८ बैशाख २०८१, शनिबार

मजदूरको सुरक्षा मजबुद पार्न आग्रह

labour

विकास निर्माणको कार्य गर्दा वा गराउँदा पूर्वसावधानी अपनाई जीउज्यानको सुरक्षामा पहिलो प्राथमिकता दिन मजदूरले आग्रह गरेका छन् । गाउँ क्षेत्रका सडक निर्माण गर्दा डोजरले यत्रतत्र झारेका ढुङ्गाले मानिसको ज्यानसमेत जान थालेपछि सबैखाले विकासको काममा सहभागी गराइने मजदूरको सुरक्षामा पहिलो ध्यान दिन आवाज उठेको छ ।

रसुवा जिल्लाको अधिकांश भूभाग भिरालो भएको र ती स्थानमा सडक मार्ग खुलाउँदा स्काभेटर तथा डोजरजस्ता उपकरणले फ्याँकेका ढुङ्गा र माटोले वर्षायाममा भूक्षयको सम्भावना बढ्दै गएको छ । सडक खन्दा निस्केका ढुङ्गा र माटो सही तरिकाले व्यवस्थापन नगर्दा विभिन्न दुर्घटना हुने गरेकाले त्यसको सही ठाउँमा व्यवस्थापन हुनुपर्ने बुद्धिजीवीको सुझाव छ ।

सडकको ट्रयाक तथा वर्षे पानी व्यवस्थापनका लागि डोजरले जमीन खोल्ने र टेवा पर्खाल एवं नालीको काममा संलग्न मजदूरलाई कार्यस्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न नौकुण्डका समाजसेवी सुरेश तामाङले आग्रह गर्नुभयो । काम लगाएको स्थानमा मजदूरलाई सुरक्षा सामग्री प्रदान नगर्नु, जोखिम न्यूनीकरणका लागि अगुवा नाइकेको व्यवस्था नहुनु र पूर्णरूपमा कामको जिम्मा पाएका व्यक्ति, फर्म, वा कन्सल्टेन्सीका जिम्मेवार व्यक्ति उपस्थित नहुनेजस्ता कारण मजदूरको ज्यान जोखिममा परेको तामाङले बताउनुभयो ।

काम गर्ने स्थानमा विद्युत् आयोजनामा जस्तै हेलमेट, पञ्जा, गमबुठ, सफापानी, प्राथमिक उपचारका सामग्री र स्वास्थ्यकर्मीसमेतको व्यवस्था गर्न मजदूरले मागसमेत गरेका छन् । धुुञ्चे–९ केवु त्रिशूली खोला सडकको नाली निर्माणको काम गरिरहेको अवस्थामा नौकुण्ड गाउँपालिका–१ संयुल गाउँका मजदूर दमै थोक्राको डोजरले पल्टाएकै ढुङ्गाले किचेर यही पुस २१ गते घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...