७ बैशाख २०८१, शुक्रबार

कोभिड निको भएको ६ महिनासम्म पनि देखा परिरहन्छन् यी लक्षण

covid 19 1

नयाँ अध्ययनले कोभिड–१९ बाट संक्रमित भएर अस्पताल भर्ना भएका तीन चौथाइभन्दा धेरै बिरामीहरु ६ महिनासम्म पनि कम्तीमा एउटा लक्षणबाट गुज्रिरहने गरेको देखाएको छ ।

अधिकांश बिरामीहरुमा अझै पनि थकान र सुत्नमा समस्याजस्ता लक्षणहरु देखिएको चीनमा गरिएको एक अध्ययनले देखाएको छ ।

शनिबार ल्यान्सेन्ट मेकिडल जर्नलमा प्रकाशित उक्त रिसर्चमा केन्द्रविन्दु वुहानका सयौँ कोरोना बिरामीहरुलाई पनि संलग्न गराइएको थियो । यसमा कोरोनाभाइरसबाट सामान्य बिरामी पर्ने ८६ प्रतिशत मानिसहरुले ६ महिनासम्म स्वाद र गन्ध थाहा नपाउने गरेको पत्ता लागेको हो ।

विश्वभर ९ करोडभन्दा बढीलाई संक्रमित बनाइसकेको कोभिड–१९ बाट निको भए पनि यसले दीर्घकालिनरुपमा मानिसको स्वास्थ्यमा असर पुर्याउने यस अध्ययनले देखाएको छ ।

कोभिडबाट सामान्य बिरामी पर्नु भनेको भेन्टिलेटर र अक्सिजन आवश्यक नपर्नु र घरमै बसेर ठिक हुन सक्ने अवस्था हो । स्वाद अनि गन्ध हराउनु कोभिडको प्रारम्भिक लक्षण भएका बारे पहिले पनि स्वास्थ्यविद्हरुले बताइसकेका छन् जसमा रुघा नलाग्दा र नाक बन्द नभए पनि गन्ध थाहा पाउन कठिन हुने गर्दछ ।

त्यस्तै, कोरोना संक्रमितहरुले महिनौँ महसुस गर्ने अन्य लक्षणमा चाहिँ थकान, मांसपेसीमा कमजोरी अनि कतिले चाहिँ सुत्नमा समस्या लगायत रहेका छन् । कोभिड–१९ को दीर्घकालीन असरबारे अध्ययन गरिरहेका वैज्ञानिकहरुले यससम्बन्धी अझ गहिरो र धेरै रिसर्च आवश्यक भएको सुरुवातदेखि नै बताउँदै आएका छन् ।

अध्ययनका प्रमुख एवम् ‘नेसनल सेन्टर फर रेस्पिरेटरी मेडिसिन’का प्रोफेसर बीन काओले भनेका छन्, “कोभिड नयाँ प्रकारको रोग भएकाले पनि हामीले भर्खर मात्र यसका केही दीर्घकालीन असरबारे बुझ्न थालेका छौँ ।” प्रोफेसर बीनका अनुसार यसै कारण विशेषगरी कोरोनाले गम्भीर बिरामी परेकाहरुलाई अस्पतालबाट डिस्चार्ज भइसकेपछि पनि लामो समयसम्म रेखदेख अनि उपचारको आवश्यक पर्ने गर्दछ ।

अनुसन्धानकर्ताहरुले यसमा विभिन्न शारीरिक परीक्षण र ल्याब टेस्ट पनि सञ्चालन गरेका हुन् । जसमा ७६ प्रतिशत बिरामीमा कोरोनाबाट ठिक भइसकेको महिनौँपछि पनि विभिन्न लक्षण रहिरहेको देखिएको हो । यसमा ६३ प्रतिशतमा मांसपेसी कमजोर हुने अनि दुख्ने र २६ प्रतिशतमा चाहिँ निद्रासम्बन्धी समस्या रहेको पाइएको हो ।

यसअघि, विश्व स्वास्थ्य संगठनले पनि कतिपय युवा र स्वस्थ मानिसहरुमा समेत भाइरसले लगातार गम्भीर असर पारिरहन सक्ने जानकारी दिएको थियो । उनीहरु अस्पताल भर्ना हुनु नपरे पनि लङ कोभिडका कारण लामो समय कमजोर स्वास्थ्य अवस्थाबाट गुज्रिन सक्ने बताइएको छ ।

यसको अर्थ बिरामीहरुले ६ महिनासम्म पनि भाइरसका कारण उत्पन्न विभिन्न समस्याका लागि अस्पताल जानुपर्ने हुनसक्छ । तर, यस अतिरिक्त उपचारका लागि अस्पतालसँग कम क्षमता हुनेछ, जो पहिले नै कोभिडका बिरामीको उपचारमा व्यस्त र दबाबमा हुने गर्दछन् ।

कोभिड–१९ ले दीर्घकालिनरुपमा मानिस स्वास्थ्यमा असर पुर्याउने पाइएको छ । २३ प्रतिशतमा एङ्जाइटी र डिप्रेसनको समस्या पाइएको पनि उक्त अध्इयनमा उल्लेख छ । सिकिस्त बिरामी भएकाहरुको एक्स–रे गर्दा फोक्सोमा समस्या देखिएको अध्ययनकर्ताहरुले बताएका छन् ।

विश्वभरका वैज्ञानिकहरुले कोरोनाभाइरसले स्वास्थ्यमा पार्ने दीर्घकालिन असरको बारेमा अध्ययन गरिरहेका छन् । उनीहरुले यसलाई ‘लङ कोभिड’ को नाम दिएका छन् ।