११ बैशाख २०८१, मंगलवार

‘इन्जिनीयर अफ इन्जिनीयरिङ एजुकेशन’ प्रकाशित

bhola thapa ku

नेपालमा इन्जिनीयरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएको प्रा डा भोला थापाद्वारा लिखित ‘इन्जिनीयर अफ इन्जिनीयरिङ एजुकेशन’ अङ्ग्रेजी पुस्तक बजारमा आएको छ ।

काठमाडौँ विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा थापाले नर्वेली प्रा डा इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखेको पुस्तकमा काविविको इन्जिनीयरिङ कार्यक्रमको प्रारम्भदेखि अहिलेसम्मको विकासलाई समेटिएको छ । पुस्तकमा नर्वेमा आफ्नो विधामा इन्जिनीयरिङ शिक्षालाई शिखरसम्म पु¥याएका प्रा योहान्सनलाई नेपाल ल्याएर काविविलाई सघाएको र मार्गदर्शन गरेको योगदानको सेरोफेरो छ ।

काविविका पूर्वउपकुलपति डा सुरेशराज शर्माले पुस्तक ऐतिहासिक रहेको जनाउँदै प्रायः इन्जिनीयरिङ र चिकित्सा विषय पढ्नेहरु अध्यापन पेशाभन्दा विकासका अन्य फाँटतिर जान चाहने क्रम विकासोन्मुख देशहरुमा मात्र नभई अन्यत्र पनि भएको जानकारी दिनुभयो ।

डा सीताराम अधिकारीले नेपालको इन्जिनीयरिङ शिक्षाको सङ्क्षिप्त ऐतिहासिक झलक पुस्तकमा पढ्न पाइने बताउनुभएको छ । काविविका पूर्वरजिष्ट्रार प्रा डा भद्रमान तुलाधरले पुस्तकमा काविवि इन्जिनीयरिङ शिक्षाको शुरुआत, विकास, विस्तार, सुदृढीकरणको इतिहास र यसमा अहम् भूमिका खेलेका संस्थापक, शिक्षकहरु र इन्जिनीयरका बारेमा चर्चा गरिएको बताउनुभयो ।

सिन्टेफ इनर्जीका भाइस प्रेसिडेन्ट पिटर स्टोइयाले पुस्तकमा नेपालको इन्जिनीयरिङ क्षेत्रको विकासको सन्दर्भलाई सान्दर्भिक ढङ्गले उठान गरिएको उल्लेख गर्नुभयो । लेखक प्राडा थापाले आफूले अनुभव र अनुसन्धानको विषयलाई पुस्तकमा समेट्ने कोसिस गरेको बताउँदै विश्व बैंक, एसियाली विकास बैंक र पूरै सरकार लाग्दा पनि शुरु नभएको इन्जिनीयरिङको शैक्षिक कार्यक्रम काविविमा शुरु हुँदा र सञ्चालन हुँदाको इतिहास महत्वपूर्ण हुनसक्छ भनेर पुस्तक तयार पारिएको जानकारी दिनुभयो ।

प्रकाशक समा थापाले पुस्तकमा काठमाडौँ विश्वविद्यालयको इन्जिनीयरिङ विषयको शुरुआत र त्यसले नेपालमै पारेको प्रभावलाई उधिनेको बताउनुभयो ।

प्रा डा थापा काविवि मेकानिकल इन्जिनीयरिङ विभागका प्राध्यापक हुनुहुन्छ । लेक्चररबाट अध्यापन शुरु गर्नुभएका थापाले असिस्टेन्ट प्रोफेसर र एसोसिएट प्रोफेसर हुँदै प्राज्ञिक क्षेत्रमा लामो यात्रा तय गर्नुभएको छ । उहाँ विभागीय प्रमुख, डिन, रजिष्ट्रार र कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा रहेर प्रशासनिक योगदानसमेत दिँदै आउनुभएको छ । उहाँले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट सन् २००४ मा मेकानिकल इन्जिनीयरिङ विषयमा विद्यावारिधि गर्नुभएको छ । यसअघि प्रा डा थापाको ‘इन्जिनीयरिङ शिक्षाका इन्जिनीयर’ पुस्तक प्रकाशनमा आइसकेको छ ।

    सम्बन्धित समाचार...