१५ चैत्र २०८०, बिहीबार

धरौटीमा रिहा हुन मानेनन् विप्लवका दाजुसहित २१ नेता, कारागारमै बस्ने निर्णय

DSC 1003

दाङ-देउखुरी जिल्ला अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएका विप्लव नेतृत्वका २१ नेता(कार्यकर्ताले रिहा हुन इन्कार गरेका छन् ।

अदालतको रिहा हुने आदेशपछि पनि कारागार नै रोज्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ चन्दसमेत छन् ।

गत कात्तिक २९ मा दाङबाट पक्राउ परेका प्रतिबन्धित विप्लव नेतृत्वका २१ नेता-कार्यकर्तालाई जनही १५ हजार रुपैयाँ धरौटीमा छाड्न दाङ-देउखुरी जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापाको इजलासले सोमबार आदेश दिएको थियो ।

अदालतको यस्तो आदेशपछि रिहा हुनुपर्नेमा सबै २१ जनै विप्लवका नेता-कार्यकर्ताले कारागारमै बस्ने निर्णय गरेका हुन् ।

अदालतको आदेशपछि पनि पुनः पक्राउ गर्ने उद्देश्यले अदालत परिसर बाहिर प्रहरी तैनाथ भएपछि रिहा नभएर कारागार नै रोजेको विप्लवका दाजु वीरजंगले बताए ।

‘१५ हजार धरौटी बुझाएर पनि पुनः प्रहरीले पक्राउ गर्ने देखिएपछि रिहा नभएर कारागार जाने निर्णय गरेका हौं’, अदालत परिसरमा वीरजंगले सञ्चारकर्मीसँग भने ।

सरकारले विप्लव समूहमा संलग्नको आरोपमा यसका नेता(कार्यकर्तालाई पक्राउ गर्दै मुद्दा चलाएको छ । सरकारको मुद्दा सामना गर्दै अदालतबाट रिहा हुने आदेश पाएकाहरूलाई पनि प्रहरीले पुनः अदालत बाहिरबाटै पक्राउ गर्ने गरेको छ । देशव्यापी रूपमा देखिएको यो प्रवृत्ति दाङमा पनि दोहोरिने भएपछि विप्लवका दाजुसहितका नेता(कार्यकर्ता दाङ(देउखुरी अदालतको आदेशपछि पनि रिहा नभएका हुन् ।

गत कात्तिक २९ गते विप्लव समूहको राप्ती व्युरो बैठक बसिरहेका बेला प्रहरीले नेपाल(भारत सीमामा पर्ने दाङको राजपुर गाउँपालिका(४, मगराइना गाउँबाट यसका मध्य(पश्चिम व्युरो इञ्चार्ज वीरजंगसहितका २१ नेता-कार्यकर्तालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध संगठित अपराध गरेको आरोपमा मुद्दा चलाइएको थियो ।