४ बैशाख २०८१, मंगलवार

सहस्रधारामा लगानी थपिँदै

jharana baglung

सहस्रधारा झरनालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गरिने भएको छ । गलकोट नगरपालिका–३ हटियास्थित झरनामा छाँगावरोहण (क्यानोनिङ) खेलको प्रचुर सम्भावना छ ।

क्यानोनिङलाई दिगो र व्यावसायिक बनाउन पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ । बर्षेनी लगानी पनि थपिँदै छ । विसं २०७४ फागुनमा साहसिक खेल क्यानोनिङको सफल परीक्षणपछि उक्त झरनामा गत वर्ष असारमा पहिलो पटक व्यावसायिक रुपमा क्यानोनिङ खेलाइएको थियो ।

क्यानोनिङ आयोजनापछि झरनाको चर्चा एकाएक चुलिएको थियो । आफैँमा पर्यटकीय आकर्षण बोकेको झरना क्यानोनिङबाट थप चिनियो । तीन वर्षअघि सम्म यसै गुमनाम रहेको झरनालाई गन्तव्यस्थलका रुपमा विकास गर्न जनप्रतिनिधि र स्थानीयवासी जुर्मुराएका छन् । पछिल्ला दुई वर्षमा गलकोट नगरपालिकाले रु १२ लाख झरनामा लगानी गरेको छ । उक्त बजेटबाट पदमार्ग, पोखरी, विश्रामस्थल, बगैँचालगायत संरचना बनाइएको छ ।

गत वर्षको रु चार लाख बजेटबाट ‘क्यानोनिङ’ मा चाहिने ‘हार्नेस’, ‘हेल्मेट’, ‘ज्याकेट’, डोरी (रोप) जस्ता सामग्री तथा उपकरण खरीद गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो । “स्थानीय युवालाई क्यानोनिङको तालीम दिने योजना पनि थियो । कोरोनाका कारण पछाडि स¥यो”, उहाँले भन्नुभयो । ढाडाको पाखा सामुदायिक वनमा पर्ने सहस्रधारा क्षेत्रमा गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ कार्यक्रमअन्तर्गत गत वर्ष रु १२ लाख बजेटबाट उद्यान, पोखरी निर्माण, वृक्षरोपणलगायत काम गरिएको थियो ।

चालू आवमा पनि पूर्वाधार निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रु १० लाख बजेट छुट्टिएको छ । केही साताअघि झरनाको स्थलगत अवलोकनमा आउनुभएका मन्त्री विकास लम्सालले सहस्रधारा क्यानोनिङका लागि गण्डकी प्रदेशमै उत्कृष्ट गन्तव्य बन्न सक्ने भन्दै प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताउनुभएको थियो । “मन्त्रीले झरनामा आवश्यक पूर्वाधार निर्माणका लागि आउँदो आवमा रु ३० देखि ५० लाखसम्मको बजेट प्रदेश सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो ।

नगरपालिका र वडाले पनि पूर्वाधारमा थप लगानी गरिने जनाएका छन् । सहस्रधारामा राष्ट्रियस्तरको क्यानोनिङ प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकूद परिषद् र नेपाल क्यानोनिङ सङ्घसँग आवश्यक समन्वय र पहल भइरहेको वडाध्यक्ष भण्डारीको भनाइ छ । सहस्रधारालाई साहसिक खेल गन्तव्यका रुपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मार्फत काम भइरहेको क्यानोनिङ प्रवद्र्धन केन्द्रका सचिव गुञ्जबहादुर खत्रीले बताउनुभयो । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको उहाँको भनाइ छ ।

पहिले एक्लैदुब्लै जान पनि डर मान्नुपर्ने पहराको खोँचमा अवस्थित झरना अहिले आन्तरिक पर्यटकको रोजाइमा छ । क्यानोनिङका लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा उपयुक्त गन्तव्य मानिन्छ । जङ्गलले घेरिएको अक्करे भिरमुनि छङ्छङ् गर्ने झरनाले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । ८६ मिटर अग्लो झरना जिल्लामै पहिलोपटक साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) का लागि नयाँ गन्तव्यका रुपमा पहिचान गरिएको हो । स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्र’ गठन गरेर खेलसँगै झरनाको प्रवद्र्धन गरिरहेका छन् । युवाको सोच र योजनामा गलकोट नगरपालिका सारथी बनेको छ ।

सहस्रधारालाई धार्मिक पर्यटनसँग पनि जोड्न सकिने स्थानीयवासी बताउँछन् । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुईपटक झरनामा पूजा गर्ने गर्छन् । सहस्रधारामा ठाउँठाउँबाट खसेका फोहोरा आकर्षक देखिन्छन् ।गलकोट, हटियाबजारदेखि दुई किमी मोटर यात्रामा सहस्रधारा पुग्न सकिन्छ । पैदल हिँडे जम्मा ३० मिनेटमा पुगिन्छ ।

बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किमी यात्रापछि गलकोट आइपुग्छ । गलकोट पुग्दा नजीकको गाईघाट झरना, गलकोट दरबार, मूर्तिकला सङ्ग्रहालय, ऐतिहासिक गलकोट कोतघर आदि घुम्न सकिन्छ ।