१२ बैशाख २०८१, बुधबार

पक्की पुल निर्माणको सम्झौता

pul
फाइल फोटो

पुल अभावका कारण आवतजावतमा समस्या झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलामा रु ३३ करोडको लागतमा पाँच पक्की पुलको निर्माणका लागि आज सम्झौता गरिएको छ ।

मनहरि गाउँपालिका तथा पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीबीच आज सम्झौता भएको गाउँपालिकाले जनाएको छ । विभिन्न चार स्थानमा पुलको निर्माण गर्न हिराचन बानियाँ जेभी र एउटा पुलको निर्माणका लागि भैरवनारायण जेभीलाई ठेक्का दिइएको बताइएको छ ।

गाउँपालिकाको लागि टार र वडा नं ४ को टुग्रा जोड्ने पुल, वडा नं ४ को गोलघर र वडा नं ३ को मिलडाँडा जोडने पुल र कालिदमार जोड्ने पुल तथा वडा नं १ र २ लाई जोडने गरी पक्की पुल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

हाँडीखोला क्षेत्रमा खोला तथा खहरेमा पुल अभावको समस्या भोग्दै आएको त्यस क्षेत्रमा २४ महिनाभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । ती पुलको निर्माणपछि मनहरि गाउँपालिका–१ र २ का बासिन्दालाई हेटाँैडा उपमहानगरपालिका भएर मनहरि गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष उप्रेतीको भनाइ छ ।