७ बैशाख २०८१, शुक्रबार

निर्वाचन लोकतान्त्रिक बाटो : मुख्यमन्त्री गुरुङ

Prthiv subba Gurung

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनमा जाने कुरा असंवैधानिक नभई लोकतान्त्रिक बाटो भएको बताउनुभएको छ ।

लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो चौतारी ९१ं.४ मेगाहर्जको १०औँ वार्षिक साधारणसभाको आज बेँसीशहरमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले समृद्धिको बाटोमा रहेको सरकारलाई काम गर्न नदिने र प्रधानमन्त्रीलाई थाहै नदिइ अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्रीसँग संसद् विघटनबाहेक अर्को बाटो नभएको बताउनुभयो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरेका कारण अहिलेको अवस्था आयो ।”

मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टीका धेरै प्रधानमन्त्री भए पनि मनमोहन अधिकारी र केपी शर्मा ओलीले मात्र जनपक्षीय काम गरेको बताउनुभयो । “कमजोर सरकार भए पनि मनमोहनले भारतमा असमान सन्धि पुनरावलोकनको कुरा उठाएर भारतलाई झस्काउनुभयो । त्यसपछि समृद्धिका लागि काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओली मात्र हो ।”