१५ चैत्र २०८०, बिहीबार

बिहीबार बिहान दुई घन्टा ४९ मिनेट लामो सूर्यग्रहण लाग्ने

d47409f304032bd6bcf37145993f5fe5 w1000 h500 cp

आगामी बिहिबार पुस १० गते औँषीका दिन बिहान खण्डग्रास आधा ढाक्ने सूर्यग्रहण लाग्दै छ। बिहान ८ बजेर ४२ मिनेट जाँदा सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट ग्रहण शुरु हुनेछ। बिहान ८ बजेर ४२ मिनेटमा सुरु हुने ग्रहण १० बजेर १ मिनेटसम्म मध्य र ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ।

पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ। सूर्यग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण काम गर्नु उपयुक्त नहुने गौतमले बताए। यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो। यसपटक भने क्यालेन्डरमा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने कुनै निर्णय भएको छैन

पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाँयाँ पृथ्वीमा पर्दा सूर्यग्रहरण देखिन्छ। यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ। सघन छाया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात खग्रास देखिन्छ।

विरल छाया परेको भागमा आंशिक सूर्यग्रहण अर्थात खण्डग्रास देखिन्छ। सूर्यग्रहणलाई नांगो आँखाले हेर्न नहुने विज्ञहरुले बताएका छन्। विज्ञका अनुसार नांगो आँखाले हेर्दा आँखाको दृष्टि पनि गुम्न सक्छ।

ग्रहणको समयमा के गर्न हुन्छ र के गर्न हुँदैन ?

  • चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्नु पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।
  • ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा यौन सम्बन्ध राख्न नहुने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् ।
  • ग्रहणको समयमा भोजन पनि गर्नु हुँदैन । कि ग्रहण अगावै खाना खानुहोस् अन्यथा ग्रहण पश्चात मात्र खाना खानुपर्छ भन्ने मान्यता राखिन्छ । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।
  • ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पूजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ । ग्रहण समयमा पूजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्नुपर्छ । ग्रहणको समयमा केही मन्त्रको भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।
  • ग्रहणको समयमा गर्भवती महिलाले घरबाहिर निस्कन नहुने शास्त्रमा उल्लेख छ । गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ ।
  • ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो मानिन्छ ।

कुन–कुन राशीले हेर्न मिल्छ ?

ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।