७ बैशाख २०८१, शुक्रबार

गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण

Crocodile

चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लाग्नुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गर्नुभएको छ । सेवाबाट अवकास हुनैलाग्दा उहाँले प्राप्त गर्नुभएका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको हो ।

अठार वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुट्नुभएका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गर्नुभएको छ । निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै होइन, उहाँले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै ठूलो परिश्रम गर्नुभएको छ । त्यही अनुभवलाई तीनदिने तालिमको आयोजना गरेर उहाँले निकुञ्जका कर्मचारीलाई आफ्नो अनुभव प्रदान गर्नुभयो । यससँगै आज उहाँ अनिवार्य अवकासबाट बिदा हुनुहुनेछ ।

गोेहीको पालनपोेषण, नियन्त्रण, नदीमा छोेड्ने विधिलगायतका विषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिइएको हो । उनीहरुलाई खड्काले प्रशिक्षण दिनुभएको छ । खड्का निकुञ्जबाट बिदा भएसँगै त्यहाँका कर्मचारीलाई गोही संरक्षण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिइएकोे हो । सो क्रममा घडीयाल गोहीलाई नदीमा छाड्नुअघि नियन्त्रणमा लिने तरिका, गोहीको नापजाँच, चिह्नसँगै छोड्ने विधि प्रत्यक्षरूपमा सिकाइएको थियो ।

खड्काका अनुसार तालिममा गोही प्रजनन केन्द्रका ११ गोही नियन्त्रणमा लिएर राप्ती नदीमा छाडिएको छ । सहभागीलाई गोही नियन्त्रणमा लिएर नदीमा छाड्नेसम्मका विधि सिकाइएको थियो । यसैगरी राप्ती नदीका दुई गोही नियन्त्रणमा लिएर छाडिएको थियो । यस क्रममा जालमा अड्किएका र उपचार गर्नुपर्ने गोहीलाई कसरी नियन्त्रणमा लिने भन्ने विधि सिकाइएको थियो । कसरामा रहेकोे गोही प्रजनन केन्द्रमा हुर्र्काएका गोहीलाई नदीमा छाडिँदै आएको छ ।

हालसम्म सो प्रजनन केन्द्रमा हुर्काइएका एक हजार ५८० गोही विभिन्न नदीमा छाडिसकिएको छ । तालिममा १७ जना गेमस्काउट सहभागी भएका थिए । प्रजनन केन्द्रमा गोहीले पारेका अण्डा र नदीमा सङ्कलन भएका अण्डालाई प्रजनन केन्द्रमा राखेर बच्चा कोरलेसँगै ती बच्चा हुर्काएर नदीमा छाडिँदै आएकोे छ ।

खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५८७ गोही छन् । यस वर्ष मात्र ६५ गोही नदीमा छाडिसकिएको छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन् ।