९ माघ २०७७, शुक्रबार

कारागारलाई पुस्तक हस्तान्तरण

टिम नेपो चितवनको सहयोग र रोटरी क्लब अफ चितवन, लियो क्लब अफ भरतपुर युथको सक्रियतामा कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकाशनद्वारा प्रकाशित पुस्तक कार्यालयको पुस्तकालयलाई हस्तान्तरण गरिएको हो ।

टिम नेपोका संस्थापक निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई ८०८ थान पुस्तक हस्तान्तरण गर्नुभयो । नेपोको पुस्तक परियोजनाअन्तर्गत देशभर कारागारमा रहेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको हो ।

कारागारलाई सुधार गृहसँगै सिकाइको थलो बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताइएको छ । कार्यक्रममा वक्ताले कारागारलाई सिकाइको थलो बनाउन आवश्यक रहेकामा जोड दिनुभएको थियो । नेपो प्रतिनिधि माधवी गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका प्रमुख काफ्ले, नेपाल चिकित्सक सङ्घका पूर्व केन्द्रीय सदस्य प्रा डा कृष्णप्रसाद पौडेल, रोशन पियालगायतले बोल्नुभएको थियो । सो कारागारमा हाल दुई आश्रित बालिकासहित ६९१ कैदीबन्दी छन् जसमा ५५ महिला छन् ।

कारागार भेटघाटका लागि खुला

कोराना कहरका कारण बन्द कैदीबन्दी भेटघाट शुरु गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञासँगै गत चैत ७ गतेदेखि बन्द भेटघाटलाई यही पुस २६ गतेदेखि खोलिएको कार्यालयका प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

कैदीबन्दी भेट्नका लागि बिहान १०ः३० बजेदेखि साँझ अपराह्न ४ः०० बजेसम्मका लागि समय छुट्याइएको उहाँले जानकारी दिनुभयो । भेटघाटमा आउनेले अनिवार्य मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गरिनुपर्नेलगायत सावधानी अपनाउनुपर्ने छ ।