१३ बैशाख २०८१, बिहीबार

अपराध नियन्त्रण गर्न सहकार्य

Baglung

अपराध नियन्त्रणलगायतका विषयमा एकापसमा समन्वय गर्न पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख सहमत भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित भेलामा मुस्ताङ, म्याग्दी, पर्वत र गुल्मीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीमा जोडिएका जिल्लाका गतिविधिमा समेत सहकार्य गर्न सहमत भएका हुन् ।

लागुऔषध नियन्त्रण, अवैध हातहतियार, विपद् व्यवस्थापन, खोज तथा उद्धार, विकास निर्माणका आयोजनाको नियमित अनुगमन, नयाँ प्रजातिको कोभिड नियन्त्रण, प्राकृति तथा वातावरण संरक्षण, स्थानीय तहसँग प्रभावकारी समन्वय, यातायातका साधनको जाँच र सडक अनुशासन कायम, आपतकालीन रणनीति तथा सामाजिक अपराध नियन्त्रणलगायका विषयमा निर्णय भएको बागलुङका प्रजिअ सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
“सिमाना जोडिएका जिल्लाबाट हुने अवैध र कानूनविपरीतका गतिविधिलाई अन्त्य पार्न नियमित भेटघाट हुन्छ”, उहाँले भन्नुभयो । उहाँले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने र अलपत्र विकास निर्माणका कामलाई समेत तीव्रता दिन आवश्यक सहयोग आदानप्रदान हुने बताउनुभयो । बैठकमा सहभागी सुरक्षा अङ्गका प्रमुखले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

सहयोगापेक्षीको उद्धार

पर्वत जिल्ला अस्पतालको छेउमा अन्दाजी ७० वर्षीया वृद्धा धेरै दिनदेखि बेवारिस अवस्थामा हुनुहुन्थ्यो । दैनिक सयौँ मानिस सोही बाटो भएर आवत जावत गर्दथे । कसैले उहाँले खाए÷नखाएको वास्ता पनि गर्दैनथे । रातको समयमा निर्माणाधीन अस्पतालको एक स्टोर कोठामा बस्नुहुन्थ्यो । अस्पतालका केही कर्मचारीले खान पनि दिएका थिए । उहाँ को हुनुहुन्थ्यो, किन यति लामो समयदेखि अलपत्र हुनुहुन्छ् भन्ने कसैले बुझेनन् । न त उहाँको दिगो पुनःस्थापनाका लागि कसैले पहल गरे ।

मानव सेवा आश्रमले यही पुस ७ गतेदेखि देशव्यापी अभियान चलाएको छ । मेची–महाकाली अभियान जनाउँदै देशभर सडक मानवरहित बनाउने अभियान गरेपछि यो अभियानबारे बागलुङमा पनि कार्यक्रम हुने जानकारी भयो । उक्त कार्यक्रमका लागि आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीसहित ४० जनाको टोलीले देश भ्रमण गरिरहेको छ ।

सस्थाले बुधबार खर्च सार्वजनिकीकरण र अभियानको जानकारी दिने कार्यक्रम बनाएको थियो । कार्यक्रम चलिरहेकै बेला कुश्मास्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत बिना शर्मा बरालले फोन गरेर बूढीआमाका बारेमा सूचना दिनुभयो । यतिबेला पनि ती वृद्धा अलपत्र अवस्थामा हुनुहुन्थ्यो । उहाँको सहारा दिने कोही थिएन । उक्त सूचना पाएलगत्तै बागलुङका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले पर्वतका प्रहरी नायब उपरीक्षकलाई फोन गरेर अस्पताल ढोकामा रहेकी महिलालाई उद्धार टोली नआउञ्जेल अस्पताल परिसरमै राख्न आग्रह गर्नुभयो ।

बागलुङस्थित आश्रमको काम सकेर टोली पर्वत प्रस्थान ग¥यो । दिउँसो ४ बजे अस्पतालमा पुग्दा ती वृद्धा भुइँमा लुटपुटिँदै हुनुहुन्थ्यो । अधिकारीसहितको टोलीले उहाँलाई भेटेर आमा भनेर बोलाए । उहाँले बोल्नुभयो र भोक लागेको बताउनुभयो । आश्रमका सदस्यले तत्काल खानेकुरा ल्याएर खुवाए । यो अभियानमा शिव खड्का, सुवास केसी, सुनिता श्रेष्ठ, राजेश पौडेललगायतको टोली सक्रिय हुनुहुन्थ्यो । आश्रमकै स्वास्थ्यकर्मीको टोलीले वृद्धाको सामान्य स्वास्थ्य परीक्षण गरे । त्यसपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीलाई खबर गरे । चिसोले उहाँका हातखुट्टा सुनिएका थिए । उठेर सहजै हिँड्न सक्नुहुन्न । पहाडी एकैछिनमा आउनुभयो । उहाँको रोहबरमा आश्रमका टोलीले वृद्धालाई बागलुङ ल्याएका छन् ।

वृद्धा धेरै दिनदेखि पानी, खानेकुरालगायतको भोको भएको जस्तो देखिएको अधिकारीले बताउनुभयो । अस्पतालका कर्मचारीले खान दिएको बताए पनि वृद्धाले भोको हुँदा देखाएको व्यवहारले पनि प्रष्ट भएको उद्धार टोलीले बताएको छ । उहाँलाई आश्रममा ल्याएर सरसफाइ र न्यानो कपडा लगाइदिएको सञ्चालिका सुमिरा लामाले जानकारी दिनुभयो । आश्रममा राखेर उनलाई सामाजिक मनोविमर्शसमेत गराइनेछ । उहाँले अहिलेसम्म नाम, घरठेगानासमेत बताउनुभएको छैन । मनोविमर्शबाट जानकारीमा आए पनि नआए पनि आश्रमले संरक्षण दिएर राख्ने योजना बनाएको छ । बागलुङस्थित आश्रममा अहिले पनि ४२ सहयोगापेक्षी छन् । बुधबार मात्रै बागलुङबाट चार र पर्वतबाट महिला समेत गरी पाँच जनाको उद्धार भएको हो । देशभरको अभियानमा भने झण्डै डेढसय जनाको उद्धार भइसकेको बताइएको छ ।

आगामी विसं २०७८ को अन्तिम समयसम्म नेपाललाई नै सडक मानवरहित बनाएर सभ्य देशको परिचय दिने अभियानमा आश्रमले अगुवाइ गरेको अधिकारीको भनाइ छ । बुधबार बागलुङमा आयोजित एक कार्यक्रममा उहाँले देशलाई सभ्य बनाएर अन्तर्राष्ट्रियरूपमा समेत चिनाउने योजना सुनाउनुभएको थियो । चार वर्षअघि बागलुङमा अध्यक्ष अधिकारीकै उपस्थितिमा आश्रम स्थापना भएको थियो । त्यतिबेला बागलुङको सडकमा पनि धेरे अलपत्र मानिस देखिन्थे । उनीहरुमध्ये कतिपयलाई संरक्षण गर्दागर्दै परिवारको सम्पर्कमा पु¥याएर पारिवारिक पुनःमिलन पनि गराइएको छ ।

चालु आवमा मात्रै आश्रमले ३० जनाको उद्धार गरेको रेकर्ड छ । तीमध्ये चार जना पुनःमिलन भएका छन् । एक जनाको मृत्यु भएको छ । आठ जनाले स्वेच्छिकरूपमा आश्रम छाडेका छन् भने एक जनालाई अर्कै आश्रममा स्थानान्तरण गरिएको हो । यस अभियानलाई जिल्लाका प्रशासक, सामाजिक अभियानकर्मी युवा, रोक्ट्रयाक्ट क्लबलगायतका अन्य सङ्घसंस्थाले पनि सघाएका छन् । आश्रममा रहेका सहयोगापेक्षी मानिसलाई जिल्लाका धेरै सङ्घसंस्थाले आफ्नो स्थापना दिवसमा सहयोग गर्छन् । त्यस्तै कतिपयले जन्मदिनको खर्च आश्रममा ल्याएर सहयोग गराएका छन् ।