१३ बैशाख २०८१, बिहीबार

युवा क्रिकेटर कुन्दन रहेनन्

kundan singh

राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहकाे निधन भएकाे छ । महोत्तरी जलेश्वरका कुन्दनको आइतबार निधन भएको प्रदेश २ क्रिकेट संघले जानकारी दिएको छ। दुवै मिर्गौला खराब भएर लामाे समयदेखि उपचाररत सिंहकाे २४ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनले आर्थिक अभावका कारण मिर्गाैला फेर्न सकेका थिएनन् ।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट सङ्घ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेकाे अगुवाइमा जनकपुरमा ’कुन्दन बचाऊ अभियान’ समेत चलाएर झण्डै सात लाख रुपैयाँ सङ्कलन गरी उनकाे उपचारमा सहयोग गरिँदै आएकाे थियाे ।

मृगौला फेल भएकै बेला कुन्दनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसमेत भएको थियो। तर उनले कोरोना भाइरसलाई भने जितेका थिए। प्रदेश २ क्रिकेट संघले क्रिकेट पदाधिकारी, खेलाडी तथा उनलाई बचाउन लागिपरिरहेका अभियन्तामा गहिरो दुःख परेको भन्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।

कुन्दनले २०१८ को प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका थिए। प्रदेश २ बाट ओपनर ब्याट्सम्यानको रुपमा उनले प्रधानमन्त्री कपमा तीन खेल खेलेका थिए। पहिलो खेलमा आर्मीविरुद्ध शुन्यमै आउट भएका कुन्दनले गण्डकी प्रदेशविरुद्ध १० रन र प्रदेश १ विरुद्ध १६ रन बनाएका थिए।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि कुन्दनकाे निधनप्रति दुःख व्यक्त गरेकाे छ ।

    सम्बन्धित समाचार...