७ बैशाख २०८१, शुक्रबार

वायु प्रदूषण नियन्त्रणमा जोड

2kXvzcXCB0zMCFBDvsBj

कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि खतरनाक रहेको छ ।

गणेशमानसिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने बताए । कार्यक्रममा सहभागी श्वासप्रश्वास्सम्बन्धी रोगका विज्ञ डा अषेश ढुङ्गानाले उपत्यकामा बर्सेनी वायु प्रदूषण बढ्दै गएको बताउनभयो ।

वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको सङ्ख्या बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । काठमाडौँमा दिनहुँ सवारीसाधन थपिँदै गएका, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणले गति लिँदा वायु प्रदूषण बढ्दै गएको छ । समयमै वायु प्रदूषण कम गर्न सरकारले कदम चाल्नुपर्नेमा डा ढुङ्गानाले जोड दिनुभयो ।

वायु प्रदूषण कम गर्न तथा हुन नदिन नेपालले समयसमयमा विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्दै आएको स्मरण गर्दै उहाँले कार्यान्वयनको पाटो निकै कमजोर रहेको उल्लेख गर्नुभयो । धुम्रपानका कारण मात्र फोक्सोको रोग लाग्ने जानकारी मात्र राख्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले पछिल्लो समय वायु प्रदूषणका कारण बढीजसो फोक्सोको रोग लाग्ने गरेको बताउनुभयो । वायु प्रदूषणकै कारण मुटुका रोगीको सङ्ख्या बढ्दै गएको र यसकै कारण पछिल्लो समय हृदयघातबाट ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भइरहेको डा ढुङ्गानाले जानकारी दिनुभयो ।

नेपालमा बर्सेनी वायु प्रदूषणका कारण ४० हजार व्यक्तिले ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो । शहरलाई हरियाली बनाउनुपर्ने, फोहर बिसर्जन उचित ढङ्गले गर्नुपर्ने, दाउराको प्रयोग घटाउनुपर्ने, इन्धनबाट चल्ने सवारीसाधनको सङ्ख्या घटाउनुपर्नेलगायत कुरामा उहाँले जोड दिनुभयो । वातावरण विज्ञ भूषण तुलाधरले डेढ दशकअघि भक्तपुर र ललितपुरका बासिन्दाले इँटाभट्टा बन्द गर्नुपर्ने मागसहित गरेको अन्दोलन जस्तै फेरी वायु प्रदूषण कम गर्न सचेत हुनुपर्ने बताउनुभयो । सरकार र नागरिक मिलेर अभियान सञ्चालन गर्नसके वायु प्रदूषण घट्दै जाने उहाँको भनाइ थियो ।

इँटाभट्टा बन्द भएपछि भक्तपुरमा वायु प्रदूषणमा डेढ दशकअघि २४ प्रतिशतले सुधार आएको तुलाधरणले स्मरण गर्नुभयो । वायु प्रदूषण कम गर्नका लागि काठमाडौँ उपत्यकाका जनता जाग्नुपर्ने बेला आएको तुलाधरले उल्लेख गर्नुभयो । तुवाँलो लाग्दा वायु प्रदूषण बढी तथा घाम लाग्दा कम हुने भ्रममा अधिकांश रहेको उल्लेख गर्दै उहाँले उपत्यकामा जुनसुकै बेला पनि वायु प्रदूषण बढ्दै गएको उहाँको भनाइ थियो । उ

पत्यकामा २० बर्से सवारी साधनको विकल्प खोज्न उहाँले सरकारसँग माग गर्नुभयो । सबैभन्दा बढी यातायातका साधनका कारण वायु प्रदुषण बढेको तुलाधरको भनाइ थियो । सडकमा पैदल हिँड्ने सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै उहाँले न्यून आम्दानी भएका, वृद्धवृद्धा र बालबालिकाको ज्यान वायु प्रदूषणका कारण खतरामा परेको बताउनुभयो । पूर्वप्रशासक डा सुधा शर्माले प्रदूषण कम गर्न सन्धिमा मात्र ध्यान दिएको तर त्यसको कार्यान्वयनतर्फ चासो नदिँदा वायु प्रदूषण अब सबैभन्दा बढी खतरनाक बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

देशभरका स्वास्थ्य संस्थामा नै बढीजसो फोहर पदार्थ रहेको र त्यसको उचित ढङ्गले बिर्सजन गर्न नसक्दा जोखिम बढेको उहाँको भनाइ थियो । अन्य क्षेत्रमा जस्तै वायु प्रदूषणबाट पनि महिला बढी प्रभावित भएको शर्माले बताउनुभयो । दाउरा प्रयोग गर्दा भान्साबाटै बढी वायु प्रदूषण हुने भएको र महिला चुलोचौकोमै सीमित रहँदा धुवाँबाट बढी आर्जित भएको उहाँको भनाइ थियो ।

शहरीकरणले तीव्रता पाएपछि वायु प्रदूषण झन धेरै बढेको उहाँले उल्लेख गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि ठूलो समस्या भएको बताउनुभयो । यति ठूलो समस्याबारे सरकार मौन रहन नहुने उहाँको भनाइ थियो । मानवलाई केन्द्रमा राखेर मात्र हरेक गतिविधि अगाडि बढाउनुपर्नेमा जोशीले जोड दिनुभयो । वायु प्रदूषणबारे समयमै सबै सचेत नभए आपतकालीन अवस्था आइलाग्ने उहाँले उल्लेख गर्नुभयो ।

    सम्बन्धित समाचार...