८ बैशाख २०८१, शनिबार

दैलेख–सुर्खेत सडक खण्डमा टाइमकार्डको नियममा हेल्चेक्र्याइ

dailekh Time Card

दैलेख–सुर्खेत सडक खण्डमा टाइमकार्डको नियम लागु गरेसँगै २–३ महिना सवारी चालकले टाइमको ख्याल गर्दै सवारी चलाउने गरेका थिए ।

सडक दुर्घटना कम गर्ने उद्देश्यले चालकलाई टाइमको ख्याल नगरी सवारी चलाएमा कारबाही भोग्नुपर्ने थियो । कारवाही भोग्ने डरले पनि सवारी साधन निश्चित समयमा भनेको ठाउँमा पु¥याइन्थो । यदि टाइमा नपुगेमा कारण देखाउनुपर्ने थियो । यस्तो नियम लागु गरे पछि केही महिना त सवारी चालकले नियमको पालन गरे ।

केहि बर्ष पहिले पनि दैलेख–सुर्खेत सडकमा टाइमकार्डको ब्यवस्था गरेर बिचैमा अलपत्र परेको यो नियम सवारी दुर्घटना बढ्दै गएको समस्यालाई ध्यानमा राखी गत बर्ष जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले पुन टाइम कार्डको ब्यवस्था गरे दैलेख–सुर्खेत सडक खण्डमा सवारीको चाप बढेसँगै लागु गरिएको टाइमकार्ड बिचैमा तुहिएको छ ।

time card Hari oli
गत बर्ष जिल्ला ट्राफिक कार्यालय दैलेखले टाइमकार्ड लागु गर्नेको लागि दैलेख बसपार्कमा आयोजनामा आफ्नो भनाइ राख्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरीबहादुर वली । फाइल फोटो

सुर्खेत प्रहरीसँग समुन्वय गरि टाइमकार्ड लागू गरिएको प्रहरी बताए पनि दैलेखबाट वली सरुवा भई सकेका छन् । उनि संगै दैलेखमा रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) उपेन्द्र आचार्य सुर्खेतमा ट्राफिक प्रमुखको रुपमा कार्यरत छन् । नियम बन्छन्, बनेका नियम बिच्चैमा तुहिने प्रबृतिले आम नागरिक निराश बनेका छन् । नियम बन्ने तर कार्यान्वयन नहुने प्रबृति बढ्दै गएको दैलेखका नागरिकले गुनासो गरेका छन् ।

दैलेख जिल्ला भित्र रहेको दैलेख–सुर्खेत सडक खण्ड भित्रको सवारी आवागमनलाई प्रभावकारी र नियमनकारी बनाउन, सवारी दुर्घटना न्युनिकरण गर्ने, सवारीको गति सिमीतता दिने, क्षमता भन्दा बढी यात्रुहरु राख्न नदिने उद्देश्यका साथ यात्रुहरुको हित र सुरक्षाको लागी टाइमकार्ड लागू गरिएता पनि यसको नियमितता नभएको पाइएको छ ।

भर्खरै मात्र यस खण्डको रातानाङ्गला देखि झण्डै एक किलोमिटर अगाडी तिव्र गतिमा आईरहेको ना ७ ख ५०७९ नम्बरको ट्रेलरले सामाजिक सेवा केन्द्र (सोसेक)मा कार्यरत पूर्णबहादुर महतरा र गुराँस गाउँपालिका–८ का श्यामसुन्दर खड्का सवार मोटरसाइकल आफ्नै साइडमा रोकिएको अवस्थामा ठक्कर दिँदा महतारा र खड्का घाइते भएका छन् तिब्र गतिमा आएको ट्रेलरले मोटरसाइकल चालक महतराको हातमा ठक्कर दिएपछि मोटरसाइकल करिब एक सय मिटर तल खसेको छ ।

सवारी चालकहरु सवारी साधन ठोकिए सहानुभुति दिनुको साटो भाग्ने चेस्टा गर्छन् । ट्रेलर चालकले पनि गति झन तिब्र बनाई भागेर सुर्खेत पुगे पछी प्रहरीले निगरानी बढाउँदा उनि अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा छन् ।

ट्रेलरको ठक्करबाट महताराको दायाँ हात भाँचिएको छ । खड्काको टाउको र आखाँमा चोट लागेको छ । महतारा र खड्का दुबैको देउती हस्पिटल सुर्खेतमा उपचार भईरहेको छ । गाडी (ट्रेलर) धनी अहिलेसम्म पनि सम्पर्कमा नआएको बुझिएको छ ।

मोटरसाइकलाई ठक्कर दिने गाडी चालकलाई कानूनी कार्वाहीको दायरामा ल्याउन आलटाल भईरहेको महताराका आफ्न्तले बताएका छन् । यता दैलेख सुर्खेत सडक खण्डमा यात्रा गर्ने यात्रुहरुले ट्रक, टिपर तथा ट्रेलरको अत्याधिक गति नियन्त्रण गर्न टाइम कार्ड अनिवार्य लागु गरिनुपर्ने माग राखेका छन् ।

ट्रक, टिपर तथा ट्रेलर चालकले चालकले ट्रिप अनुसारको ज्याला पाउने भएकाले आपसी प्रतिष्पर्धा र अत्याधिक गतिमा टिपर हाँक्ने गर्छन् ।

यस्तो छ ट्राफिक कार्यालय दैलेखले बनाएको सवारी आगमन समय तालिका

गत बर्ष लागु गरिएको टाइम कार्ड (सवारी आगमन समय तालिका) अनुसार यात्रुवाहक सवारी साधनले दैलेख सदरमुकामदेखि माथिल्लो डुङ्गेश्वरसम्म १६ किमि ४५ मिनेट, माथिल्लो डुङ्गेश्वरदेखि रानिमत्ता १६ किमि एक घण्टा १५ मिनेट र रानीमत्तादेखि सुर्खेत बसपार्क २५ किमि एक घण्टा ३० मिनेटमा पुरा गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

टाइम कार्ड लागु गर्दा तोकिएको समयभन्दा चाँडो दूरी पार गरेमा कारबाही गर्ने भन्दै प्रचार गरिएपनि अहिले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दैलेख मौन बसेको छ ।