७ बैशाख २०८१, शुक्रबार

मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी

2kXvzcXCB0zMCFBDvsBj

मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडाँैलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ ।

मौसममा आएको परिवर्तनसँगै सोमबार र मङ्गलबार काठमाडौँलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो । वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घर बाहिर ननिस्कन आग्रहसमेत गरेको थियो । माथि बादल र तल धुलोका कण जम्मा हँुदा धेरै तुवालो देखिएको थियो ।

भिजिबिलिटी (दृश्यता) पनि निकै कम रहेको थियो । आजदेखि मौसममा सुधार हुँदै आएको र केही स्थानमा मात्र थोरै बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडाँैलगायत देशभरको मौसम सफा हुँदै गएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापिय प्रणालीले केही दिन हिमाली भागमा हिमपात र काठमाडौँलगायत केही स्थानमा थोरै वर्षासमेत गराएको थियो ।

हिमपात र पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली नेपालमा कमजोर भएका कारण मौसममा सुधार आएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो । सो प्रणालीसँगै वायुमण्डलमा भएका धुलोका कण पनि केही हदसम्म स्थानान्तरण भएको उहाँको भनाइ छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार दुई दिन नेपालका विभिन्न शहरको वायु प्रदूषणको स्तर स्वास्थ्यका लागि खतराको अवस्थामा पुगेको थियो ।

सामान्यतया नेपालका शहरहरुमा पहिले यो मौसममा वायु गुणस्तर सूची एयर क्वलिटी इन्डेक्स (एक्युआई) सरदर २०० भन्दा कम हुन्थ्यो तर सोमबार र मङ्गलबार भने काठमाडौँको ३३० र हेटौँडाको ४०० हाराहारी पुगेको विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिनुभयो । विश्वमा वायु प्रदूषणको मापनअनुसार एक्युआई शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । एक्युआई ५० देखि १०० सम्मलाई ठीकै र त्यसभन्दा माथिको स्तरले अस्वस्थ वातावरणलाई जनाउँदै जान्छ ।

काठमाडौँ उपत्यकामा वायु प्रदूषण एक प्रमुख सामस्या हो भने यहाँको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा करीब पाँच गुणा माथि छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सन् २०१८ मा वायु प्रदूषणका कारण करीब ३७ हजार जनाको मृत्यु भएको थियो । नेपालमा हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुन्छ । वायु प्रदूषण हुनुका प्रमुख कारणमा सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्कने धुलोका कण, उद्योग तथा इँट्टाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहर फाल्ने तथा बाल्नेलगायत हुन् ।

ग्रामीण क्षेत्रमा खाना पकाउन बालिने दाउराका कारण घरभित्र वायु प्रदूषण एक समस्याका रुपमा देखा परेको छ । नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारणमध्ये मुटुसम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग र मष्तिस्कघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ ।

सरकारले मुलुककै जनघनत्व धेरै भएको काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मन्त्रिपरिषद्बाट गत फागुन १२ गते पारित गरिसकेको छ । सरोकारवाला सबै मिलेर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने वातावरणविद्हरुको सुझाव छ ।

    सम्बन्धित समाचार...