७ बैशाख २०८१, शुक्रबार

दामन भ्यूटावर चार महिनादेखि बन्द : पर्यटक खिन्न हुँदै फर्किदै

Daman View tower

मकवानपुरको पर्यटकीय क्षेत्र दामनको भ्यूटावरका बारेमा अपरिचित कमै होलान् । हाजिरी जवाफ प्रतियोगिता र लोकसेवा परीक्षामा समेत सोधिने प्रश्न हो– नेपालको शीतल भ्यूटावर । दामनमा रहेको यो शीतल भ्यूटावर अहिले बन्द छ । गत असोजदेखि भ्यूटावर पूर्णरूपमा बन्द रहेको दामन बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो ।

कोभिड–१९ का कारण लकडाउन घोषणा भएयता भ्यूटावरमा आउने पर्यटकको सङ्ख्या कमी हुँदै गएको थियो । लकडाउन खुकुलो भएसँगै विस्तारै पर्यटकको सङ्ख्या वृद्धि हुन थाले पनि भ्यूटावरमा रहेका दूरविनमा समस्या भएको जनाउँदै ग्राहकले व्यापक गुनासो गर्न थालेपछि भ्यूटावर व्यवस्थापनले टावर बन्द गरेको हो । भ्यूटावरसँगै सञ्चालनमा रहेको रिसोर्ट पनि बन्द भएको छ ।

दामन भ्यूटावर एण्ड रिसोर्टका सञ्चालक प्रकाश होटल इन्टरनेश्नलका प्रतिनिधि भरत गोपालीले भ्यूटावरमा नयाँ दूरविन राख्न र टावर मर्मत गर्न नगरपालिकालाई पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले टावर बन्द गर्नुपरेको जानकारी दिनुभयो । थाहा नगरपालिकाले दामन भ्यूटार र रिसोर्ट दुवै सञ्चालन गर्ने गरी विसं २०७५ कात्तिक १५ गते प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका लागि ठेक्कामा दिएको थियो । कूल रु ४७ लाख ६३ हजारमा ठेक्कामा लिएकामा नगरपालिकाले नयाँ दूरविन उपलब्ध नगराएको, अन्य पूर्वाधार निर्माणमा पनि सहयोग नगरेको र कोभिड–१९ का कारण चल्न नसकेको जनाउँदै सो इन्टरनेश्नलले सम्झौतामा पुनःविचार गर्न माग गर्दै आएको छ ।

विसं २०२१ मा तत्कालीन राजा महेन्द्रले रानी इन्द्र राज्य लक्ष्मीको आग्रहमा भ्यूटावरको निर्माण गर्नुभएको थियो । नेपालकै पहिलो भ्यूटावर टावरको रूपमा रहेको भ्यूटावरको नाम शीतल भ्यूटावर राखिएको थियो । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टले समेत होटल सञ्चालन गर्नुभएको भ्यूटावरमा दुई शक्तिशाली दूरविन राखिएका थिए । दूरविनबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जन बढी हिमशृङ्खला नजिकै देख्न सकिन्थ्यो ।
थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्री भ्यूटावरमा रहेको दूरविन करिब एक दशकदेखि नै काम नलाग्ने अवस्थामा रहेको जानकारी दिनुहुन्छ । शुरुमा पर्यटन विभागको मातहतमा रहेको टावर डेढ दशकअघिदेखि जिल्ला विकास समितिले ठेक्कामार्फत सञ्चालन गर्दै आएको थियो । विसं २०७२ को संविधानले स्थानीय स्रोतको सञ्चालनमा स्थानीय तहलाई अधिकार प्रदान गरेपछि जिल्ला विकास समितिले थाहा नगरपालिकालाई भ्यूटावरको स्वामित्व हस्तान्तरण गरेको थियो । भ्यूटावर नगरपालिकाको स्वामित्वमा आएपछि जननिर्वाचित प्रतिनिधिको नगरसभाले भ्यूटावरमा राख्न दूरविन खरिद गर्नका लागि बजेट विनियोजन गर्दै आएको छ । अहिलेसम्म दूरविन ल्याउन सकेको छैन ।

गत आर्थिक वर्ष २०७६÷७७ मा दूरविन खरिद गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको भए पनि पर्यटन मन्त्रालयले नै उपलब्ध गराउने आश्वासन पाएपछि बजेट संशोधन गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिनुभयो । नगरपालिकाले चालु आव २०७७÷७८ का लागि प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत भ्यूटावर मर्मत शीर्षकमा रु चार लाख बजेट छुट्याएको छ । भ्यूटावरमा नयाँ दूरविन राख्न दूरविन खरिदको प्रक्रिया शुरु गरिएको उहाँले बताउनुभयो ।

अहिले भ्यूटावर र रिसोर्ट दुवैको मूलढोकामा ताल्चा झुण्ड्याइएको छ । दामनको पर्यटकीय मनोरम हावापानीमा रम्दै भ्यूटावरमा रहेको दूरविनबाट दृश्यावलोकन गर्ने योजना बनाएर दामन आउने पर्यटक खिन्न हुँदै फर्किने गरेका छन् । “पर्यटक भ्यूटावर चढ्न भनेर आउँछन्, मूलढोकामा ताला झुण्डिएको देखेर खिन्न भएर फर्किन्छन्”, भ्यूटावर नजिकै होटल सञ्चालन गर्दै आउनुभएका सुरथ अधिकारीले भन्नुभयो ।

अर्का होटल सञ्चालक दावा शेर्पाका अनुसार दामनको पर्यटनको आधा हिस्सा भ्यूटावरले धानेको थियो । नेपालकै एक मात्र पर्वतीय वनस्पति केन्द्र, शीतोष्ण वागवानी केन्द्र, वनभोजस्थल, फोटो खिच्ने (सेल्फी) डाँडा, नेपालकै लामो भ¥याङ आदि दामनका पर्यटकीय आकर्षणका केन्द्र भए पनि अधिकांश पर्यटक भ्यूटावर भएकै कारण आउने गरेको होटल व्यवसायीको भनाइ छ । भ्यूटावर चढ्ने र दृश्यावलोकन गर्ने योजनाले आएका पर्यटक स्थानीय होटल तथा रिसोर्टमा बस्दा स्थानीय व्यापार बढ्ने गरेको थियो । अहिले खास अवसरमा बाहेक दामनमा पर्यटक आउनै छाडेको होटल व्यवसायीको गुनासो छ ।

गर्मीयाममा अति गर्मी र जाडोयाममा हुस्सुले निस्सासिँदो तराई र सीमावर्ती भारतीय पर्यटकका लागि दामन उपयुक्त गन्तव्य हो । काठमाडौँको धुवाँ, धुलो र भीडभाडबाट मुक्त भएर प्राकृतिक सुन्दरतासँगै आनन्द लिन पनि दामन उपयुक्त छ । तर भ्यूटावर बन्द हुँदा यस वर्ष नयाँ वर्षमा समेत दामन पर्यटकको गन्तव्य बन्न नसकेको थाहा होटल एशोसिएशनले जनाएको छ । भ्यूटावर सञ्चालन गरेर दूरविनको व्यवस्था मात्रै गर्न सके पनि दामन पुरानै लयमा फर्किन सक्ने एशोसिएशनका अध्यक्ष खत्रीले बताउनुभयो ।

    सम्बन्धित समाचार...