१५ चैत्र २०८०, बिहीबार

चार महिनामा २२ करोडको कृषिजन्य वस्तु निर्यात

niryat1

सल्यानबाट चालु आर्थिक वर्षको चार महिनामा रु २२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट रु २२ करोड १२ लाख २७ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो ।

यस आवमा रु नौ करोड ८३ लाख ३६ हजार बराबरको तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । चार महिनाको अवधिमा तीन हजार ५०० मेट्रिक टन तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी रु चार करोड १२ लाख बराबरको अदुवा र रु सात करोड ६७ लाख ७० हजारको बर्खे आलु निर्यात भएको बस्नेतले जानकारी दिनुभयो । “गत चार महिनाको अवधिमा दुई हजार ५५९ मेट्रिक टन आलु र ८२५ मेट्रिक टन अदुवा निर्यात भएको छ”, बस्नेतले भन्नुभयो ।

यस्तै ९२ मेट्रिक टन कागती, निबुवा, अम्बा, नास्पातीलगायतका फलफूलबाट रु ४८ लाख ७१ हजार जिल्लामा भित्रिएको बस्नेतको भनाइ छ । उहाँका अनुसार ४६० मेट्रिक टन तरकारी जिल्लाभित्र खपत भएको छ । “जिल्लामा पाँच मेट्रिक टन अदुवा, ७३१ मेट्रिक टन आलु जिल्लामै खपत भएको छ, यसले सल्यान जिल्ला कृषिजन्य उत्पादनमा आत्मनिर्भर छ भन्ने देखाउँछ”, बस्नेतले भन्नुभयो ।

सल्यान जिल्लामा बेमौसमी तरकारीका लागि प्रख्यात भएको तथा कृषिले राम्रो मूल्य पाएको कार्यालयको भनाइ छ । यो वर्ष लकडाउनका कारण भारतबाट समेत तकारी आउन समस्या भएकाले किसानले राम्रो मूल्य पाउन सफल भएको कृषि विकास कार्यालयले जनाएको छ । “कृषकले लकडाउनको समयमा तरकारी बिक्री हुँदैन भनेर धेरै जमिनमा अन्नबाली लगाए तर भारतबाट तरकारी नआएपछि किसानले राम्रो मूल्य पाए”, सूचना अधिकारी बस्नेतले भन्नुभयो ।

जिल्लामा तरकारी खेतीका लागि उपयुक्त जलवायु भएको कारणले किसानले यसलाई आम्दानीको स्रोत बनाउन थालेका छन् । पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारमा गएर आएका युवासमेत व्यावसायिकरूपमा कृषि पेशामा आकर्षित हुन थालेका छन् । जिल्लाको शारदा नगरपालिका, शिद्धकुमाख गाउँपालिका र बागचौर नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्केर युवाले व्यावसायिक कृषि शुरु गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।