७ बैशाख २०८१, शुक्रबार

मतदानस्थल थप्न सुझाव

District Election Commission Taplejung

सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषण गरेसँगै जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङ तयारीमा जुटेको छ । ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलले केही ठाउँमा मतदानस्थल थप गर्नुपर्ने निर्वाचन कार्यालयलाई सुझाव दिएका छन् । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकमा सहभागी जनप्रतिनिधि तथा दलका प्रतिनिधिले मतदाता सङ्ख्या साथै भौगोलिक बनावटका कारण मतदानस्थल थप गर्नुपर्ने सुझाव दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङको आयोजनामा आज बसेको बैठकमा मतदातालाई सहज हुने गरी मतदानस्थल थप गर्नुपर्ने साथै निर्धारण गर्नुपर्नेमा सहभागीको जोड थियो । जनप्रतिनिधि तथा दलका प्रतिनिधिले कुनै ठाउँमा मतदानस्थल पुग्नलाई मतदाताले घण्टौँ मात्र नभई एक दिन पूरै हिँड्नुपर्ने अवस्थासमेत रहेकाले त्यस्तो ठाउँमा मतदानस्थल थप गर्नुपर्ने बताएका हुन् ।

जिल्लाको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा र वडा नं ८ दोखुमा मतदानस्थल थप्नुपर्ने जिल्ला निर्वाचन कार्यालयलाई सुझाव दिइएको छ । फराकिलो भौगालिक बनावट र मतदाता सङ्ख्या दुवै अवस्थाका आधारमा मतदानस्थल थप गर्नुपर्ने आवश्यक रहेको नगरप्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो । यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप, सिरिजङ्घा गाउँपालिका–१ सिनाम, वडा नं २ आम्बेगुदिन, सिदिङ्वा गाउँपालिका–३ आङ्खोप, आठराई गाउँपालिका–२ फूलबारी र वडा नं ३ हाङ्पाङमा पनि मतदानस्थल थप्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

मिक्वाखोला गाउँपालिका–५ पापुङ र वडा नं ४ साँबा तथा मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा पनि मतदान केन्द्र थप गर्नुपर्ने स्थानीय जनप्रतिनिधिले बताएका छन् । उक्त क्षेत्रमा मतदाता सङ्ख्याभन्दा पनि विकट तथा फराकिलो भौगोलिक बनावटका कारण मतदानस्थल थप्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिको मतदानस्थल थप्नुपर्ने र परिवर्तन गर्नुपर्ने सुझाव आए पनि आजको बैठकमा भने कुनै निर्णय नगरिएको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले बताउनुभयो । मतदानस्थल तथा केन्द्र निर्धारणबारे छलफल भएको र पुनः अर्को बैठक बसेर औपचारिक निर्णयपछि मात्र स्थल साथै केन्द्र थपसम्बन्धी निर्वाचन आयोगमा सिफारिस गरिने चापागाईँले बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी मोहनप्रसाद कोइरालाले न्यूनतम एक हजार बढी मतदाता सङ्ख्या भएको ठाउँमा मतदानस्थल थप गर्न सकिने व्यवस्था रहेको जानकारी दिनुभयो । यसअघि विसं २०७४ मा निर्वाचन हुँदाभन्दा हाल सात हजार बढी मतदाता थपिएकाले सोहीअनुसार थप मतदानस्थल तथा केन्द्र निर्धारण गर्न सकिने कोइरालाले बताउनुभयो । मतदाताको सङ्ख्या ७८ हजार ४१७ रहेकामा हाल बढेर ८५ हजार ४६७ पुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले जानकारी दिनुभयो ।

सूचना अधिकारी दुलालका अनुसार गत निर्वाचनपछि २०७७ पुस ५ गतेसम्ममा सात हजार ५० मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार ८६ हजार ७७२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको भए पनि एक हजार ३०३ जना भने १८ वर्षभन्दा कम उमेरका नागरिक रहेका उहाँले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विसं २०७४ को निर्वाचनमा ताप्लेजुङमा ७३ मतदानस्थल र ११४ केन्द्र थिए । सरकारले आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारीस्वरुप आफ्नो क्रियाकलाप शुरु गरेको हो । मतदाता नामावली प्रकाशन गर्ने, नामावलीमा भएको त्रुटि सच्याउने, नामावलीबाट नाम हटाउनेलगायतका क्रियाकलापका लागि माघ १५ देखि २० गते सम्मको कार्यक्रम तालिका पनि निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ ।

    सम्बन्धित समाचार...