१५ चैत्र २०८०, बिहीबार

दिवा खाजाले लाभान्वित

khaja
फाइल फोटो

मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा दिवा खाजा उपलब्ध भएपछि बालबालिका पूरै समय विद्यालय बस्न थालेका छन् ।

प्राथमिक तहका सबै बालबालिकालाई खाजाको व्यवस्था गरेपछि बालबालिका पठनपाठनमा ध्यान दिन थालेका हुन् । विद्यालय समयमा बीचमै कक्षा छाडेर भाग्ने विद्यार्थी पनि दिवा खाजाले पूरै समय विद्यालयमा नै बसेर पढाइमा रुची देखाउन थालेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताउनुभयो ।

नेपाल सरकारले प्राथमिक तहका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेपछि बालबालिका नियमित विद्यालय आउन थालेको उहाँको भनाइ छ । यस विद्यालयमा गएको पुस १९ गतेदेखि दिवा खाजाको व्यवस्था गरेपछि बालबालिकालाई नियमित विद्यालय आउन र पूरै समय पढ्न प्रेरणा मिलेको प्रअ आचार्यले बताउनुभयो ।

सरकारले गाउँपालिकामार्फत प्रतिविद्यार्थी हाजिर भएको दिन रु १५ को दरले दिवा खाजाको रकम उपलब्ध गराउन थालेको छ । विद्यालयमा स्रोत नभएका कारण दिवा खाजा बनाउने, वितरण गर्ने, भाँडा माझ्नेलगायत व्यवस्थापनमा कठिनाइ भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले गुनासो गर्नुभयो ।

मनहरी गाउँपालिकामा कूल ३२ सामुदायिक विद्यालयका १० हजार विद्यार्थीमध्ये प्राथमिक तहमा अध्ययन गर्ने करीब चार हजार बालबालिका खाजाबाट लाभान्वित भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।