१३ बैशाख २०८१, बिहीबार

मकर सङ्क्रान्ति पर्व उत्सव सम्पन्न

janakpur Janaki Mandir

मकर (तीला) सङ्क्रान्ति पर्वका सन्दर्भमा जनकपुरधाममा मकर सङ्क्रान्ति उत्सव सम्पन्न भएको छ ।

सखी बहिनपा मैथिलानी समूहद्वारा आयोजित सो उत्सवमा लोप हुन लागेको पमरिया र जटजटिन लोकनृत्यलगायत संस्कार गीत, मैथिल भोजन र मकर सङ्क्रान्तिमा प्रयोग हुने सामग्री प्रदर्शन गरिएको थियो ।

सूर्य मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङक्रान्ति र तिल खाने दिन भएकाले तिला सङ्क्रान्ति तथा यस दिनदेखि सौरमासको आवधारणा अनुसार माघ महिनाको आरम्भ हुने गरिएकाले माघे सङ्क्रान्ति पर्व भनिने चलन छ । सूर्यको गति यस दिनदेखि उत्तराभिमुख हुने भएकाले यसलाई उत्तरायण पनि भनिन्छ ।

मकर सङ्क्रान्ति पर्वका दिन मातापिताले सन्तानलाई तिल, गुड मिश्रित चामल दाहिने हत्केलामा तीन पटक राखिदिएर खान दिन्छन् । यस बखत मातापिताले तिल बहिदेव भनेर सोध्ने एवं सन्तानले तिल बहने बचनबद्धता जाहेर गर्ने गर्दछन् । मिथिलामा तिल बहिदेव भनेको निःस्वार्थ भावले सेवा गर्नु हो । यसमा मातापितालगायतका मान्यजनले आफ्ना सन्तान सरहका व्यक्तिलाई पनि तिलबही दिने गरिन्छ ।

यो पर्वले आयु, आरोग्य, सम्पति, रूप, गुण, पापबाट मुक्ति हुने मान्यताका साथै सन्तानले मातृपितृ ऋणको भारलाई बहन गर्ने विश्वास गरिन्छ । यस पर्वमा तिल बहिदेव भन्ने शब्दको उच्चारणको अर्थ तिलको ऋण बहन गर्ने हो ? भनेर सोधिने गरेको मान्यता रहेको पाइन्छ ।

कालो तिल विष्णु भगवानको स्वरूप मानिने धारणा रहेकाले यसलाई पवित्र अन्न मानिन्छ । यस पर्वमा तिल र मीठा खान दिँदा भगवान विष्णुको कृपा र माधुर्यले सन्तानको जीवन आप्लावित भइरहने विश्वास रहेको पाइन्छ ।यस पर्वमा खिचडी खाने चलन पनि छ । यस दिनको खिचडीमा मासको दाल तथा अदुवाको प्रयोग गरिएको हुन्छ ।

कतिपय परिवारमा यस दिन कुलदेवताको स्थानमा खिचडीको नैवेद्य चढाइने गरिन्छ । पर्वमा खिचडीका साथ घीउ, पापड, दही र अचार खाने चलन रहेको पाइन्छ । यसका साथै (मुरहीको लड्डु ) चुरलाई (च्युराको लड्डु ) र तिलबा (तिलको लड्डु) का साथै च्युरा र मुरही खाने प्रचलन छ ।सो अवसरमा भौतिक पूर्वाधार राज्यमन्त्री डा डिम्पल झाले मिथिलाको चाडपर्वमा संस्कार, कला, संस्कृति र भाषालाई जीवित राख्ने गुढ रहस्य भएकाले यसको रक्षा र संरक्षण प्रत्येक व्यक्तिको घरबाटै हुनु जरूरी छ भन्नुभयो ।

धार्मिक, सांस्कृतिक र भाषिक प्रहारको क्रम दिनप्रतिदिन बढदै गइरहेको परिपेक्षयमा अंश, बंश, संस्कार र जीवन पद्दतिलाई मर्यादित बनाइ सन्ततिलाई संस्कार, संस्कृति र भाषाप्रति अपनत्व बोधको दायित्व महसुस गराउन सखी बहिनापाको शाखा प्रत्येक जिल्लामा विस्तार गर्नु आवश्यक रहेको धारणा उहाँले राख्नुभयो ।सखी बहिनपा मैथिलानी समूहका संस्थापिका आरती झाले मातृभाषा, संस्कृति, सभ्यताको रक्षा गर्न सबै अग्रसर हुनुपर्ने खाँचो औल्याउनुभयो ।

उहाँले कला, उद्यम, सीपको प्रवद्र्धन र संस्थाको विस्तार तथा विकासका लागि सबै ऐक्यबद्ध हुनु जरूरी छ भन्नुभयो । धनुषा जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झाले पवित्रता, शुद्धता, स्वस्थता, सेवा र दायित्व निर्वाह समाहित रहेको चाडपर्वलाई जीवन्त राख्नु आजको आवश्यकता छ भन्नुभयो ।

उत्सवमा कलाकार अविनाश झा, इसिका भुजेल, पीपही राउत, साजन र कामिनीले पमरिया, जटजटिन र गायिका प्रियाशा चौधरी र सङ्गीता देवले सोहर, पुनम मिश्र, ज्योति झा, कल्यान मिश्र, शिल्पी मिश्र र नीतु झाले भगवती गीत र सखी बहिनपाले सखी बहिनपा गानमा नृत्य प्रस्तुत गरेका थिए ।वरिष्ठ सखी अरूणा मिश्राको अध्यक्षतामा भएको सो समारोहमा अभियानी सुनिता मिश्र, पुनम झा मैथिल, भारती चौधरी, बिन्दु ठाकुर र सीमा चौधरीले उत्सवको उपादेयता र सखी बहिनपाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।