१३ बैशाख २०८१, बिहीबार

विद्या भट्टराई कांग्रेस उम्मेदवारभन्दा दोब्बर मतले अगाडि

1575090115JBS pokhara

कास्की-२ को प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराईले प्रतिष्पर्धी कांग्रेस उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर बढी मतले अग्रता लिएकी छिन्।

प्राप्त पछिल्लो मत परिणाम अनुसार विद्याले ६ हजार ७ सय ९५ मत ल्याएकी छिन् भने खेमराज पौडेलले ३ हजार ९४ मत ल्याएका छन्।

गए रातिदेखि सुरू भएको मतगणना जारी छ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५६३ जनाले मतदान गरेका थिए।। यो निर्वाचन क्षेत्रमा रहेका ७१ हजार ८७१ मतदाता मध्ये ६३ दशमलब ४० प्रतिशत मतदान भएको निर्वाचन कार्यालय कास्कीका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

कास्की २ मा पुरुष भन्दा धेरै महिलाले मतदान गरेका छन्। कुल खसेको मतमध्ये २० हजार ७८४ जना पुरुष र २४ हजार ७७९ जना महिलाले मतदान गरेका हुन्।

पोखरा महानगरको ११ वटा वडा रहेको यो क्षेत्रमा ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र राखिएको थियो।

पोखरा महानगरको ११ वटा वडा रहेको कास्की २ मा ११ वटा दलीय उम्मेदवार र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन्।

जसमा नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी, विवेकशील नेपाली दलबाट जमुना शर्मा उम्मेदवार छन्।

विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता नभएका कारण उम्मेदवार शर्माले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। अन्य उम्मेदवारहरुमा नेकपा ९माले० बाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बिपी)बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ उम्मेदवार छन्।

स्वतन्त्रबाट उमानाथ गौतम, कमलजंग कुँवर, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला तथा सुनील भुसाल चुनावीमा होमिएका थिए।