१६ चैत्र २०८०, शुक्रबार

बादी समुदायको पीडा : न जग्गा, न काम

Badi community

जाजरकोट, पुस्तौँदेखि जग्गा, जमिन र खास थातथलो नभएका बादी समुदाय पुसको चिसोले हैरान भएका छन् । नदीको किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएका हुन् वा मादल बनाएर बिक्री गरी आएको पैसाले परिवार पाल्ने बादी समुदाय किन नहुन्, सबैको पीडा चिसोबाट कसरी जोगिने भन्ने नै छ ।

कुशे गाउँपालिका–५ का १४ वर्षीय रमण बादीको विद्यालय जाने उमेरमा बुवासँग माछा मार्नका लागि प्रयोग हुने जाल (पासा) बनाउँदै दिन कट्ने गरेको छ । बुवा गणेशबहादुर बादीसँग दैनिक सोही काम गर्दागर्दै पढ्न नपाएको रमण बताउनुहुन्छ । गणेश अब पेशा परिवर्तन गर्ने सोचमा रहेको बताउहुन्छ । “माछा मारेर मात्र परिवार पालनपोषण गर्न निकै मुस्किल भयो, कतैबाट सहयोग पाएको भए अरु काम गर्ने थिएँ”, गणेशले भन्नुभयो ।

उहाँले थप्नुभयो, “जेठो छोरा भर्खरै जन्मिएको थियो माछा मार्ने कामसँगै फलामबाट भाडा बनाउनतर्फ लागियो । यो कामबाट पनि खासै केही प्रगति भएन ।” गणेशका छ छोराछोरी छन् । उहाँको एकतलाको खरले छाएको कच्ची घर छ । जुन घर निर्माण गरी गणेश बसिरहनुभएको छ, सो घर निर्माण गरेको जग्गासमेत उहाँको नाममा छैन । अन्य जग्गाको कुरा त सपनाजस्तै भइसक्यो । ऐलानी जग्गामा एकतले कच्ची घर निर्माण गरी बसेका गणेश आठ जना परिवारको समस्या टार्ने एक्लो व्यक्ति हुनुहुन्छ ।

वर्षैपिच्छे जन्मिएका छोराछोरीको स्याहारसुसार गर्नमै गणेशकी श्रीमतीको दिन बित्ने गर्छ । छिमेकीको घरमा साना छोराछोरीलाई मिठोमसिनो खुवाएको देख्दा आफ्नो घरमा मकैको रोटी आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनुपरेको बाध्यता फूलमायाको हृदयमा बलियो गाँठो बनेर बसेको छ । दुब्ला, पातला देखिने साना बालबालिकाले पूरै पेट खाना नपाएको बताएका छन् । बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ, फूलमायाले भन्नुभयो, “गाउँपालिकाका अध्यक्षसँग जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन । सरकारले आधातले कच्ची घर बनाइदिएपछि बास बसेका छौँ ।”फूलमायालाई छोराछोरी पढाउने इच्छा भए पनि कपडा किन्ने, कापीकलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाउनुभयो ।

“फलामको भाडा बनाए पनि बिक्री हुँदैन, बाहिरबाट फलाम ल्याउनसमेत मुस्किल छ”, गणेशले भन्नुभयो । गाउँगाउँमा डेक, मोबाइलका कारण मादल बिक्री हुन छाडेपछि पुख्र्यौली पेशा छाड्न बाध्य अर्का रामबहादुर बादीले पीडा पोख्नुभयो । “मादल बनाउन काठ चाहिन्छ तर सामुदायिक वनले जथाभावी काठ काट्न दिँदैन, अनि हाम्रो पेशा कसरी चल्छ”, रामले भन्नुभयो । आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उहाँको भनाइ छ । पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उहाँको भनाइ छ ।

उहाँजस्तै कुशे गाउँपालिकामा मात्र ४१ घरभन्दा बढी बादी समुदायको बसोबास छ । कसैको पनि आफ्नो जमिन छैन । शुरुमा रुकुमपश्चिम आठबीसकोटको राडीमा बसोबास गर्दै आएका यहाँका बादी समुदायका सर्वसाधारण कुशे गाउँपालिकामा आएको करिब दुई दशक बितेको छ । आफ्नो निजी जमिन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जीवन निर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले सङ्घर्षमा रहेको बताएका छन् ।

केही वर्षअघि आफ्ना र अर्काका पीडा गीतमार्फत सुनाउँदै आवश्यक खाद्यान्न, पैसा असुल्दै आएको यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् । उनीहरू अब आफँै आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बताउँछन् । उनीहरूको इच्छा स्थानीय सरकारले जग्गा उपलब्ध गराइदेओस् भन्ने छ । सरकारले एकतले कच्ची घर बनाउन पैसा दिए पनि अन्य जीवन जिउने आधार नदिएको उनीहरूको भनाइ छ ।

स्थानीय सरकारले आयआर्जन गर्न र जीवन जिउने गतिलो उपायसहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् बादी समुदायको माग छ । आफूहरूलाई भोट खसाल्न मात्र प्रयोगको साधन बनाइएकामा उनीहरू पीडा व्यक्त गर्छन् । “हाम्रो जीवन निर्वाहका लागि ध्यान कसैले दिँदैनन्, मात्र यो गर्छौँ, त्यो गर्छौँ भनी गफ दिन्छन्”, अर्का कालीबहादुर बादीले भन्नुभयो ।