७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन कला, संस्कृतिको भूमिका : पर्यटनमन्त्री

Bhanubhakta Dhakal
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन कला, संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा विविध राष्ट्रभाषाहरुको गीति कार्यक्रम ‘हाम्रो निधि हाम्रोः संस्कृति’ विषयक कार्यक्रममा मन्त्री ढकालले हाम्रो कला संस्कृतिलाई संरक्षण गरी नयाँ पुस्तामाझ प¥याउन कार्यक्रम सहयोग सिद्ध हुने बताउनुभयो ।

विविधताभित्रको सहिष्णुपूर्ण एकता नै आजको आवश्यकता हो भन्दै मन्त्री ढकालले संस्कृतिको संरक्षणमा पुर्खाको योगदानको सम्मानमा गरिने यस किसिमका कार्यक्रमले देशको कला संस्कृतिको संरक्षणसँग स्रष्टाप्रतिको सम्मान उचो हुने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटनमन्त्री ढकालले नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायणले हरेक जातजाति र समुदायलाई एउटै मालामा उनेर शासन गर्ने अभिभावकका रुपमा खेलेको भूमिकाको सराहना गर्नुभयो । उहाँले पृथ्वीनारायण शाहमाथि भएको श्रद्धा र समपर्णलाई कसैले फेरि राज्यलाई पुरानो युगमा फर्काउने सपना देखियो भने उहाँप्रतिको सम्मान घटाउने धारणा पनि राख्नुभयो ।

मन्त्री ढकालले भन्नुभयो, “आज जति मानिस पृथ्वीनारायणको सालिकमा माल्यार्पण र सम्मानका लागि आउनुभएको छ, त्यो कुनै कूल वंश र हिजो राजा भएको आधारमा नभई सही अर्थमा नेपालको एकीकरण गरेका, जनभावनाअनुरुप सुखदुःखमा साथ दिएकाले पृथ्वीनारायणप्रतिको सम्मान बढेको हो र अझै युगौँयुगसम्म कायम रहनेछ ।”

एकीकरण अभियानमा साथ दिएका आफ्ना भाइभारदारको पक्षमा भन्दा पनि अखण्डित राष्ट्रको पक्षमा अडिक रहेकाले पनि पृथ्वीनारायणको सम्मान र गरिमा बढेको उहाँले उल्लेख गर्नुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सांस्कृतिक संस्थानको सहयोगमा आयोजित उक्त कार्यक्रममा ख्यातिप्राप्त कलाकारले राष्ट्रिय गीत, नेवार, राई, लिम्बू, तामाङ आदि भाषाभाषीका गीतसङ्गीत प्रस्तुत गरेका थिए ।