१२ बैशाख २०८१, बुधबार

गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयमा कक्षा ३ सम्म निःशुल्क पुस्तक

gokarneswor nagarpalika

गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको छ । समाजसेवीत्रय दीपकुमार भण्डारी, डा लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको हो ।

हस्तान्तरणका अवसरमा समाजसेवीत्रयले एक स्वरमा सानै कक्षाबाट पठनपाठन संस्कृति शुरु गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने धारणा राख्नुभयो । करिब रु छ लाखको लागतमा कक्षा ३ सम्मका विद्यार्थीका लागि कक्षाकोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तक उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताउनुभयो ।

विज्ञबाट छानिएका पुस्तकको अध्ययनसँगै स–साना विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको उहाँको भनाइ थियो ।शिक्षाविद्समेत रहनुभएका डा आचार्यले विद्यार्थीमा पठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको बताउनुभयो । विद्यार्थीको स्तरअनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको आचार्यको भनाइ थियो ।

अर्का समाजसेवी लामिछानेले शैक्षिकस्तरको अभिवृद्धिबिना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताउनुभयो ।

नगरपालिकामा मङ्गलबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्यलगायतले विद्यार्थीमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयबाट शुरु गरिएको अभियान फलदायी हुनेमा आफूहरु आशावादी रहेको समाजसेवीत्रयको विश्वास छ ।

सहयोगी मन सामुदायिक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम नगरपालिकाले आयोजना गरेको हो ।थुनुवाकक्षलाई पुस्तक चितवन– जिल्ला प्रहरी कार्यालय चितवनमा रहेको थुनुवाकक्षका लागि पुस्तक हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ चितवन शाखाले आफ्नो स्थापना दिवसको अवसरमा पुस्तक हस्तान्तरण गरेको हो ।

महासङ्घले मङ्गलबार आफ्नो १६औँ स्थपना दिवसको अवसरमा कार्यालयमा एक कार्यक्रम गर्दै पुस्तक हस्तान्तरण गरेको हो । संस्थाले ४१३ थान पुस्तक जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई किताब फाइदाजनक हुने बताउनुभयो ।

किताबको पूर्ण सदुपयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ चितवन शाखाका अध्यक्ष उद्योगविक्रम बानियाँले आफ्नो व्यवसायसँगै सामाजिक दायित्व बहन गर्दै पढ्ने संस्कृतिको विकास गर्न पुस्तक सहयोग गरेको बताउनुभयो ।

यस्तै महासङ्घका वाग्मती प्रदेश अध्यक्ष किरणकुमार खनालले थुनुवाकक्षमा रहेका व्यक्तिलाई किताबमार्फत असल बाटोमा हिँड्न अभिप्रेरित गर्नका लागि किताब सहयोग गरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले हिरासतमा रहेका व्यक्तिका लागि पढ्ने व्यवस्था गर्ने जानकारी दिनुभयो । गुरुङले पछिल्लो समयमा अपराधका घटना बढ्दै जाँदा कानूनले मात्र नभएर प्रहरीसँग समुदाय साझेदारी गरी सकारात्मक सोचको विकास गर्न सकेमा अपराधका घटना कम गराउन सकिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यलय चितवनमा ८० थुनुवा अटाउने हिरासतकक्ष रहेको छ भने हाल ५२ विभिन्न मुद्दा खेपिरहेका आरोपित छन् ।