३ माघ २०७७, शनिबार

करिडोरले फेरेको मुहार

दुई वर्ष पहिलासम्म बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं ८ छिस्ती सडक सञ्जालविहीन थियो । जिल्ला सदरमुकाम बागलुङ बजारबाट दक्षिण जोडिएको सडक कुश्मीशेरा बजार हुँदै बरेङतर्फ लाग्छ । जिल्लाको दक्षिण क्षेत्रको समेत दक्षिणमा पर्ने छिस्तीमा कुनै सडक सञ्जाल पुगेको थिएन । विकासका पूर्वाधारमा प्रमुख मानिने कच्ची सडकसमेत नभएकाले यहाँका सर्वसाधारण समस्यामा थिए ।

छिस्तीका प्रकाश पौडेल अहिले बुलेरो पिकअप भ्यान चढेर घरमै पुग्नुहुन्छ । सडक सञ्जाल नभएका कारण यातायातका साधन प्रयोग गर्न उहाँलाई यसअघि पर्वतको फलेवास वा जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजार पुग्नुपर्ने बाध्यता थियो । विसं २०७५ मा कालिगण्डकी करिडोरको बागलुङ खण्डमा सामान्य मार्ग खोल्ने काम सकिएपछि छिस्तीले पहिलोपटक सडक देखेको हो ।

साविकका गाउँ विकास समिति हुने बेला कृषि सडक नाम दिइएको सडक छिमेकी गाविस जैदीमा पुगेर रोकिएको थियो । अहिले जैदी जैमिनी नगरपालिकाको वडा नं ७ कायम भएको छ । स्थानीय सडक नाम दिइएको सडकसमेत जैदीकै व्यार्थलामा पुगेको थियो । करिडोर पुगेपछि छिस्तीमा पहिलो पटक सडकको पहुँच मात्रै विस्तार भएन, यहाँका बस्तीबस्तीमा सडक पु¥याउने लहर चल्यो । दुई वर्षका अवधिमा वडाका सबै बस्ती सडक सञ्जालसँग जोडिएको वडाअध्यक्ष विजय अधिकारीले बताउनुभयो ।

साविकका गाउँ विकास समिति हुने बेला छिस्ती बागलुङका ५९ गाविसमध्ये तेस्रो ठूलो गाविस हो । सङ्घीय संरचना लागु भएपछि पनि नगरपालिकाको एउटा मात्रै वडा कायम भएको छ । करिडोरले सदरमुकाम र पालिका मुकामसँग जोडिएपछि अहिले छिस्तीका गाउँमा पुग्ने दर्जनौँ सडक बनेका छन् । “ठाउँठाउँबाट कच्ची ट्रयाक खोलेर करिडोरसँग सडक जोडिएको छ, अहिले सडकको समस्या रहेन”, स्थानीयवासी प्रकाशले भन्नुभयो, “हामीलाई सडक देख्न राष्ट्रिय गौरवकै आयोजना आउनुप¥यो ।”

करिडोरको सामान्य मार्ग खुलेपछि छिस्तीमा मात्रै नभई जैमिनीका वडा नं ५, ६ ७ र ८ मा पुग्ने दर्जनभन्दा बढी सडक करिडोरसँग जोडिएका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले करिडोरसँग नगरपालिकाको ठूलो अपेक्षा रहेको नगर प्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । करिडोरसँग जोडेर गाउँका सडकको विकास गरिइरहेको उहाँले बताउनुभयो । अहिले नेपाली सेनाको निर्माण कार्यदलले करिडोर स्तरोन्नतिको काम गरिरहेको छ ।

जैमिनी नगरपालिकाले बाह्रै महिना चल्ने गरी साना वडामा एक र ठूला वडामा दुई सडकलाई दिगो सडक मानेको छ । सोहीअनुसार स्तरोन्नति भइरहेको करिडोरमा जोडेर नगरपालिकाले पाँच दिगो सडक निर्माण गरेको छ । “करिडोर नभएको भए मूल सडकसमेत हाम्रो जिम्मेवारी हुन्थ्यो,” नगर प्रमुख पौडेल भन्नुहुन्छ, “मूल सडक भएकाले दिगो सडकका लागि मात्रै हाम्रो ध्यान केन्द्रित भएको छ ।” वर्षा याममा पछिल्लो पटक छिस्ती पुगेको कृषि र स्थानीय सडक बिग्रिँदासमेत करिडोरले भर नकाटेको स्थानीयवासीको भनाइ छ ।

करिडोर बनेपछि जैमिनीले पालिका मुकामलाई जिल्ला सदरमुकामसँग जोड्ने मूल सडकसमेत यसैलाई मानेको छ । सङ्घीय सरकारसँग साझेदारी गरेर कालीगण्डकी करिडोरको जैमिनी घाटदेखि पालिका मुकाम कुश्मीशेरा बजारसम्म नयाँ सडक बनाइएको छ । समपूरक अनुदानमा साझेदारी गरेर नगरले सो सडक कालोपत्रेको कामसमेत थालेको नगर उपप्रमुख लीला रानाले बताउनुभयो ।

“यो हाम्रो आर्थिक उन्नतिको मार्ग हो, पर्यटन र व्यवसायका लागि करिडोरसँग जोडेर पूर्वाधार विकासका काम भइरहेका छन्”, उहाँले भन्नुभयो, “आर्थिक गतिविधि सञ्चालन र त्यसबाट लिन सकिने उपलब्धि यो सडकसँग जोडिएको छ ।” करिडोरसँग जोडिएका बस्ती तथा सहायक सडक आसपासमा कृषि उद्यमको सम्भावना नगरपालिकाले देखेको छ । “दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्रीको सम्भावना देखेका छाँ, हाम्रा किसानले सोहीअनुसारको तयारी थाल्नुभएको छ”, नगर प्रमुख पौडेल भन्नुभयो, “कोरला र त्रिवेणी जोड्ने सडकले बजारीकरणमा सहज बनाउँछ ।” करिडोर सञ्चालनमा आएपछि जैदीको न्वारमा ससानो बजार विस्तार भएको छ । वडा नं १ कुश्मीशेराको जैमिनीघाट र वडा नं ८ को छिस्तीमा समेत बजार विस्तार भएको पौडेलले बताउनुभयो ।

करिडोरले बागलुङ नगरपालिका खण्डमा समेत ठूलो प्रभाव पारेको छ । बागलुङ – १४ नारायणस्थानस्थित बलेवा विमानस्थलको सञ्चालनमा करिडोर लाइफलाइनका रुपमा रहेको स्थानीयवासी भरत पौडेल बताउनुहुन्छ । “यो सडक पक्की हुँदा विमानस्थल र यहाँको व्यापार व्यवसायमा ठूलो सहयोग गर्छ”, भरत भन्नुहुन्छ, “ट्रयाक खुल्दा मात्रै यहाँको मुहार फेरिएको महसस भएको छ ।” कालीगण्डकी नदीमाथि बलेवा र कुश्मा जोड्ने गरी निर्माण भएका लामा र अग्ला झोलुङ्गे पुल, बञ्जी जम्प तथा बलेवा क्षेत्रमा रहेका पर्यटकीयस्थलको विकास तथा प्रचारमा सो सडकले सहयोग गर्ने स्थानीयवासी बताउँछन् ।

करिडोर सञ्चालनमा आएपछि सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोरला पुग्न सहज भएको छ । यद्यपि यो सडकको कयौँ स्थानमा थप स्तरोन्नतिको काम चलिरहेको छ । यो सडक हुँदै भारतीय पर्यटक कालीगण्डकी किनारैकिनार भएर मुक्तिनाथ र चिनियाँ पर्यटक सोही मार्ग हुँदै लुम्बिनी पुग्ने भएकाले आसपासका क्षेत्रमा व्यापार व्यवसाय र उद्यमको विकास हुने बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्री बताउनुहुन्छ । भारतको सुनौली नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने ३४५ किलोमिटर दूरीको करिडोर अहिलेसम्मकै छोटो मार्ग भएको करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराई बताउनुहुन्छ । कालीगण्डकी करिडोर मुख्य सडक सञ्जाल बनेपछि जैमिनी – ८ छिस्ती, ७ जैदी, ६ अर्जेवा, ५ बिनामारे, १ कुश्मिशेरा, बागलुङ – १४ नारायणस्थान, १२ अमलाचौर, १० भकुण्डे र १३ पैयुँपाटालगायत दर्जनभन्दा बढी क्षेत्र सुगमसमेत भएका छन् ।

करिडोरका कारण यहाँको दिनचर्या नै फेरिएको छ । पुर्खौंँदेखि भारतसँग जोडिएका बजारबाट लुगाफाटो, नुनतेललगायत दैनिक उपभोग्य वस्तु ल्याएर गुजारा चलाउनेहरूले अहिले व्यावसायिक सोच बनाउन थालेका छन् । “सडक छेउको व्यापार राम्रै हुन्छ, पहिले बाउबाजे नुन लिन बटौली (बुटवल) जान्थे, अहिले बुटवल जानेलाई खाजा खुवाउन पाइएको छ”, जैदिममा कोरिडोर छेवैमा होटल व्यवसाय गर्ने तमसम थापाले भन्नुभयो ।

करिडोरलाई व्यापारिक मार्गका रूपमा विकास गरेर विभिन्न ठाउँमा बस्ती बसाई बागलुङलाई व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने स्थानीयवासीको बुझाइ छ । जिल्लाका पुराना बजारभन्दा करिडोर छेवैमा रहेका नयाँ बस्ती र सडक आसपास बढी व्यापार हुन थालेको व्यापारी बताउँछन् । करीब ४३५ किमी दूरीको करिडोर नेपालको आर्थिक –सामाजिक विकासको मेरुदण्ड हुने देखिन्छ । विसं २०३९ देखि साधारण मार्ग खोल्न थालिए पनि लामो समय त्यत्तिकै अल्झिएको करिडोरको बागलुङ खण्डको काम रु ५० करोड खर्चेर नेपाली सेनाले सकेको हो । अहिले दोस्रो चरणको स्तरोन्नतिको काम चलिरहेको छ ।