात्रै क्षमता रहेको छात्रावासमा आवासीय सुविधाका लागि पाँच सय विद्यार्थीको आवेदन परेको क्याम्पसले जनाएको छ ।

आवेदन दिनेमध्ये २५२ विद्यार्थी अभिभावकविहीन रहेको क्याम्पसप्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । “३० जनाको क्षमता हो, ५०० जनाको आवेदन परेको छ,” उहाँले भन्नुभयो, “कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ ।” विसं २०५८ मा शुरु भएर विसं २०७५ मङ्सिरमा छात्रावास निर्माण सम्पन्न भएको थियो ।

सरकारी तवरबाट कुनै सहयोग नरहेको क्याम्पसमा प्राध्यापकको तलबमा मात्रै रु ३५ लाख खर्च हुने गरेको छ । चन्दा, दान र विद्यार्थीको शुल्कबाट प्राध्यापकलाई तलब खुवाउँदै आइएको छ । “गरिब तथा ग्रामीण भेगका विद्यार्थी अध्ययन गर्ने भएकाले निकै कम शुल्क मात्रै लिने गरेका छौ,” क्याम्पस प्रमुख हड्खलेले भन्नुभयो ।

उहाँका अनुसार क्याम्पसको शिक्षाको गुणस्तरका कारण यस वर्ष क्याम्पसमा पाँच सय विद्यार्थी थपिएका छन् । हाल क्याम्पसमा दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा छन् ।

क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । “गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ”, प्रमुख हड्खलेले भन्नुभयो, “सरकारी क्षेत्रबाट क्याम्पसको लागि ठूलो सहयोग छैन । समुदायकै व्यक्तिको प्रयासले क्याम्पस आज यो अवस्थासम्म आइपुगेको छ ।”

क्याम्पसमा बिबिए र बिआइसिटीको अध्ययन शुरु भइसकेको छ भने बिएस्सीको तयारी गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले शैक्षिक गुणस्तर मापन (क्युएए) को मान्यता प्राप्त गरिसकेको छ । विसं २०४३ मा आदिकवि भानुभक्त क्याम्पस स्थापना भएको थियो । जुन बेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए ।

क्याम्पस सञ्चालनको शुरुवातमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो । क्याम्पसमा लायन्स क्लबकै एक लाख डलरको सहयोगमा विज्ञान प्रयोगशाला भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।