१६ चैत्र २०८०, शुक्रबार

१९७ मा फोन गरेर नम्बर माग्‍नुपर्ने बाध्यताको अन्त्य

१९७ मा फोन गरेर नम्बर माग्‍नुपर्ने बाध्यताको अन्त्य

नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । टेलिकमले थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने बाध्यता अन्त्य गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब कम्पनीको वेबसाइटबाट पनि आवश्यक नम्बर हेर्न सकिनेछ । नेपाल टेलिकमको वेब पेजमार्फत् यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । यसका लागि कम्पनीको वेबसाइटमा लगअन गर्नुपर्छ । त्यसपछि त्यहाँ दिइएको टेलिकम इन्क्वेरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्‍न सकिन्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।

विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्‍नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वेरी प्रणाली सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रूपमा सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका डाटा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएका कारणले गर्दा पनि ग्राहकलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको टेलिकमले प्रेस वक्तव्यमा उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार...