११ बैशाख २०८१, मंगलवार

ऊर्जाको ठहर : विद्युत्भार कटौती इतिहासमा अध्ययनको विषय

urja mantralaya 1

सरकारले नेपालमा विद्युत्भार कटौती इतिहास भइसकेको उल्लेख गर्दै कुनै पनि हालतमा त्यसबारेमा सोच्न नसकिने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा सङ्कट निवारण गर्ने उद्देश्यका साथ २०७२ सालमा अगाडि सारिएको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकको अवधारणाअनुसार नै काम भएकोसमेत उल्लेख गरेको छ ।

पछिल्ला दिनमा प्राविधिक कारणले भइरहेको विद्युत् कटौतीको विषयलाई लिएर अनावश्यक प्रचार भएपछि मुख खोल्दै ऊर्जा मन्त्रालयले विभिन्न नीति, रणनीतिलाई प्रभावकारी कार्यान्वयन गरिरहेको स्पष्ट पारेको छ । नेपाल विद्युत् प्राधिकरणले यही पुस १७ गते नै विद्युत्भार कटौती नहुने स्पष्ट पारिसकेको दोहो¥याउँदै इतिहास भइसकेको विषयमा अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेको छ । मन्त्रालयले भनेको छ, “लोडसेडिङ भन्ने विषय इतिहासमा अध्ययनका विषयमा रुपान्तरित भइसकेको छ ।”

निकट भविष्यमा उत्पादित विद्युत् वितरण, उपभोग, निर्यातका लागि विद्यमान प्रसारण लाइनको अपर्याप्तता रहेको स्पष्ट पार्दै मन्त्रालयले ऊर्जा खेर जाने अवस्थालाई समेत सम्बोधन गर्नेतर्फ ध्यान दिइएको जनाएको छ । विद्युत् वितरण प्रणालीलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउन भूमिगत वितरण प्रणालीलाई शहरी सौन्दर्यकरण एवं भूमिगत प्रसारण लाइन बनाउँदा पूर्ण व्यवस्थित, मितव्ययी, दिगो बनाउने लक्ष्य राखिएको छ । विद्युत्, टेलिफोन, इन्टरनेट, सिसिक्यामेरालगायत संरचना रहने गरी अगाडि बढाउँदा सान्दर्भिक र लाभदायक हुन्छ भन्ने साझा सोच रहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी, परिणाममुखी, जनउत्तरदायी हुनेगरी र कुनै पनि समयमा विद्युत् कटौती नहुने गरी आवश्यक व्यवस्थापन गर्न सरोकार भएका निकायलाई निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित समाचार...