१५ चैत्र २०८०, बिहीबार

गर्भवतीलाई सम्मान

Preganent

हुम्लाको खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभरीका गर्भवतीलाई सम्मान गर्न शुरुआत गरेको छ । उनीहरुलाई निमन्त्रणा कार्ड घर घरमा पठाएर सम्मान गर्न शुरु गरेको हो ।

गर्भवती समूहका मासिकरुपमा बस्ने बैठकमा नै गाउँपालिकाले सम्मान गर्न शुरु गरेको हो । सम्मानका लागि उनीहरुलाई उपस्थित हुने वातावरण सिर्जना गर्न निमन्त्रण कार्डको व्यवस्था गरिएको हो । अघिल्लो दिन निमन्त्रणा कार्ड पाएर बैठकमा जानुको गर्व अर्कै हुने खार्पुनाथ–४ छिप्राकी बेलमती टमटाले जानकारी दिनुभयो ।

यसअघि यस्तो समूह नभएको र बैठक पनि हुने गरेको थिएन । उहाँले स्वास्थ्य स्वयंसेविकाले निमन्त्रण कार्ड लिएर बैठकका लागि निम्ता दिन आउने गरेको र बैठकमा सम्मान समेत गर्ने बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले भन्नुभयो, “गाउँपालिका भरीका सबै गर्भवतीलाई मासिकरुपमा हुने बैठकमा उपस्थिति गराउनका लागि निमन्त्रणा कार्डको व्यवस्था गरेर बोलाउने गरीएको छ । बैठकमा सम्मान समेत गर्ने गरिएको छ ।”

गर्भवतीको सम्मानका लागि उक्त कार्डको व्यवस्था गरिएको उहाँले बताउनुभयो । बैठक अगाडि गर्भवतीले मासिक बैठकमा आउने कार्ड पाएपछि उहाँहरु बैठक आउने र छलफलमा भाग लिने गरेका छन् ।

गर्भवतीको मासिक बैठक प्रत्येक महिनाको २८ गते बस्ने व्यवस्था गरिएको छ । निमन्त्रणा कार्डमा गर्भजाँच गराउन र प्रसूतिगृहमा सुत्केरी भएबापत पाउने सुविधा कुरा उल्लेख समेत गरिएको छ ।

    सम्बन्धित समाचार...